कांग्रेस-एमाले सहमतिपछि शृंखलाबद्ध भेटघाट

असार १९, २०८१

कान्तिपुर संवाददाता

Series of meetings after Congress-UML agreement

काठमाडौँ — सोमबार मध्यरात कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै राजनीतिक वृत्तमा तरंग आएको छ । संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सहित हाल सत्ता साझेदार दल मंगलबार बिहानैदेखि छलफलमा जुटेका थिए ।

बिहान ८ बजे

सिंहदरबारमा रास्वपा सचिवालयको बैठक

Series of meetings after Congress-UML agreementफाइल तस्बिर

गृह मन्त्रालय लिएर सत्ता साझेदार बनेको रास्वपाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ८ बजे नै सचिवालयको बैठक बोलाएको थियो । पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त बैठक बसेको थियो । करिब डेढ घण्टा चलेको बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरणका लागि भएको सहमतिमा पार्टीले सहभागी नहुने निर्णय गरेको जानकारी दिए । बैठकले नयाँ राजनीतिक समीकरण देश र जनताको हितमा नरहेको र यसले राजनीतिक स्थायित्व पनि नदिने निष्कर्ष निकालेको उनले बताए । बैठकपछि बोल्दै गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भएको प्रतिक्रिया दिएका थिए ।

बिहान ९ बजे 

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारीको बैठक

मध्यरातमा एमाले अध्यक्ष ओलीसँग सहमति गरेका कांग्रेस सभापति देउवाले मंगलबार बिहान ९ बजे नै बूढानीलकण्ठस्थित आफ्नै निवासमा कांग्रेस पदाधिकारीको बैठक बोलाए । झन्डै साढे ३ घण्टाको बैठकपछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच सहमति भएको दाबी गरे । पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा देउवाले नेतृत्व गर्ने सहमति भएको जानकारी बैठकमा गराइएको पनि उनले बताए ।

बिहान साढे ९ बजे

प्रधानमन्त्री दाहाल र ओलीबीच भेट 

एमालेले प्रमुख प्रतिपक्षी कांग्रेससँग नयाँ राजनीतिक समीकरण निर्माणका लागि सहमति गरेपछि प्रधामन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीलाई छलफलका लागि मंगलबार बिहानै बालुवाटार बोलाएका थिए । प्रधानमन्त्री दाहाल र ओलीबीच बिहान करिब साढे ९ बजे बालुवाटारमा भेटवार्ता भएको थियो । उनीहरूबीच केवल पाँच मिनेट मात्रै भेट भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बिहान १० बजे

बालुवाटारमा माओवादी पदाधिकारीको बैठक

प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष दाहालले पनि पछिल्लो समय विकसित भएको नयाँ राजनीतिक समीकरणबारे छलफल गर्नका लागि पदाधिकारीको बैठक बोलाएका थिए । माओवादी पदाधिकारीहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेका लागि बोलाइएको थियो । 

पदाधिकारीको बैठक बोलाए पनि दाहालले त्यसअघि एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । दाहाल र ओलीबीच कुराकानी भएपछि १० बजे मात्रै माओवादी पदाधिकारीहरूको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आफूले राजीनामा नदिने र संसद्मा विश्वासको मतको सामना गर्ने बताएका थिए । उनले पछिल्लो राजनीतिक समीकरणले देशलाई पश्चगमनतर्फ धकेल्नका लागि डरलाग्दो षड्यन्त्र भएको बताए । मंगलबार बिहान मात्रै पनि ओलीसँग भेट हुँदा उनले बाहिर आएका कुरामा कुनै सत्यता नरहेको बताएर दोहोरो भूमिका खेलेको ब्रिफिङ गरेका थिए ।

दिउँसो १२ बजे

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवास

माओवादीको पदाधिकारी बैठकपछि १२ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले विकसित राजनीतिक घटनाक्रमका बारे जानकारी गराएका थिए ।

दिउँसो १ बजे

कांग्रेस पार्टी कार्यालयमा शीर्ष नेताहरू

Series of meetings after Congress-UML agreementगिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा गरिएको ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओलीलगायत प्रायः सबै दलका शीर्ष नेताहरू कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।

दिउँसो २ बजे

धुम्बाराहीमा राप्रपा पदाधिकारीको बैठक

राप्रपाले पनि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीहरूको बैठक डाँकेको थियो । बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य भएको बताए । अहिलेको संविधानले काम गर्दैन भनेर राप्रपाले भन्दै आएकामा संविधान संशोधनलाई नै मुख्य बुँदा बनाएर नयाँ सत्ता समीकरण बन्नु स्वागतयोग्य भएको उनले बताए ।

दिउँसो ३ बजे

च्यासलमा एमाले सचिवालयको बैठक

एमालेले पनि विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न सचिवालयको बैठक बोलाएको थियो । एमालेको केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठक करिब २ घण्टा चलेको थियो । बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री दाहाललाई बुधबारसम्ममा राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

बेलुका ८ बजे

बूढानीलकण्ठमा देउवा र नेपालबीच भेट

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसका सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । भेटमा पछिल्लो घटनाक्रमबारे छलफल भएको बताइएको छ । देउवाले कांग्रेस र एमालेले सहकार्य गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागेको जानकारी दिएका थिए । अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर औपचारिक जानकारी गराउने बताएका थिए । 

कांग्रेस-एमाले गठबन्धनएमाले

कान्तिपुर

Link copied successfully