कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

पहिरोले दर्जन घर जोखिममा, गाउँले विस्थापित

प्रकाश बराल

बागलुङ — बाटो चक्ल्याउने क्रममा लगाइएको पर्खाल र जमिन भासिएर बिहुँ-लेखानी सडक खण्डमा दर्जन बढी घर जोखिममा परेका छन् । ६ घरका बासिन्दा विस्थापित भएका छन् ।

पहिरोले दर्जन घर जोखिममा, गाउँले विस्थापित

काठेखोला गाउँपालिका वडा नं ६ को सुल्डाँडाबाट लेखानी जाने सडकमा दर्जनबढी पहिरो खसेको हो । पहिरोले वडा नं ६ का ३ घर र वडा नं ८ का दर्जनबढी घर जोखिममा परेका हुन् । पहिरोले स्थानीय रघुनाथ कंडेलको परिवार पुरै विस्थापित भएको छ ।

उनीहरुको परिवारलाई नजिकैको भीमसेन क्याम्पसमा लगेर राखिएको वडाध्यक्ष बृहस्पति कँडेलले बताए । उनीहरुको गोठ समेत पहिरोले पुरिएपछि भैँसी समेत छिमेकीको घरमा लगेर राखिएको हो ।

स्थानीय लक्ष्मी बिक र कृष्ण कंडेलको घरपनि पहिरोले भासिनै लागेको छ । घरमा बस्न जोखिम भएपछि उनीहरु समेत छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पानी नपर्दा काम गर्न गएपनि पानी पर्नासाथ उनीहरु भागेर छिमेकीको घर जाने गरेका हुन् । वडा नं ८ को सिरिमपाटाकी गौमती सुनार, मीनप्रसाद पुन र लालबहादुर रोकाको परिवार विस्थापित भएका छन् । दर्जन घर जोखिममा छन् ।

सुल्डाँडा देखि लेखानी हुँदै गलकोटको चौराहा जाने सडक मध्यपहाडी लोकमार्गको बिकल्पको सडक हो । यो सडकबाट यात्रा गर्दा लोकमार्गको ८ किमी दुरी छोटो हुन्छ । त्यसैले एकबर्ष देखि यो सडक चौडा पार्ने काम भैरहेको हो । तर यो सडककै कारण पहिरो खस्दा वडा नं ८ को लेखानी स्थित भुँदी खोलामा आएको पहिरोले पनि दर्जन घर जोखिममा परेका छन् । दुइ सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल पनि जोखिममा परेको हो ।

पहिरो चल्न शुरु गर्दा गाउँपालिकाले समेत चासो नदिएको वडा अध्यक्ष प्रमान्द कँडेलले बताए । त्यसपछि जिल्ला दैविप्रकोप उद्दार समितिमा समेत गुनासो आएको थियो । प्रमुख जिल्ला अधिकारीले उक्त पहिरो नियन्त्रणमा चासो राखेको बताएका छन् । बर्षातको कारण सातादेखि काठेखोलाकै विभिन्न वडामा दर्जनौं पहिरो खसेर ग्रामीण सडकहरु ठप्पै भएका छन् ।

मध्यपहाडी लोकमार्गमा समेत दर्जन पहिरो खसेपछि गाउँपालिका अध्यक्ष राजु थापाले सूचना प्रकाशित गरेर हरेक गाडिले कोदालो, गैंची र बेल्चा तथा रुख काट्ने करौंती र बञ्चरो साथैमा लिएर हिड्न आग्रह गरेका छन् ।

‘सानो तिनो पहिरो जतापनि गएका छन्, आवस्यक पर्नासाथ पहिरो पन्छाएर हिड्ने व्यवस्था गरौं’ थापाले भने, ‘ठूलो पहिरो पन्छाउनु परेमा मात्रै गाउँपालिकाले डोजर पठाउँछ ।’ टोलटोलमा समस्या आएकोले सबै स्थानमा डोजर पठाउन नसकिएको उनले बताए ।

समयमा डोजर नपुग्दा यात्रीलाई गन्तव्यमा पुग्न कठिन हुने, बाटैमा रोकिंदा थप जोखिम हुने भएपछि यस्तो सूचना जारी गरेको थापाले जानकारी दिए । उनले चिप्लो र अफ्ठ्यारो सडकमा ओभरलोड सवारी समेत नचलाउन आग्रह गरेका छन् ।

प्रकाशित : असार २१, २०८१ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×