कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मिटरब्याजपीडितको चीत्कार

पाठक पत्र

मिटरब्याजबाट पीडितहरू पूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पैदल खुट्टा खियाएरै ‘न्याय मार्च’ गर्दै काठमाडौं आइपुगेका छन् । यति लामो पैदल यात्रा तय गर्दा भोक प्यास र थकानको पर्वाह गरेनन् । हिँड्दा खुट्टा सुन्निए पनि अभियान रोकेनन् ।

मिटरब्याजपीडितको चीत्कार

साहूले घरखर्च, छोराछोरीको अध्ययन, विवाहजस्ता अति आवश्यक कामका लागि आफ्नो घरबारी दृष्टिबन्धक राखेर लिएको ऋणभान्दा ब्याज अचाक्ली धेरै असुलेपछि र ऋण बुझाएपछि घरबारी फिर्ता नपाएपछि बाध्य भएर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

६० हजार मात्र ऋण लिँदा २ लाख ४० हजारको कागज बनाएर घरघडेरी नै खाइदिएको, गोठमा भएका गाईभैंसी फुकाएर लखेटिदिएको मात्र नभई तुरुन्त घर खाली गर्न धम्की दिएको र प्रहरी लगाएर कुटपिट गराएको सम्मका समस्या छन् ।

ऋण माग्दा सुरुमै ३/४ गुणासम्म बढाएर कागज बनाउने, त्यसमा चक्रीय ब्याज जोडेर साँवा बढाउँदै लाने र जति तिरे पनि नसकिने स्थिति छ । यस्तो अन्याय, अत्याचार सहनै नसकेर पीडितहरू २३ दिन लामो यात्राबाट राजधानी छिरेका छन् ।

साहूले गरेको अन्याय, अत्याचार, शोषण त छँदै छ, अझ प्रहरीसमेत लगाई डर, धम्की, कुटपिट र घरबारी खाली गराउन खोज्ने कुकृत्य सहन नसकेर कतिपय ऋणीले आत्महत्यासमेत गर्ने प्रयास गरेको देखिएको छ । सरकारले पीडितप्रति सहानुभूति त परै जाओस्, बेकारमा काठमाडौं किन आएको भन्ने अभिव्यक्ति दिने गरेको छ ।

अन्याय, अत्याचार नभएको भए यति लामो बाटो भोकै प्यासै पैतालाको छालासमेत खियाउँदै काठमाडौं आउँदैनथे । सरकारले मिटरब्याजपीडितका समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेको र कानुन बनाएको हो तर विडम्बना, आयोगको सुझाव पालना भएन, कानुन पनि कार्यान्वयन गरिएन ।

यी मिटरब्याजपीडित नेपाली नागरिक हुन् कि होइनन् ? हुन् भने उनीहरूको चीत्कार सरकारले सुन्नुपर्दैन ?
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : फाल्गुन १६, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×