कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशसभा बैठक सञ्चालन गर्न एमालेको ११ सर्त

सुवास विडारी

मकवानपुर — नेकपा एमाले वाग्मती प्रदेशले अवरुद्ध सदन सञ्चालन गर्न ११ बुँदे माग अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को सदनमा प्रस्तुत भएको बजेटको विरोध गर्दै सदन अवरुद्ध गरिरहेको एमालेले आइतबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो माग अगाडि सारेको हो । एमालेको धेरैजसो माग अघिल्लो पटक आफ्नो नेतृत्वको सरकार रहँदा सुरुवात गरेको योजना रहेका छन् ।

वाग्मती प्रदेशसभा बैठक सञ्चालन गर्न एमालेको ११ सर्त

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आफू निर्वाचित जिल्लामा मात्र २७ प्रतिशत बजेट विनियोजन गरेको आरोप लगाए ।

‘बजेट न्यायोचित वितरण भएको छैन । प्रदेशको १३ वटै जिल्ला र स्थानीय तहमा समानुपातिक र आवश्यकता आधारमा बजेट विनियोजन भएको छैन । प्रदेशको राजधानीलाई समेत उपेक्षा गरिएको छ,’ उनले पत्रकार सम्मेलनमा भने,‘ठूला आयोजनाहरुलाई पनि न्यून रकम विनियोजन गरिएको छ ।’

सरकारले सामूहिक खेतीलाई निरन्तरता दिनेगरी बजेट संशोधन गर्नुपर्ने, सार्वजनिकरुपमा सञ्चालन हुने विद्युतीय सवारी साधान सञ्चालन गर्नुपर्ने, सुरुङ मार्ग निर्माण गर्न बजेट व्यवस्था गर्नुपर्ने तथा पालिकाको केन्द्रसँग जोड्ने सडक सञ्जाल निर्माणका लागि गुरुयोजना बनाएर बजेट व्यवस्था गर्नुपर्ने एमालेको माग छ ।

१३ वटै जिल्लामा प्रदेश गौरवको योजनालाई बजेट व्यवस्था गर्नुपर्ने, सहुलियतपूर्ण ऋणको रकम ३ अर्ब विनियोजन गर्नुपर्ने, कृषि र पर्यटनको बजेटलाई प्राथमिकता दिनुपर्ने, नारायणी र राप्ती सभ्यता क्षेत्र सुधार गर्न करिडोर व्यवस्थित र सुधार गर्न जरुरी रहेको एमालेले जनाएको छ । काठ बिक्री गर्दा लाग्ने कर १० प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइएको विरोध एमालेले गरेको छ ।

प्रकाशित : असार १७, २०८० १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?