भारतको आर्थिक वृद्धिदर ८.७ प्रतिशत 

एजेन्सी

काठमाडौँ — छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२१/२२ मा ८. ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ)ले मंगलबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कोरोना महामारीबाट तंग्रिदै गर्दा भारतले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको हो ।

एनएसओले पछिल्लो पटकको समीक्षामा ८.९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । भारतीय रिजर्भ बैंकले सुरुमा ९.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । आगामी आर्थिक वर्ष २०२२/२३ का लागि भारतीय रिजर्भ बैंकले ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । भारतले प्रत्येक तीन–तीन महिना (त्रैमासिक)मा आर्थिक वृद्धिदर सार्वजनिक गर्दै आएको छ । सार्वजनिक तथ्यांकअनुसार भारतको कुल गार्हस्थ्य उत्पादन पछिल्लो जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा ४.१ प्रतिशतले बढेको छ । जुन वर्षको अरु त्रैमासको तुलनामा सबैभन्दा न्यून हो ।


प्रकाशित : जेष्ठ १७, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

यु–१९ महिला क्रिकेट टोली मलेसियाका लागि बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीसी यु–१९ महिला विश्वकप अन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरी बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायत टोलीले बिदाइ गरेको छ । बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान कीर्तिका मरासिनीले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ तयारी गरेको प्रतिक्रिया दिइन् ।

साथै उनले लक्ष्यमा पुग्ने विश्वास व्यक्त गरिन् । ‘पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुँदैछौं । एक महिना लामो अभ्यास अन्तर्गत हामीले राम्रो तयारी गरेका छौं । राम्रो खेलेर छनोट हुने लक्ष्य राखेका छौं,’ उनले भनिन् ।

यसअघि क्यानले छनोटका लागि कीर्तिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त देखिएका छन् । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताए ।

‘एक महिना लामो अभ्यासमा हामीले गर्नुपर्ने मिहिनेत हामीले गरेका छौं । राम्रो नतिजा निकाल्नेमा आशावादी छौं । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा अग्र स्थानमा रहँदै छनोट हुने हाम्रो लक्ष्य छ,’ रिजालले भने ।

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन् । नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा यूएईविरुद्ध जुन ४ मा प्रतिष्पर्धा गर्ने तालिका रहेको छ भने भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×