पनौती नगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण बहिष्कार गरेका छन् । औपचारिक छलफल र सहमति नगरेको, उपप्रमुखलगायत जनप्रतिनिधिलाई अन्तिम समयमा मात्रै खबर गरेको, बहालवाला जनप्रतिनिधिभन्दा पूर्वजनप्रतिनिधिलाई आमन्त्रण गरेकोलगायतका कारणले शपथ ग्रहणमा सहभागी नभएको एमाले नगर कमिटी अध्यक्ष सुरेश हुमागाईंले विज्ञप्तिमार्फत जनाएका छन् ।
जिल्लाका १३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २६ पदमध्ये १३ वटामा विजयी हुँदै कांग्रेस पहिलो पार्टी बनेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीसँग गठबन्धन गरेर उठेको कांग्रेसले उम्मेदवारी दिएको सबै पदमा जित हासिल गरेको हो ।
पाँचखाल नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । निवर्तमान नगर प्रमुख महेश खरेल नै कांग्रेसका तर्फबाट पुन: निर्वाचिन भएका हुन् । उपप्रमुखमा एमालेकी सूर्यमाया दनुवार निर्वाचित भएकी हुन् ।
काभ्रेमा शपथ ग्रहणको दिनदेखि स्थानीय तहमा दलहरूबीच विवाद सुरु भएको छ । काभ्रेको बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण अलग-अलग स्थानमा गरिएको छ ।
बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् ।
जिल्लाको महाभारत गाउँपालिकामा गठबन्धनतर्फका उम्मेदवार विजयी भएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका कान्छालाल जिम्बा पुनः अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान विजयी भएका हुन् ।
धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोकुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । उनले ८ हजार ३ सय ५१ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले ७ हजार ४११ मत ल्याए ।
काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी निर्वाचित भएका छन् । अधिकारी २ हजार ८ सय ५९ मतको अन्तरले विजयी भएका हुन् ।
पनौती नगरपालिकाको प्रमुखमा कांग्रेसका रामशरण भण्डारी विजयी भएका छन् । निवर्तमान प्रमुख रहेका एमालेका भीम न्यौपानेलाई २ हजार २ सय ६७ मतले पछि पार्दै भण्डारी नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
मतदाताले हस्ताक्षर वा औंठा छाप लगाएको अर्धकट्टीसहितको ६१ वटा मतपत्र भेटिएपछि स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धुलिखेलको मतगणना रोकिएको छ । धुलिखेल–११ को मतगणनाका क्रममा एकै निर्वाचन चिह्नमा संकेत भएका त्यस्ता मतपत्र भेटिएपछि गणना स्थगित भएको सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिए ।