कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

सत्ता समीकरणमा हलचल !

पाठक पत्र

नेपालमा राजनीतिक अस्थिरताको इतिहास लामो छ । राणाहरूको १०४ वर्षसम्मको पारिवारिक विरासत ढलेपछि २००७ सालमा प्रजातन्त्र आयो । पहिलो आम निर्वाचनबाट नेपाली कांग्रेसको बहुमतको सरकार भए पनि दलहरू एकआपसमा मिल्न सकेनन् । भलै कम्युनिस्टहरू जम्मा चार सिटमा खुम्चिएका थिए । २०१७ सालमा राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था सुरु गरे । जुन करिब ३० वर्षसम्म निरंकुश शासन व्यवस्थाका रूपमा कायम रह्यो ।

२०४६ सालमा प्रजातन्त्र आयो । त्यसपछि विभिन्न दलहरूको समीकरणमा सत्ता साझेदारी हुँदै आएको छ । कृष्णप्रसाद भट्टराईले अन्तरिम प्रधानमन्त्रीको साँचो हात पारेदेखि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालासम्म कुनै पनि सरकारले पूर्ण अवधि काम गर्न सकेका छैनन् ।

२०७२ सालको संविधानमा राखिएको समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना कमै देखिन्छ । तसर्थ कुनै सरकार स्थिर हुन सकेका छैनन् । प्रजातान्त्रिक हौं भन्ने दलहरूले समेत सत्ताको लोभ र लालचमा परेर जस्तोसुकै चालबाजी खेल्न कुनै कसर बाँकी राखेका छैनन् । जसले गर्दा मिलिजुली सरकार बनेको १०० दिन पनि पुग्न नपाउँदै सरकारमै सहभागी दलले अर्को चालबाजी चाल्छन् । उता छिमेकीको स्वार्थ पनि त्यही नै हो, उनीहरू नेपालमा राजनीतिक अस्थिरता चाहन्छन् ।

२०७९ को निर्वाचनपछि बनेको सत्ता समीकरण हेरौं । हालका प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रको जम्मा ३२ सिट छ । तर उनले प्रधानमन्त्री बन्नका लागि कहिले नेपाली कांग्रेस र कहिले नेकपा एमालेसँग साँठगाँठ गर्न गए । नारायणथान र बालकोटको यात्रा तय गर्दैमा दिनहरू बिताए । अनि जनताको आवश्यकता तथा विकासको काममा कहिले ध्यान दिनु ?

अबको केही समयमा सत्ताको साँचो कुनै ठूलो दलको हातमा जान सक्छ । यहाँ सत्ताको फेरबदल हुने सम्भावना नौलो होइन, तर अस्थिरता व्याप्त कैयौं अफ्रिकन राष्ट्र जत्तिको पनि स्थिरता भएन नेपालमा । जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ भ्रष्टाचारको खेती मौलाउँछ । मानिसहरू बेरोजगार हुन्छन्, चोरी, डकैती फस्टाउँछ, सामाजिक तथा धार्मिक विकृतिको खाडल गहिरिँदै जान्छ । यो स्वाभाविकै हो । त्यसैले २०८४ को चुनावमा आम जनताले राष्ट्रिय राजनीतिमा राम्रो खेल खेल्न सक्ने दललाई स्पष्ट बहुमतको सरकार बनाउन सक्ने अवस्थाका लागि चेष्टा गरौं ।
– खिमराज गिरी, काठमाडौं

प्रकाशित : असार १९, २०८१ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×