कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रचण्ड र श्रेष्ठमाथि नैतिक प्रश्न

पाठक पत्र

सहकारीको ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफू त यसै पनि भित्रभित्र खोक्रो भइसकेका छन्, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री एवं बहालवाला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि हिलो छ्यापेका छन् ।

प्रचण्ड र श्रेष्ठमाथि नैतिक प्रश्न

सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राईका बारेमा लामिछानेले पछिल्ला दिनमा सधैं एउटै खाले अभिव्यक्ति दिँदै आएका छन् । राईमाथि प्रश्न उठिसकेपछि तत्कालीन सरकारले उनलाई तत्कालै पक्राउ नगरेर भगाएको उनको आरोप छ ।

तत्कालीन सरकारले भगाएकाले अहिले उनलाई पक्राउ गर्न विभिन्न समस्या भएको भन्ने लामिछानेको अभिव्यक्ति सिधै प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री श्रेष्ठमाथि ठोकिन जान्छ । उपप्रधान एवं गृहमन्त्रीले पटकपटक यसरी आरोप लगाइरहँदा प्रधानमन्त्री प्रचण्ड र मन्त्री श्रेष्ठमाथि पनि नैतिक प्रश्न उठेको छ ।

आफ्नै मन्त्रिपरिषद्मा रहेका एक जना सदस्यले आफैंमाथि यसरी बारम्बार दोष देखाइरहँदा न प्रधानमन्त्रीले त्यसबारे मुख खोलेका छन्, न त तत्कालीन गृहमन्त्री, अहिलेका परराष्ट्रमन्त्री श्रेष्ठले नै कुनै प्रतिक्रिया जनाएका छन् । अहिले प्रचण्ड हुन् या श्रेष्ठ सबैलाई कसरी हुन्छ सत्ता टिकाउनु छ । आफूहरूमाथि जस्तोसुकै झूटा मुद्दा थोपरियोस् उनीहरू बचन फर्काउन चाहँदैनन् ।

गठबन्धन फेरेर भए पनि प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री खाएर कुनै बेलाको विद्रोही दलको नेता पाँच वर्ष प्रधानमन्त्री भन्ने इतिहास लेखाउने धोको छ । प्रचण्ड रहँदासम्म नै आफूले चैन गर्न पाउने र त्यसपछिको राजनीतिको भविष्य नहुने देखेका श्रेष्ठको पनि प्रचण्डको आदेशविपरीत बोल्ने आँट देखिँदैन ।

प्रधानमन्त्रीले त उनै लामिछानेमाथि लागेका तमाम आरोपबाट उन्मुक्ति दिन संसद्मा उनको वकालत गरे, महान्यायाधिवक्तालाई समेत विवादित बनाए । प्रधानमन्त्रीले संसद्मा लामिछाने निर्दोष छन् भनेर प्रस्टीकरण दिएका थिए ।

तर उनको स्पष्टोक्तिपछि पनि लामिछाने हिनामिनामा मुछिएको थप प्रमाण फेला परेको छ । सत्तालिप्सा र व्यक्तिगत स्वार्थमा जोसुकैलाई बोकेर हिँडिरहँदा आफ्नै राजनीतिक भविष्य किनारतिर धकेलिइरहेको प्रचण्डले बुझेकै होलान् ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : जेष्ठ १, २०८१ ०६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×