कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रदेश सरकारद्वारा ५ वर्षमा ५८ वटा प्रहरी कार्यालय भवन निर्माण

हेटौडामा प्रहरी अस्पताल बन्दै
प्रताप विष्ट

हेटौडा — संघीय सरकारको मातहत प्रहरी संगठन रहे पनि वाग्मती प्रदेश सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्दै आएको प्रहरी संगठनको क्षमतालाई वृद्धि गर्न ५८ वटा प्रहरी इकाईको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । १४ वटा भवन निर्माणाधीन अवस्थामा छन् भने ९ वटा भवनको निर्माण कार्य करिब सकिसकेको छ, हस्तान्तरण हुन बाँकी रहेको छ । 

प्रदेश सरकारद्वारा ५ वर्षमा ५८ वटा प्रहरी कार्यालय भवन निर्माण

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्राविधिक प्रहरी उपरीक्षक ईश्वर थापाले वताए । '५ वटा भवनको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ,' उनले भने । ५८ वटा प्रहरी चौकी वा इलाका प्रहरी कार्यालयका भवनहरुको उदघाटन गरेर संचालनमा आइसकेका छन् । हेटौंडा उपमहानगरपालिका-४ स्थित प्रहरी चौकीको बुधबार एक समारोहबीच वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले उदघाटन गरेका थिए ।

करिब २ कठ्ठा जमिनमा निर्माण गरिएको वडा प्रहरी कार्यालय भवन बनाउन ३ करोड ९० लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । चार तले उक्त भवनमा २१ वटा कोठा रहेका छन् । उक्त भवनको अभावमा वडा कार्यालय घर भाडामा लिएर बस्दै आएको थियो ।

उक्त प्रहरी चौकी भवनसहित वाग्मती प्रदेश सरकारले आव ०७५/०७६ देखि आव ०८०/०८१ को फागुन १६ गतेसम्म १० जिल्लामा ५८ वटा भवन निर्माण गरिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत देवराज चौलागाईले बताए । प्रदेश प्रहरी कार्यालय अन्तर्गत् विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो ।

मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा एक अर्ब ६६ करोड ९९ लाख १२ हजार ९ सय ७७ हजार रुपैयाँ लगानीमा प्रहरी भवन निर्माण गरेको छ भने दोस्रो चरणमा ७३ करोड ५८ लाख पाँच हजार ९९२ रुपैयाँ खर्च गरेको जनाएको छ ।

मकवानपुरमा १०, चितवनमा ६, सिन्धुलीमा ८ रामेछापमा ५, दोलखामा ५, नुवाकोटमा ५, काभ्रेमा ८, धादिङमा ४, रसुवामा ४, सिन्धुपाल्चोकमा ४ वटा भवन निर्माण गरिसकेको छ । मकवानपुरमा सशस्त्र प्रहरी गण नं. ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी डााडाखर्क, प्रहरी चौकी हात्तीसुढे, प्रहरी चौकी ठुलोदमार निर्माण गरिसकेको छ ।

चितवनमा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सीताराम चोक, प्रहरी चौकी सुमेसरमाडी, प्रहरी चौकी कल्याणपुर माडी र प्रहरी चौकी पञ्चकन्याको भवन निर्माण सम्पन्न भइसकेको छ ।

संघीय सरकार मातहत रहेको प्रहरी संगठनलाई सवल,सक्षम सुरक्षित एवं प्रविधिमैत्री वनाउन प्रहरी भवन अर्थात भौतिक पुवर्धारहरु निर्माण गर्न प्रदेश सरकारले झण्डै २ अर्व रुपैयाँ खर्च गरिसकेको छ । प्रदेश सरकारले प्रहरी चौकीका भवन बनाउन मात्र होइन सवारी साधनहरु पनि उपलब्ध गराएको छ ।

‘अब छिट्टै नै संघीय सरकारले प्रहरी संगठन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले बताए । वाग्मती प्रदेशले प्रदेश प्रहरी ऐन, २०७७ जारी गरिसकेको छ । संविधानको धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन हुने छ भनिएको छ । उपधारा ३ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने छ भनिएको छ ।

प्रहरी अस्पताल बन्दै

यसैगरी हेटौडा उपमहानगरपालिका-१७ को डिपो चौरमा प्रहरी अस्पताल बन्दै छ । उक्त अस्पताल निर्माण गर्न प्रदेश सरकारले चालु आवमा ३ करोड रुपैयाँ रकम विनियोजित गरेको छ । उक्त अस्पतालमा सर्वसाधारणले पनि सेवा पाउने छन् । आन्तरिक मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा चार जिल्लाका पाँच स्थानमा ६ करोड ४४ लाख ६५ हजार लागतमा पाँच वटा प्रहरी भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत चौलागाईका अनुसार चितवन, सिन्धुली, रामेछाप र मकवानपुरको मकवानपुरगढी गाउपालिकामा प्रहरी भवन निर्माण हुने छ । प्रदेश प्रहरी कार्यालया अनुसार वाग्मती प्रदेश प्रहरी कार्यालय मातहत ३ सय ३१ वटा प्रहरी ईकाईहरु रहेका छन ।

तीमध्ये २०५ वटा आफनै भवनमा छन । ७४ वटा सरकारी तथा गैरसरकारी भवनमा वसेका छन । १ सय २६ वटा प्रहरी इकाई आफनो नाममा जग्गा छैन । १५ वटा ईकाईको जग्गा छ तर भवन छैन । ४४ वटा प्रहरी कार्यालयहरु घरमा भाडा लिएर स्थानीयवासीलाई शान्तिसुरक्षा प्रदान गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन १६, २०८० १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×