कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

कांग्रेले-एमाले मिल्नु नौलो कुरा होइन : सञ्चारमन्त्री गुरुङ

आश गुरुङ

लमजुङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कांग्रेस–एमाले मिल्नु कुनै नौलो कुरा नभएको बताएका छन् । उनले राष्ट्रिय घटनाक्रम अनुसार कांग्रेस–एमाले मिलेर समस्याको समाधान गर्दै आएको दावी गरे ।

कांग्रेले-एमाले मिल्नु नौलो कुरा होइन : सञ्चारमन्त्री गुरुङ

एमालेको युवा संगठन राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई शनिबार लमजुङ सदरमुकाम बेंसीसहरमा सम्बोधन गर्दै उनले स्थिर सरकारका लागि यसपटक कांग्रेस–एमाले मिलेको दाबी गरे ।

‘अहिलेको परिस्थिति अवस्थाले कांग्रेस–एमाले मिल्नुको विकल्प थिएन’ उनले भने, ‘कहिले पाहिलो पार्टी र तेस्रो पार्टी मिलेर सरकार बनाउने, कहिले दोस्रो पार्टी र तेस्रो पार्टी मिलेर सरकार बनाउने, यस्तै–यस्तैले सरकार स्थिर भएन । जनतामा निराशा छायो । त्यसैले हामी मिलेका हौं ।’ उनी सञ्चारमन्त्री भएपछि शनिबार पहिलोपटक गृहजिल्ला आएका हुन् ।

‘झट्ट हेर्दा कांग्रेस–एमालेको गठबन्धन अप्राकृतिक जस्तो देखिन्छ । तर, इतिहास साक्षी छ, नेपालमा जब ठूलो राष्ट्रिय संकट आउँछ, त्यसका लागि कांग्रेस एमाले मिलेकै छ । यो कुनै नौलो कुरा होइन,’ उनले भने ।

२०४६ सालको पञ्चायतविरोधी अभियान, २०६२–०६३ को जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र निरंकुश राजतन्द फल्न, संविधान सभा निर्माण गरी संविधान बनाउन एमाले–कांग्रेस मिलेको उनले उल्लेख गरे । ‘राष्ट्रका लागि निश्चित उद्देश्य लिएर महान उपलब्धि हासिल गर्न कांग्रेस एमाले मिलेकै छ । यस्ता महत्वपूर्ण घटनामा मिलेको यो चौँथो पटक हो, अन्य घटनाहरुमा पनि मिलेका छौं,' उनले भने । कांग्रेस–कम्युनिष्ट मिल्दा महान उपलब्धिहरु हासिल हुने उनले बताए ।

करिब १५ मिनेट मन्तव्य दिएका मन्त्री गुरुङले प्रायः सबै समय कांग्रेस–एमाले गठबन्धनको सरकारको आवश्यकताबारे सुनाए । उनले स्थिर सरकार नहुँदा विकास नभएको, पुँजीगत खर्च हुन नसकेको, सुशासन कायम हुन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र जनतामा निराश छाएको बताए ।

‘जनतामाझ स्थायी सरकारको विश्वास दिलाउन कांग्रेस–एमाले मिलेको हो । यसले मुलुकमा देखा परेको समस्याको समाधान गर्छ’ उनले भने । उनले राष्ट्रिय स्वाधीनताको मुद्दामा अघि बढ्न समेत कांग्रेस–एमाले गठबन्धनको सरकार आवश्यक रहेको दाबी गरे ।

‘१८ खर्ब बजेटमा पुँजिगत खर्च ३ खर्ब छ । त्यो पनि खर्च हुन सकेन, देशको अवस्था यस्तो छ’ उनले भने । उनले यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु गरिएका ठूला आयोजनाहरु, विकास निर्माणहरु, पूर्वाधारहरु ठप्प रहेको र वर्तमान सरकारले अघि बढाउने बताए ।

‘संसद्को पहिलो र दोस्रो शक्ति मिल्दा सरकार तानाशाही हुन्छ भन्ने टिप्पणीहरु सुनिन्छन् । हामी सुशासन कायम गर्छौं, समृद्धिको अभियानलाई अघि बढाऔंछौं, राष्ट्रिय स्वाधीनताको मुद्दा छ, विकासका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु पूरा गर्छौं’ उनले भने, ‘कांग्रेस एमाले मिलेर सरकार बनेपछि नागरिकमा आशा पलाएको छ । यो सरकार स्थिर हुन्छ भन्नेमा जनतामा आशा पलाएको छ,’ उनले भने । उनले दुइतिहाई सुविधाजनक मतमा रहेको वर्तमान सरकारमा विश्वासको मत बढ्दै जाने र स्थिर सरकार रहनमा थप मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य जमीन्द्रमान घले, युवा संघ पूर्वअध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य राजीव पहारी, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले बोले । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक पिताम्बर खनालका अनुसार अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका आयोजक कमिटीसहित २ सय ५४ जना प्रतिनिधि छनौट भएर आएका छन् ।

अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिने उनले बताए ।

प्रकाशित : श्रावण १२, २०८१ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×