कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

१२ पेनाल्टीमा रोनाल्डोको रोदनपछि हाँसो

खेलपछि रोनाल्डोले भने, ‘कहिलेकाहीं पेनाल्टीमा गोल गर्न असाध्यै गाह्रो हुन्छ । मैले आफ्नो खेलजीवनमा दुई सयभन्दा बढी पेनाल्टी प्रहार गरिसकें होला, तर कहिलेकाही गोलै गर्न सकिन्न ।’
एपी

फ्र्यांकफर्ट — अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डो जत्तिको उच्च स्तरको नाटक गर्न सक्ने खेलाडी कोही छैनन् । पोर्चुगाली कप्तान फेरि एकपल्ट आफ्नो देशको खेलमा केन्द्रीय भूमिकामा रहे ।

१२ पेनाल्टीमा रोनाल्डोको रोदनपछि हाँसो

नाटकीय पेनाल्टी शुटआउटमा पोर्चुगलले सोमबार राति स्लोभेनियालाई हराएपछि युरो २०२४ मा एउटा अर्को ब्लकबस्टर खेलको साइत जुरेको छ । यो हो, पोर्चुगलविरुद्ध फ्रान्स । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पोर्चुगल ३–० ले विजयी रह्यो ।

पोर्चुगल जत्तिको टिमलाई ५७ औं फिफा वरीयतामा रहेको टिमले खासै दुःख दिनु नपर्ने हो । तर, यही खेलमा धेरै आँसु पनि देखियो । विशेषतः रोनाल्डो नै रोए । आफ्ना समर्थकसँग माफी पनि मागेका छन् । समर्थक पनि के कम र ? तिनका प्रतिक्रियामा पनि सबथोक थियो । रिस, दुःख र समर्थन । रोनाल्डोसामु पेनाल्टीमा इतिहास बनाउने अवसर थियो, सकेनन् । पछि जित उनकै टिमको रह्यो र छाएको थियो, खुसी । रोनाल्डोले अतिरिक्त समयको खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि उनकी आमा पनि रोइन् ।

उनी आफैं रंगशालामा थिइन् । उनलाई बारम्बार देखाउने काम पनि भइरहेको थियो । खेलपछि रोनाल्डोले भने, ‘कहिलेकाहीं पेनाल्टीमा गोल गर्न असाध्यै गाह्रो हुन्छ । मैले आफ्नो खेलजीवनमा दुई सयभन्दा बढी पेनाल्टी प्रहार गरिसकें होला, तर कहिलेकाही गोलै गर्न सकिन्न ।’ अन्त्यमा त्यही भयो, जुन पोर्चुगलले चाहेको थियो । रोनाल्डोले थपे, ‘हामी आफ्ना समर्थकलाई खुसी दिन चाहन्छौं, प्रसन्न भएर फुटबल खेल्न चाहन्छौं । यो नै हाम्रो जीवन हो ।’ उनले यो खेल प्रतियोगितामै गोल गर्न नसकेको स्थितिबाट खेलेको थिएँ ।

अतिरिक्त समयको १ सय ५ औं मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । त्यसलाई रोनाल्डोले गोलमा परिणत गरेको भए उनी प्रतियोगिता इतिहासमा गोल गर्ने सबैभन्दा पाका उमेरका खेलाडी हुन्थे । आफ्नो २० वर्ष लामो फुटबल खेल जीवनमा रोनाल्डोले यस्तो मौका बिरलै गुमाएका छन्, सम्भवतः पाँच–छपल्ट । यसमा गोल भएको भए पोर्चुगलको पक्षमा खेल गइसकेको हुन्थ्यो । तर, रोनाल्डोको प्रहार स्लोभेनियाली गोलरक्षक यान ओब्लाकले मज्जासँग बचाए । उनले सही अनुमान पनि लगाएका थिए ।

तुरुन्तै रोनाल्डोको आँखामा आँसु देखियो । साथीहरूले उनलाई सान्त्वना प्रदान गरे, निधारमा चुम्बन गरे र खेललाई जारी राख्न सल्लाह दिए । अतिरिक्त समयको खेल पनि गोलरहित नै रह्यो । टाइब्रेकरमा पहिलो पेनाल्टी पोर्चुगलका लागि रोनाल्डोले नै प्रहार गरे । यसपल्ट गोल भयो । प्रशिक्षक रोबर्टो मार्टिनेजले पछि भने, ‘मलाई पूरा विश्वास थियो, रोनाल्डोले नै पहिलो प्रहार लिने गर्छन् र हामीलाई जिततर्फ अग्रसर गर्नेछन् ।’

उनले थपे, ‘जीवनले हामी सबैलाई दिने भनेकै दुःख हो । तर, यसमै रोनाल्डोको जस्तो प्रतिक्रिया आउने गर्छ, त्यसले हामीलाई खुसी बनाउँछ ।’

यो जितका खास नायक भने पोर्चुगाली गोलरक्षक डिएगो कोस्टा रहे । उनले स्लोभेनियाका तीनै प्रहार बचाएर गोल हुन दिएनन् । जोसिप इलिचिक, जरे ब्लाकोभेच र बेन्जामिन भेरबिच गोल गर्न चुकेका हुन् । पोर्चुगलका लागि भने ब्रुनो फर्नान्डेज र बर्नाडो सिल्भाले गोल गरेका थिए ।

प्रकाशित : असार १९, २०८१ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×