कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेस महासमितिमा प्रचण्डको भूमिका

पाठक पत्र

नेपालको राजनीतिक अवस्था कता जाँदै छ भन्ने कुरा राजधानीमा चलिरहेको नेपाली कांग्रेसको महासमिति बैठकले देखाएको छ । कुनै एउटा दलको आन्तरिक बैठकमा उक्त पार्टीको कुनै एउटा पदाधिकारीले आफ्नो दस्ताबेज स्वःस्फूर्त प्रस्तुत गर्न पाउँदैन ।

पार्टी नेतृत्वले उसलाई दस्ताबेज टेबुल गर्न दिने कि नदिने भन्नेबारेमा कुनै अर्को राजनीतिक दलको नेताको अनुमति लिनुपर्ने अवस्था सिर्जना भएपछि हाम्रो राजनीति कता जाँदै छ भन्ने विषयले खेल्ने ठाउँ पाएको छ ।

यस्तो अवस्थाको सिर्जना कसरी भयो ? किन भयो ? कसले गर्दा भयो भन्नेतिर कसैले सोचेको पनि देखिँदैन । केवल अरूलाई दबाएरै आफू सधैं नेतृत्वमा खेलिरहने चेष्टा प्रायः सबै दलका नेतामा देखिन्छ । कांग्रेस नेतृत्वमा पनि यही प्रवृत्ति हाबी छ । यसैले गर्दा कांग्रेस महामन्त्री गगन थापाले आफ्ना पार्टीको महासमिति बैठकमा आफूले तयार पारेको दस्ताबेज प्रस्तुत गर्न अप्रत्यक्ष रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहमति लिनुपरेको देखिन्छ ।

नेपाली राजनीति अहिले जुन अवस्थामा आइपुगेको छ, यसले के कुराको दृश्य मञ्चन गरेको छ भने पाका पुस्ताका राजनीतिज्ञहरू जो राजनीति छाड्न पनि चाहँदैनन् र सक्रिय रूपमा लाग्न पनि सक्दैनन् । उनीहरू एकले अर्को दलको सहारा खोजिरहेको देखिन्छ । आफू एक्लैले गर्न सक्ने हैसियतको निर्णय गर्न पनि उनीहरू गठबन्धनकै कारण अर्को दलको साहारा खोजिरहेका हुन्छन् ।

महासमिति बैठकमा थापाले जुन प्रस्ताव ल्याए, त्यसले अहिल्यै यति धेरै आत्तिनुपर्ने अवस्था नै देखिँदैनथ्यो । तत्कालीन अवस्थामा कस्तो राजनीतिक घटनाक्रम विकास हुन्छ त्यही अवस्था आकलन गरेर त्यतिबेला राजनीतिक गठबन्धन गर्ने या नगर्ने भन्ने कुराको निर्णय लिनुपर्ने हुन सक्छ ।

यता प्रचण्डले थापाको दस्तावेज स्वीकारेर जान कांग्रेस सभापति शेरबहादुर देउवालाई अनुमति दिनुमा पनि दुई थरी तर्क गर्न सकिन्छ । एकातर्फ उनले तत्कालका लागि यसलाई कुनै ठूलो र महत्त्वको विषय नठानेको हुन सक्छ ।

आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भन्ने दस्ताबेज कांग्रेसको आधिकारिक नभएको हुनाले उनले परिस्थितिअनुसार देउवालाई समझदारीमा ल्याउन सकिन्छ भनेर सोच्नु र अर्कातर्फ यसैलाई आधार मानेर कांग्रेसले गठबन्धन तोड्ने निर्णय गर्‍यो भन्ने देखाई एमालेसँग सहकार्य गरेर बाँकी कार्यकाल पनि आफैंले सरकारको नेतृत्व गरिरहने बाटोलाई विकल्पका रूपमा राख्नु ।

राजनीतिका चतुर खेलाडी भएकै कारण प्रचण्डको कुनै पनि अभिव्यक्ति वा गतिविधिलाई विभिन्न कोणबाट हेर्नुपर्ने देखिन्छ । आफ्नो पार्टीको महासमिति बैठक चलिरहेका बेला पार्टीभित्रको विवाद मिलाउनका लागि अर्को दलसँग परामर्श लिनु र सहमति खोज्नु भनेको आफ्नो राजनीतिक धरातललाई आफैंले कमजोर साबित गराउनु नै हो भन्ने देखिन्छ, जुन गल्ती देउवाले गरी नै सके र कांग्रेसमाथि पनि प्रचण्ड हाबी भए ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : फाल्गुन १०, २०८० ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×