कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सरस्वती पूजाका लागि कलैयामा चहलपहल [तस्बिरहरु]

लक्ष्मी साह

बारा — सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै बुधबार देशभर सरस्वती पूजा मनाइँदै छ । पूजाको अघिल्लो दिन गाउँ सहरमा मूर्तिकारले बनाएका सरस्वती रुपी माटाका मूर्ति बारामा मंगलबार धमाधम बिक्री भइरहेको छ । विद्यार्थीसहित सरस्वतीप्रति आस्था राख्ने सबै पूजाका लागि सरसफाइसँगै मण्डप र मूर्ति सिंगार्न व्यस्त देखिन्छन् । मूर्तिकार मूर्ति बिक्री गर्न भ्याइ-नभ्याइ देखिन्छ भने समूहका समूह विद्यार्थीहरुलाई मण्डपतर्फ मूर्ति लान व्यस्त देखिन्छ ।

साइकल, मोटरसाइकल, टेम्पुलगायतका साधनमा उनीहरु मूर्ति लगिरहेको देखिन्छन् । त्यस्तै कतिपयलाई प्रसाद, श्रृंगारका सामानलगायत नयाँ-नयाँ लुगा किन्न बजारमा व्यस्त देखिन्छन् । श्रीपञ्चमीमा गरिने सरस्वती पूजाले टोल, गाउँ, सहर, समुदाय, बजार र विद्यालयहरुमा चहलपहलसँगै पूजा तयारीले रौनक छाएको देखिन्छ । तर पछिल्लो समय विद्यालयहरुमा पक्की मूर्ति बनाइएको र आर्थिक मन्दीले पहिलाको जस्तो मूर्ति बिक्री हुन छाडेको मूर्तिकार कलैया उपमहानगरपालिका-१४ भाँवरा गाउँका ३५ वर्षीय वीरेन्द्र ठाकुर बताउँछन् ।

उनी सिजनका बेला मूर्ति बनाउने लागी पर्छन् । कलैया-४ पन्नावागमा डेढ महिना अघिदेखि मूर्ति बनाउँदै आएका ठाकुर बुधबारका लागि मूर्ति बिक्री गर्न बिहानैदेखि व्यस्त छन् । उनले ३ हजारदेखि १५ हजारसम्म बिक्री हुने ४५ वटा मूर्ति तयार गरेका छन् । ‘पहिलाको भन्दा यसपाली मूर्ति बिक्री कम भएको छ,’ उनले भने, ‘हामी जस्तै थुप्रै स्थानमा मूर्ति बनाइएको छ । पहिला भारतबाट मूर्ति किने ल्याउन चलन भए पनि अब आफ्नै गाउँ ठाउँमा बनाइने गरिएको छ ।’ उनका बुबाले करिब साढे दुई दशकदेखि मूर्ति बनाउँदै आएका छन् ।

हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन् । यस दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । शिक्षक, विद्यार्थी, कलाकार, पत्रकार लगायतले आ-आफ्ना सिर्जनाका औजार पूजा गर्ने गर्दछन् । श्रीपञ्चमीको दिनदेखि वसन्त ऋतु आरम्भ भएको मानिन्छ ।


प्रकाशित : फाल्गुन १, २०८० १६:५६
प्रतिक्रिया
पठाउनुहोस्