कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

विद्युत नजोडिँदा सञ्चालन भएन पेपर उद्योग

भाद्र २२, २०८१
विद्युत नजोडिँदा सञ्चालन भएन पेपर उद्योग

धनुषा — महोत्तरीको गौशालामा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनका लागि ल्याइएका ठूला उपकरण प्रयोगविहीन छन् । उद्योगका लागि आवश्यक विद्युत प्रसारण लाइन विस्तार हुन नसक्दा उपकरणहरुको परीक्षण समेत भएको छैन ।

भौतिक संरचना निर्माणको काम सकेर सञ्चालनको अन्तिम तयारीमा रहेको उद्योगका लागि विद्युत प्ररसारण लाइन विस्तारमा विवाद हुँदा उद्योग सञ्चालन अन्यौलमा परेको हो ।

आईएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा स्थापना भएको उद्योग विद्युत लाइन जोडिएपछि परीक्षणको लागि सञ्चालन गर्ने अवस्थामा रहेको उद्योगका निर्देशक अरुण भण्डारीले बताए । गौशाला नगरपालिका–१ इटाटारमा दैनिक १ सय टन ‘राईटिङ्ग एण्ड प्रिन्टीङ्ग पेपर’ उत्पादन गर्न सक्ने क्षमता भएको उद्योग स्थापना भएको हो ।

‘फुल अटोमेटिक’ पेपर उद्योग २ अर्बको लागतमा स्थापना भएको छ, निर्देशक भण्डारीले भने,‘उद्योग इन्स्टल भइसकेको छ । साना मिसिनहरु चलाएर परीक्षण गरी सेट भयो । तर, केही मेसिनहरू परीक्षण हुन नसक्दा महिनौँदेखि छोपेर राखिएको छ ।’

उद्योगलाई आवश्यक पर्ने ३३ केभीको विद्युत नहुँदा ठूला मेसिनहरुको परीक्षण समेत हुन सकेको छैन । जेठ महिनादेखि नै सञ्चालनको तयारी गरेका उद्योग विद्युत अभावमा सञ्चालन अझै अन्यौलमा परेको छ । बस्ती क्षेत्रबाट उद्योगले विद्युत प्रसारण लाइन विस्तारको सबै प्रक्रिया पूरा गरी पोल गाड्न खोज्दा स्थानीयको अवरोधका कारण उद्योगसम्म ३३ केभीको विद्युत आउन नसकेको निर्देशक भण्डारीले बताए ।

खेतीपाती हुने जग्गाबाट उद्योगसम्म विद्युत जाँदा छोटो दुरी हुने र स्थानीयलाई क्षति पनि कम हुने विकल्प हुँदा हुदै बस्ती क्षेत्रबाटै ३३ केभीको प्रसारण विद्युत लाइन विस्तार रोकिएको स्थानीय बताउँछन् ।


सडक विस्तार हुँदा घडेरी मासिएर जेनतेन बसोबास गरिरहेको र यही सानो टुक्रा घडेरीबाट लाइन जाँदा घर नक्सा पास नहुनु, घर बनाउन नपाइने, बैंकले ऋण कर्जा नदिने र जोखिम बढ्ने भएकाले उद्योगको विद्युत लाइनको अवरोध गरिएको गौशाला–१ रामनगरकी मेनुका पौडेलले बताइन् । विकल्पहरु प्रयाप्त हुँदाहुदै गरिबको उठिबास हुने गरी उद्योगले विद्युत विस्तार गर्न खोज्दा स्थानीय आन्दोलित भएको उनको भनाइ छ ।

उद्योग स्थापना गरिएको जग्गा खरिद, मालोपातमा जग्गा पास गर्ने समयदेखि नै विद्युत प्रसारण लाइन विस्तार गर्दासम्म उद्योग सञ्चालकले जनप्रतिनिधि, राजनीति दलका अगुवा र गुण्डा नाइकेहरुलाई आर्थिक प्रलोभनमा परेर सर्वसधारणको अवाज नसुनी काम गर्दै आएको स्थानीयको आरोप छ ।

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको लागि ३३ केभीको प्रसारण विद्युत लाइनल विस्तारका लागि स्थानीय नेताहरुले स्थानीयलाई दबाब दिँदा थप शंका भएको धर्मराज बराइलीले बताए ।

पूर्व-पश्चिम राजमार्गबाट गौशाला रोड–सुर्तीविकास–इटाटार १२ किलोमिटर ३३ केभीको विद्युत प्रसारण लाइनल विस्तारका लागि नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशले १ करोड ९९ लाखमा ठेक्का लगाएको छ । १२ किलोमिटरमध्ये ७ किलोमिटरमा पोल गाडिएको र ५ किलोमिटरमा पोल गाड्न अवरोध हुँदै आएको छ ।

प्रकाशित : भाद्र २२, २०८१ १४:२४
×