कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

पानी परेपछिको हैरानी : महेन्द्रराजमार्गको चोरमारा खण्डमा घण्टौ जाम

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्व-पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पानी परेपछि सडक हिलैहिलो हुँदा घण्टौ जाम हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार बर्सातले चोरमाराको उकालोमा राजमार्ग हिलाम्ये छ । रातोमाटो हिलैहिलो हुँदा सवारीसाधन वारपार हुन घन्टौ लाग्ने गरेको छ । जेसीबीले गाडी धकेलेर पास गराइएको छ । मालवाहक गाडी फसेर ओहोरादोरमा अवरोध भएको छ ।

'४ वटा जेसीबी र स्काभेटर राखेर गाडी धकेल्दै पार गराउँदै छु,' आचार्यले भने, 'राजमार्गमा रातो हिलोमाटोका कारण चिप्लिएर गाडी निकाल्नै सकस भएको छ ।' ग्राभेल राख्ने र गाडी धकेलेर पास गराउने काममा दुई दर्जन भन्दा बढी प्रहरी खटाइएको उनले सुनाए ।

चोरमारा बजारदेखि पूर्व कावासोती तर्फको उकालोमा राजमार्गमा रातोमाटो छ । त्यहाँ बर्सातका कारण हिलोबगेर आउजाउमा समस्या भएको स्थानीय विकास काफ्लेले जानकारी दिए । 'यात्रुले सास्ती भोगेका छन्,' उनले भने, 'हिजो दिनभरी जाम थियो । आज दिउँसोबाट प्रहरी खटेर आउजाउ गराएको छ । हिलो र चिप्लो बाटो भएका कारण यात्रुले सकस ब्यहोरेका छन् ।'


प्रकाशित : असार २१, २०८१ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्