कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हिमताल फुटेर रोल्वालिङमा बाढी

एक महिला बेपत्ता, ना र बेदिङमा अलपत्र पर्यटकको एक सातापछि उद्धार

दोलखा — दोर्जी फुङमो हिमताल फुटेपछि गत असार २२ को राति रोल्वालिङ खोलामा आएको बाढीले दोलखाको गौरीशंकर गाउँपालिका–९ डोगाङका सानाठूला ८ घर र होटल बगाएको छ भने एक महिला बेपत्ता छिन् । ना र बेदिङको बीचबाट आधा घण्टाको पैदल दूरीमा रहेको उक्त हिमताल असार २१ को राति फुटेको स्थानीय दाबाछिरी शेर्पाले बताए ।

हिमताल फुटेर रोल्वालिङमा बाढी

४ हजार ३ सय मिटर उचाइमा रहेको उक्त हिमताललाई स्थानीयले भैरव ताल भनेर पनि चिन्छन् । पूजाका लागि बेदिङका स्थानीय च्छो–रोल्पा नजिकैको ना गाउँ उक्लेका थिए । सोही राति हिमताल फुटेको स्थानीयले बताएका छन् ।

दोर्जी फुङमो बेदिङको माथिल्लो भेग गौरीशंकर हिमालको बेसक्यापतिरको भागमा पर्ने उनले बताए । यस क्षेत्रमा साना ठूला धेरै ताल छन् । अन्य तालको अवस्थाबारे जानकारी कसैलाई नभएकाले स्थानीय त्रसित भएको दाबाले जानकारी दिए ।

‘बेदिङ र नाको क्षेत्रमा धेरै हिमताल छन्, यो वर्ष निकै गर्मी पनि भएको थियो,’ ११ औं पटक सगरमाथा आरोहणसमेत गरेका दाबाले भने, ‘पानी परिरहेकाले यस्ता हिमताल उम्लेर फुट्ने र त्यसपछि बाढी आउने गर्छ । यस्ता साना हिमताल कति छन् भनेर कसैले गनेका छैनन्, चौंरी गोठालाले देखेमा गाउँमा आएर भन्ने गरेका छन् ।’

विगतमा पनि हिमतालबाट यो सिजनमा पानीको बहाव बढ्ने गरे पनि यस्तो क्षति हुने गरी फुटेको आफूलाई थाहा नभएको उनले बताए ।

नामा सञ्चार अवरुद्ध भएका कारण हिमताल फुटेको सूचना दिन नसकेको शनिबार उद्धारपछि पेमाछिरी शेर्पाले कान्तिपुरलाई बताए । ‘हामी सबै जना पूजाका लागि ना उक्लेका थियौं, राति अचानक ठूलो विस्फोटको आवाज आयो । पानी परेकाले पहिरो झरेको अनुमान गरेका थियौं,’ उनले भने, ‘तर बेदिङ माथितिरको ताल फुटेको रहेछ, त्यही तालको पानीले खोलामा बाढी आएको हो ।’

बाढीले ना र बेदिङको बीचमा पहिरो खसेर त्यतै अलपत्र परेको उनले बताए । ‘पहिरो आएको क्षेत्र हेर्न पुगेपछि मात्रै थाहा भयो माथिल्लो भेगमा ताल फुटेको रहेछ,’ उनले भने ।

ताल फुटेर पहिरो झरेपछि रोल्वालिङ खोला केहीबेर थुनिएको उनले बताए । उनका अनुसार त्यही खोलाको बाढीले तल्लो क्षेत्रमा क्षति गरेको हो । बाढीले सबैभन्दा बढी डोगाङ प्रभावित बनेको छ । डोगाङका सबै संरचना बाढीले बगाएको छ । डोगाङ रोल्वालिङ पदमार्गअन्तर्गत पर्यटकका लागि बास बस्न सानाठूला ८ वटा होटल थिए । बाढीले पदमार्गको एक झोलुंगेपुल, २ वटा साँघु र बेदिङमा पुर्‍याइएको राष्ट्रिय प्रसारण लाइनको विद्युत्का पोलहरुमा क्षति गरेको छ ।

बाढीका कारण पदमार्गको पुल बगाउनुका साथै ठाउँठाउँमा पहिरो झरेका कारण एक सातादेखि अलपत्र परेका १४ जना पर्यटकको उद्धार गरिएको छ । सेनाको हेलिकोप्टरले नाबाट अलपत्र आन्तरिक पर्यटकको शनिबार उद्धार गरेको हो । पर्यटकको उद्धारसँगै सम्पर्कविच्छेद भएको ना गाउँमा खाद्यान्नसमेत ढुवानी गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए ।

‘अलपत्र परेका सबैको उद्धार भएको छ, केही गाउँका नै भएकाले संकटमा गाउँमै बस्ने भनेर आएनन्,’ उनले भने, ‘९ जनालाई हलिकोप्टरबाट उद्धार गरेका छौं, खाद्यन्न पनि गाउँमा लगिएको छ ।’ ना र बेदिङको बौद्ध विद्यालयमा गरेर हाल ७० जना जति उतै रहेको उनले बताए । ‘तत्कालका लागि खाद्यान्नलगायतका साामान लगिएको छ,’ उनले भने, ‘मौसम खुलेपछि बाटो पनि बनाएर सहज बनाउने प्रयास भइरहेको छ ।’

प्रकाशित : असार ३०, २०८१ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×