कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

गठबन्धन संकटमा परेका बेला टेलिकम निर्देशक नियुक्तिमा कस्सियो सरकार

प्रधानमन्त्री, सञ्चारमन्त्री र मुख्यसचिवले आ-आफ्नै निकटका व्यक्तिलाई नेपाल टेलिकमको नेतृत्व सुम्पिन चाहेकाले प्रक्रिया ढिलो गरिएको थियो 
सजना बराल

काठमाडौँ — नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि दरखास्त खुला गरेको करिब एक महिनापछि सरकारले छनोट प्रक्रिया अघि बढाएको छ । तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेसँगै सञ्चारमन्त्री, प्रधानमन्त्री तथा मुख्यसचिवले आ-आफ्नै निकटका व्यक्तिलाई नेपाल टेलिकमको नेतृत्व सुम्पिन चाहेकाले प्रक्रिया ढिलो गरी अघि बढेको मन्त्रालयका जानकार अधिकारी बताउँछन् । 

गठबन्धन संकटमा परेका बेला टेलिकम निर्देशक नियुक्तिमा कस्सियो सरकार

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त स्वीकृत भएका १६ उम्मेदवारलाई मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । असार २०, २१ र २२ गते विभिन्न समयमा मन्त्रालयमा उपस्थित भई प्रक्रियामा सामेल हुन मन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो । उम्मेदवारहरूले मन्त्रालयमा गठित छनोट समितिसमक्ष उम्मेदवारहरूले प्रस्तुतीकरण र अन्तर्वार्ता दिनुपर्नेछ ।

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा दूरसञ्चार क्षेत्रका विज्ञका रूपमा मन्त्रालयकै पूर्वसचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सम्मिलित छनोट समितिले यसअघि आवेदन अध्ययन गरी योग्य उम्मेदवार चयन गरेको थियो । यसमा नेपाल टेलिकममै कार्यरत इन्जिनियर सुवास साहको योग्यता नपुगेपछि समितिले दरखास्त अस्वीकृत गरेको थियो । मन्त्रालयका अनुसार कुल १७ जनाले प्रबन्ध निर्देशक (एमडी) पदका लागि दरखास्त पेस गरेका थिए ।

असार १७ मा प्रकाशित सूचनाअनुसार अनन्तप्रकाश मल्लिक, अनिलकुमार झा र कमल लामिछानेले यही बिहीबार, कृष्णप्रसाद भण्डारी, केदारनाथ कोइराला, चिन्तमणि बराल, नगेन्द्रकुमार दास, प्रेमप्रसाद सिलवाल र बुद्धिप्रसाद आचार्यले शुक्रबार प्रस्तुतीरण एवं अन्तर्वार्तामा सामेल हुनुपर्नेछ ।

शनिबार रमेशप्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, विमल आचार्य, शालिकराम सुवेदी, शालिग्राम पराजुली र संगीता पहाडी अर्याललाई मन्त्रालयले वर्णानुक्रमअनुसार उपस्थित हुन सूचना निकालेको छ । मन्त्रालयले जेठ २२ मा आवेदन खुला गरेकामा हाल आएर नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

‘एमडी नियुक्तिका विषयमा लामै बार्गेनिङ चल्यो, अझै पनि आकांक्षीहरूको दौडधुप चलिरहेकै छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यत्तिका दिन प्रक्रिया यथावत् राखेर अब सरकार नै फेरिने भएपछि सञ्चारमन्त्रीले जाँदाजाँदै आफूले चाहेको व्यक्तिलाई नियुक्त गर्न चाहेको देखिन्छ ।’ उनका अनुसार सञ्चारमन्त्री रेखा शर्माले आफ्नै गाउँले, प्यूठानका विमल आचार्यलाई टेलिमको एमडी बनाउन चाहेकी छन् ।

आचार्य टेलिकमकै १० औं तहका कर्मचारी हुन् । आचार्यसँगै जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा पनि प्रमुख दाबेदार रहेको मन्त्रालयमा चर्चा छ । आचार्य, झा र पहाडीको योग्यता पुग्ने गरी मन्त्रालयले एमडी पदका लागि आवेदन माग गर्नुअघि नै नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधन गरेको जानकारहरूले बताउँदै आएका छन् ।

‘टेलिकममा गोजीको मान्छे ल्याउन निर्देशिका संशोधन गरिएको थियो,’ टेलिकमका एक अधिकारी भन्छन्, ‘संगीता पहाडी, विमल आचार्य र मन्त्रीका श्रीमान् कृष्णध्वज खड्का बीच मुम्बईमा डिल भएको थियो । नेपाल टेलिकमको ब्यान्डविथ खरिदका विषयमा टाटा कम्पनीसँग सम्झौता गर्न जाँदा कुन किसिमको डिल भयो, त्यो खुलाइएको छैन ।’ आवेदन दिन त्यति इच्छुक नदेखिएका टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले अन्तिम समयमा दरखास्त पेस गरेकाले उनले पनि पक्कै कुनै संकेत पाएको हुनुपर्ने टेलिकम कर्मचारीहरूको आकलन छ ।

नेपाल टेलिकमका तत्कालीन एमडी सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि गत माघदेखि टेलिकम निमित्तको भरमा चलेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको नेसनल पेमेन्ट गेटवेमा उनी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि मन्त्रालयले एमडीसम्बन्धी निर्देशिका संशोधन गरेर नयाँ नियुक्तिका लागि पहल थालेको थियो । संशोधित निर्देशिकामा सरकारले उमेर हद र शैक्षिक योग्यता हेरफेर गर्नुका साथै बर्खास्तीको प्रावधान थप गरेको थियो ।

छनोट समितिले अब कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रिया सकेर प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्नुपर्छ । यसमा व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) का लागि ६० अंक, कम्पनीको विद्यमान अवस्थामा देखिएका दुर्लभ एवं सबल तथा अवसर र चुनौतीको विश्लेषणमा २० अंक, शैक्षिक योग्यतामा ३ अंक, अन्तर्वार्तामा २२ अंकमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जना छनोट गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । समितिले सिफारिस गरेमध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले एमडी नियुक्त गर्नेछ ।

‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी अल्पमतमा परेको छ तर प्रधानमन्त्रीले विश्वासको मत लिने बताएकाले अहिलेको सरकारलाई अझै एक महिनाको समय छ,’ दूरसञ्चार क्षेत्रका विज्ञ भेषराज कँडेलले भने, ‘त्यतिञ्जेल नियुक्ति प्रक्रिया पूरा गर्न सकिने अवस्था छ ।’ पुरानो सत्ता गठबन्धन र विशेषगरी एमाले समर्थित समूहको पनि चासो रहेको उक्त पद एमालेले अहिलेको सरकार छाडेर नयाँ गठबन्धन निर्माण गरेपछि अहिलेको सञ्चार नेतृत्वले अघि बढाउन सहज महसुस गरेको बुझ्न सकिने जानकारहरूको भनाइ छ ।

प्रकाशित : असार १९, २०८१ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×