कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्दर हरिजन मृत्यु प्रकरण : भरतपुरमा विरोध प्रदर्शन

रमेशकुमार पौडेल

चितवन — रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनामा छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै मंगलबार भरतपुरको चौबिसकोठीमा विरोध प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपालले विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।

सुन्दर हरिजन मृत्यु प्रकरण : भरतपुरमा विरोध प्रदर्शन

कार्यक्रममा बोल्दै मोर्चाका वाग्मती प्रदेश संयोजक महाविर विश्वकर्माले सुन्दरलाई न्याय नमिल्दासम्म आफ्नो संगठनले कार्यक्रमहरु जारी राख्ने बताए ।

हातहतियार र फिरौतीको आरोपमा तीन पटक जेल परिसकेका विजयविक्रम शाहलाई बाहिर निकालेर उनको नाममा जेलमा राखिएका नाबालक सुन्दर हरिजन रोल्पा कारागारमा मृत भेटिएका थिए । यो घटनाको न्यायिक छानबिन गरेर दोषी देखिने हरेकलाई कारबाही हुनु पर्ने वक्ताहरुले माग गरे । ‘प्रहरीदेखि न्यायाधीससम्म शंकाको घेरमा छन् । त्यसैले राम्रोसँग छानबिन हुनु पर्दछ,’ मोर्चाको वाग्मती संयोजक विश्वकर्माले भने ।

रामपुर चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको दलित विद्यार्थी समाजका शोभा पासवानले दलित समुदायमाथि समाज र राज्यले नै लगातार जासो आक्रमण गरेको बताइन् । ‘हामीले नवराज विकको स्मृति दिवस मनाएर नभ्याउँदै फेरि अर्को घटना भएको छ । यस्तो घटना पटक-पटक हुनु चिन्ताको विषय हो । दलितलाई मान्छे ठान्न नसक्ने मानसिकताले यस्तो भइरहेको छ,’ पासवानले भनिन् ।

कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल चितवनका सचिव रमेश रसाइलीले घटना गम्भीर खाले मानवीय अपराध भएका कारण यसको छानबिन र कारबाही प्रक्रिया राज्यस्तरबाट तुरुन्त हुनु पर्ने माग गरे । कार्यक्रममा परि विक्रम र सुप्रदीप्ती भण्डारीले कविता वाचन गरेका थिए । कार्यक्रममा दलित अधिकारकर्मीहरुका साथै विभिन्न राजनैतिक र सामाजिक व्यक्तिहरु प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रेका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?