कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुत्केरीको मृत्युपछि स्वास्थ्य चौकीमा ढुंगामुढा 

भाद्र २१, २०८१
सुत्केरीको मृत्युपछि स्वास्थ्य चौकीमा ढुंगामुढा 

रौतहट — चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्य भएको भन्दै रौतहटको गरुडा नगरपालिका–५ शिवनगर बजारमा रहेको सरकारी स्वास्थ्य चौकीमा मृतका आफन्तले शुक्रबार दिउँसो ढुंगामुढा गरेका छन् । स्वास्थ्य चौकी क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

अहिलेसम्म मृतक परिवार र स्वास्थ्य चौकीबीच सहमति भएको छैन । ढुंगामुढाका कारणका स्वास्थ्य चौकीमा क्षति पुगेको छ । अहिले चौकी वरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

स्वास्थ्य चौकीमा प्रसूती गराउन गरुडा नगरपालिका-५ शिवनगरका अरबिन्द साहको श्रीमती २५ वर्षीया रमिता देवीलाई बिहीबार भर्ना गरिएको थियो । उनलाई चौकीका सिनियर अहेव रामनरेश साहले सुत्केरी गराएका थिए । उनकी छोरी जन्मिएकी थिइन् । सुत्केरी लगत्तै रक्तस्राव हुन थालेपछि महिलालाई थप उपचारको लागि बिहान वीरगन्ज रेफर गरिएको थियो ।

वीरगन्जस्थित ईन्डो नेपाल चौकीमा पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए । मृतक महिलाको शव वीरगञ्जबाट ल्याएर स्वास्थ्य चौकी अगाडि राखेर प्रदर्शन गरेका हुन् । चिकित्सकको लापरबाही भन्दै पीडित परिवार र आफन्तले स्वास्थ्य चौकी अगाडि शव राखेर दोषी स्वास्थ्यकर्मीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका थिए ।

त्यस क्रममा चौकीमा ढुगामुढा गरेको जिल्ला प्रहरी गौरका डीएसपी एलिजा गिरीले जानकारी दिइन् । ढुगामुढाबाट चौकीको सीसा फुटेको छ । अहिलेसम्म अवस्था समान्य हुन नसकेको डीएसपी गिरीले बताइन् । ‘पीडित परिवारसँग गरुडा नगरपालिकाका जनप्रतिनिधिहरुले कुरा गरिरहेका छन्, ‘ उनले भनिन्, 'अहिले त्यस क्षेत्रको सुरक्षा अवस्था कडा बनाइएको छ।’

चिकित्सकको चरम लापरबाहीले रक्तस्राव भइ वीरगन्ज लैजाने क्रममा सुत्केरीको मृत्यु भएको पीडित परिवारको आरोप छ । मृत्युपछि आक्रोशित मृतकका आफन्तले शिवनगरस्थित गौर चपुर सडक खण्डमा बाटो अवरोध गरेका थिए ।

अहिले गरुगा नगरपालिकाका प्रमुख कन्थमणि जैसवालले पीडित परिवारसँग छलफल गरिरहेका छन् । मृतकको शव अहिलेसम्म चौकी परिसरमै छ ।

प्रकाशित : भाद्र २१, २०८१ १९:३९
x
×