कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जुम्लामा मार्सी रोपाइँको चटारो [तस्बिरहरू]

शब्द/तस्बिर : हरिहरसिंह राठौर

जुम्ला — यतिखेर जुम्ला रोपाइँमय भएकोछ । नगदेबालीका रुपमै लिईएको मार्सीधान रोप्न अहिले किसानहरु व्यस्त छन् । जुम्लाका किसानहरु यतिखेर गहुँ जौकाटेर खाली रहेको खेत जोतेर मार्सी रोपाइको चटारोमा छन् । मार्सी जुम्लाको चिसोपानीमा उत्पादन हुने गरेको छ । सरकारले गत मंगलबार संघीय सभामा प्रस्तुत गरेको बजेटमा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सी धान करिडोर विकासका लागि नयाँ परियोजना समेटेको छ ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण धितालकाअनुसार वैशाख महिना भित्रै जौ गहुँ भित्र्याई चैत दोस्रोसाता राखेको धानको बीउ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म रोपिन्छ । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइ सुरु भएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताईन् ।

जिल्लाका प्रसिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइ सम्पन्न भएको चन्दननाथ, भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए । पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाईं भएपछि मात्र जिल्लाका अन्य ज्युलाहरूमा रोपाईं हुन्थ्यो तर हाल त्यो प्रचलन हराउँदै गएको छ । चन्दननाथमा चढाउन पनि मार्सी धान रोप्ने गरिन्छ । जिल्लाको एक हजार दुई सय हेक्टरमा मार्सी धानखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । तिला र हिमा नदी किनारमा रहेका खेत अहिले निक्कै आकर्षक छन् । मार्सी रोपाईमै परम्परागत स्थानीय पहिरनमा सजिएका महिलाहरूको सुरिलो भाका मात्र हैन नवविवाहित जोडिएको माइती र बेहुला पक्षहरूबीचमा हुने चोपाई खेल समेत हुने गरेको छ ।

प्रकाशित : जेष्ठ २३, २०८१ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्