कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

काभ्रेमा रासायनिक मल अभाव भएपछि अगुवा किसान आन्दोलित

नगेन्द्र अधिकारी

काभ्रे — मकै र धान खेती गर्ने समयमा रासायनिक मल अभाव भएको भन्दै अगुवा किसानहरू आन्दोलिन भएका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेल शाखामार्फत वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई १० हजार टन युरिया र ५ हजार टन डीएपी मल उपलब्ध गराउन माग गरेको हो ।

काभ्रेमा रासायनिक मल अभाव भएपछि अगुवा किसान आन्दोलित

क्रान्तिकारी केन्द्रले विज्ञप्ति बुझाउँदै मल, बीउविजन लगायत आधारभूत वस्तु उपलब्ध नहुँदा कृषकहरु मारमा परेको जनाएको छ । यस्तै रासायनिक मलको समस्या तत्काल समाधान नभए आन्दोलनमा जान बाध्य हुने उक्त संगठनका किसान नेताहरूले चेतावनी दिएका छन् ।

मलको कारोवार गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेलस्थित गोदाम र साल्ट ट्रेडिङ कर्पोरेसनको बनेपास्थित गोदाम खाली छ । कृषि सामग्रीका धुलिखेल शाखा प्रमुख वासुदेव शर्माले यसअघि नै भागवण्डा गरिएका १०–१५ वटा सहकारीले लैजान बाँकी रहेका करिब १६ सय बोरा मल बाहेक अरु मल सञ्चय नभएको बताए ।

वैशाखमा २ पटक गरेर आएको १ हजार ५१ टन मल मध्येबाटै काभ्रे, दोलखा, रामेछाप र सिन्धुपाल्चोकका ४ सय सहकारीमार्फत बिक्री गरिएको उनले जानकारी दिए । ग्लोबल टेण्डरमार्फत आउनुपर्ने अनुदानको मल आउन समय लागेको र सिञ्चिति पनि नरहेको समयमा खेतीको समयमा कृषकले मल अभाव खेप्नु परेको उनको तर्क छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको बनेपा शाखाका निमित्त शाखा प्रमुख सुरेन्द्र अवालेले युरिया, डीएपी, पोटास मलको शून्य मौज्दात भएको भन्दै सिंगल सुपर फस्फेट (एसएसपी), जिंक र बोरोन बिक्री गरिरहेको बताए । जेठ, असार, कात्तिक, मंसिरमा रासायनिक मलको माग उच्च हुने भए पनि १२ महिना नै यसको खपत हुन्छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?