कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९४

सतिशकुमार सिंह : पालिका अध्यक्ष हुँदै मधेशको मुख्यमन्त्रीसम्म 

अवधेशकुमार झा

राजविराज — मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नेकपा एमालेसहित ६ दलका ५५ जना सांसदको समर्थनमा ४२ वर्षीय सिंह मुख्यमन्त्री बनेका हुन् । 

सतिशकुमार सिंह : पालिका अध्यक्ष हुँदै मधेशको मुख्यमन्त्रीसम्म 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तिलाठीका स्थायी बासिन्दा हुन् सिंह । सिंह ०७९ सालको स्थानीय तहको निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा राजपाबाट उम्मेदवार भई पराजित भएका थिए । तर ०७९ भदौमा जनमत पार्टीमा प्रवेश गरी सप्तरीको निर्वाचन क्षेत्र नम्बर २(१) बाट प्रदेशका तात्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई पराजित गर्दे प्रदेशसभा सदस्यमा सिंह चुनिए । सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गरेका थिए । सप्तरी–२ जनमत अध्यक्ष सीके राउत निर्वाचित भएको क्षेत्रसमेत हो ।

०५२/५३ सालमा राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयमा अध्ययनकै क्रममा सिंहले गरिरहदा तात्कालीन सदभावना पार्टीको विद्यार्थी संगठन विद्यार्थी मञ्चको सदस्यता लिएका थिए । अध्ययनका लागि उनी सन् २००१ देखि २००४ सम्म झारखण्डको राँची गएपछि नेपालमा उनको राजनीतिक यात्रामा विराम लागेको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपूर्व उनी शरतसिंह भण्डारीको नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेर जिल्ला अध्यक्ष भएका थिए । मधेशकेन्द्रित ६ वटा दल मिलेर राजपा गठन भएपछि सिंह उक्त पार्टीको पनि जिल्ला अध्यक्ष भए ।

राजपाबाट उनी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा ०७४ को स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका थिए । सो निर्वाचनमा उनी पालिका अध्यक्षमा निर्वाचित भएका थिए । पाँच वर्षसम्म तिलाठी कोइलाडी गाउँपालिका हाँकेका सिंह ०७९ सालको स्थानीय तहको निर्वाचनमा पुनः राजपाबाटै पालिका अध्यक्षमा उम्मेदवार भए ।

तर पालिका अध्यक्षमा उनले दास्रो पटकको यात्रा अगाडि बढाउन सकेनन् । कांग्रेसका अरुणकुमार मण्डलबाट उनी पराजित भएका थिए । त्यसपछि उनी ०७९ भदौमा सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित : जेष्ठ २५, २०८१ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×