कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भंगाहाबाट रित्तै फर्कन्छ रेल

बिजलपुरा स्टेशनबाट बर्दिवास तर्फको काम अघि बढाउने तयारी
सुनिता बराल

महोत्तरी — महोत्तरीमा २१ वर्षपछि फर्किएको रेलमा यात्रु नभएपछि भंगाहाको विजलपुरा स्टेशनबाट रित्तै फर्किने गरेको छ । गत असारबाट जयनगर–जनकपुर–भंगाहासम्म चल्न थालेको रेलमा यात्रु नहुँदा १३ सय ५० यात्रु बोक्ने क्षमताको रेल रित्तै आउजाउ गरिरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । ‘मनिसहरुमा उत्साहनै देखिएन खै किन हो, हामी पनि छक्क परेका छौं,’ रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले भने, ‘अहिले रेल रित्तै आउनेजाने गरिरहेको छ ।’

भंगाहाबाट रित्तै फर्कन्छ रेल

भंगाहा आउने जाने यात्रु मुस्किलले दिनमा १० जना हुने गरेको उनले बताए । यात्रु बढाउन रेललाई जतिसक्यो छिटो बर्दिवाससम्म पुर्‍याउनु पर्ने देखिएकाले बर्दिवास तर्फको काम अघि बढाउन अन्तिम तयारी भइरहेको झाले बताए । रेलका कर्मचारी, प्राविधिक र चालकको तलब सुविधासहित रेल संचालन गर्न महिनामा लाखौं रकम राज्यकोषबाटै खर्च भइरहे पनि यात्रु अभाव हुँदा रेल संचालनका लागि इन्धन खर्च समेत उठ्न नसकेको रेल्वे कम्पनीले जनाएको छ ।

रेल जनकपुरमै राख्ने हो भने रेलमार्गमा लाखौंका सामग्री चोरी हुने भएकाले रेलमार्गको सुरक्षाका लागि समेत काम सम्पन्न गरेर उद्घाटन समेत भैसकेको क्षेत्रमा घाटामै भए पनि भंगाहासम्म नै चलाउनुपर्ने बाध्यता रहेको झाले बताए । दैनिक १० हजार बढी रेलको इन्धन खर्च लाग्ने भए पनि आम्दानी (टिकट भाडा) वापत दिनको ४ हजार रुपैयाँ उठ्ने गरेको झाले जानकारी दिए ।

नेपाल भारत सम्झौता अनुसार नेपालका काठ र जडिबुटी भारत लैजाने र उपभोग्य सामग्री नेपाल ल्याउने गरी १९८४ देखि विजलपुरा स्टेशनसम्म संचालन सुरु भएको थियो । हाल यात्रुमात्रै बोकिरहेको रेलले अबको एक महिनाभित्रै धनुषाको कुर्थासम्म मालवाहक समेत संचालन गर्ने तयारी भइरहेको झाले जानकारी दिए ।

जयनगर–विजलपुरा स्टेशसनसम्म ५२ किलोमिटर रेल संचालनमा आए पनि रेलको सेवाबाट आफुहरुलाई सुविधा नभएको स्थानीय बताउँछन् । नेपाल रेल्वेका अनुसार बिहान ७ बजे भंगाहाबाट छुट्ने रेल जयनगर जनकपुर २ पटक आवतजावत गरेपछि साँझ ७ बजे मात्रै भंगाहा फर्किन्छ । स्थानीयले रेल पटक पटक आउनेजाने गरेमात्रै रेलको यात्राले सुविधा हुने बताउँदै आएका छन् ।

भोको पेटले बिहान रेलमा हिँडेको मान्छे बेलुका ७ बजेमात्रै फर्किने भएपछि रेलभन्दा अन्य सवारीबाटै जनकपुर जानआउन छिटो र सजिलो हुने भंगाहा–५ की देवती साहले बताइन् । रेल्वे कम्पनीले अहिले दैनिक एकपटक मात्रै भंगाहासम्म रेल संचालन गरिरहेको छ । तर भंगाहावासी भने कम्तीमा दैनिक दुईपटक रेल संचालन हुनुपर्ने बताउँछन् ।

९ वर्षदेखि मुआव्जा विवादका कारण भंगाहाको विजलपुरा स्टेशनमा रोकिएको काम बर्दिवाससम्मै पूरा भएपछि र भारत र नेपालको व्यापार जोडिएपछि मात्रै रेललाई विकास मान्न सकिने बर्दिवासका व्यवासायीहरु बताउँछन् । बर्दिवासबाट रेल चल्न थालेपछि जनकपुर–जयनगर यात्रु भएनन् भन्नुपर्ने अहिलेको अवस्था नरहने बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताए ।

रेलले दिने सेवाका आधारमा पनि यात्रु जोडिने भएकाले मालवाहकसहितको यात्रु सेवा दिने र दुवै देशका उत्पादन, बजार र व्यापार व्यवसायलाई समेत जोड्दै जान सके रेलले सर्वसाधारणको जीवनस्तरमा फेरबदल हुनसक्ने खड्काले बताए । रेल्वे सेवाको विस्तारले विस्तारै नेपाल भारत र जनस्तरसम्म थप सम्बन्ध राम्रो बन्दै जाने विश्वास उनले व्यक्त गरे ।

भारत सरकारको १२ सय ५४ करोड लगानीमा नेपालमा भारतीय रेल्वे कम्पनी इरकन र्ईन्टरनेशनलले रेल्वे ट्रयाक निर्माणको काम गर्दै आइरहेको छ ।

प्रकाशित : चैत्र १९, २०८० २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×