कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कम्तीका छैनन् कोस्टा

रोयटर्स

फ्र्यांकफर्ट — पोर्चुगलले युरोको अन्तिम १६ को खेल किन जित्यो भने गोलरक्षक डिएगो कोस्टाले स्लोभेनियाविरुद्ध बबाल नै गरे । जर्जियाका गोलरक्षक हुन्, जिओरगी मामारडासिभी । यसपल्टको युरोमा उनी जत्तिको व्यस्त गोलरक्षक अरू कोही भएनन् । उनलाई अति नै खटेर खेल्नुपरेको थियो । कोस्टा भने २४ वर्षका भए । उनले टाइब्रेकरमा तीन पेनाल्टी सामना गरेकोमा तीनैलाई गोल हुन दिएनन् । 

कम्तीका छैनन् कोस्टा

अब शुक्रबार जतिबेला पोर्चुगलले क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ, सबैको नजर उनमाथि पर्नेछ । स्लोभेनियाविरुद्ध अतिरिक्त समयमै बेन्जामिन सेस्कोविरुद्ध उनले वन–अन–वनमा गजबको बचाउ गरे ।

उनी यस युरोमा ‘म्यान अफ द म्याच’ हुने तेस्रो गोलरक्षक थिए । तिनै मामारडासिभी चेक गणतन्त्रविरुद्धको खेलमा उत्कृष्ट खेलाडी चुनिएका थिए । यस्तै पोल्यान्डका लुकासज् स्कोरुपसी भने फ्रान्ससँगको बराबरीमा खेलकै उत्कृष्ट रहे । कोस्टा के मान्छन् भने उनको फुटबल जीवनमा यति राम्रो अवसर कहिल्यै आएको थिएन । उनी भन्छन्, ‘अथवा भनौं, यो खेलमा मैले आफ्नो उपयोगिता सिद्ध गरें । म त असाध्यै खुसी छु । किनभने मैले आफ्नो देशलाई जिताउन सहयोग गरें ।’

मामारडासिभी भने २३ वर्षका भए । लगातार बचाउ गर्नुपरेको हुनाले उनलाई फुर्सद नै नभएको हो । यसका लागि उनलाई आफ्ना डिफेन्डरहरूको प्रदर्शनमा कुनै खुसी हुने ठाउँ छैन । उनले यो युरोमा ४ खेल खेले । यसबीच २९ बचाउ गरे । त्यसमा एक खेल स्पेनविरुद्ध बेहोरेको ४–१ को हार रह्यो । उनको जति बचाउ अरू कसैले गर्नुपरेको छैन, आधा पनि ।

ठ्याक्कै भन्दा इटालीका जियानलुइजी डोनारुमा, बेल्जियमका कोएन कास्टेल्स र स्लोभानियाका यान ओब्लक तीनै जनाले समान १४ बचाउ गरेका छन् । संयोग कस्तोभन्दा यी तीनै गोलरक्षकको चुनौती अब प्रतियोगितामा बाँकी छैन । उनीहरूको देश बाहिरिइसकेको छ । खासमा जर्जियाले प्रतियोगितामा १ सय ६ आक्रमण बेहोर्नुपरेको छ । त्यसैले मामारडासिभीले कति धेरै बचाउ गरे र त्यसको महत्त्व बुझ्न गाह्रो रहेन । अझ उनकै कारण जर्जियाले आठ गोलमात्रै खायोभन्दा अचम्मै लाग्न सक्छ ।

उनले एकाएक गोलरक्षकका रूपमा यति राम्रो प्रदर्शन भने गरेका होइनन् । यी भ्यालेन्सियाली गोलरक्षकमाथि ठुल्ठूला क्लबको नजर सुरुदेखि नै थियो । अब झन् रहनेछ । गत सिजनको सुरुमा उनी झन्डै बायर्न म्युनिख पुगिकेका थिए । उनी भन्छन्, ‘बायर्न जाने त लगभग तय भइसकेको थियो । मेरा एजेन्ट म्युनिखमै थिए, बुवाले त अपार्टमेन्टसमेत खोजिसक्नुभएको थियो । तर अन्यमा कुरा अगाडि बढेन, किनभने मैले बुझेसम्म बायर्नले मेरा लागि ३ करोड ५० लाख युरो तिर्न मानेन ।’

पछिल्लो दुई सिजन भ्यालेन्सियाका लागि उनले एक खेल छाडेर अरू सबै खेलेका छन् । जर्मन भूमिमा उनको प्रदर्शन देखेपछि अब रूचि बढ्ने नै भयो । युरो २०२४ मा जति गोलरक्षकले चार खेल खेलेका छन्, त्यसमध्ये सबैभन्दा कम बचाउ गर्नुपर्ने गोलरक्षक त कोस्टा नै हुन् । अनि स्विट्जरल्यान्डका यान सोनार । उनीहरूले ६–६ बचाउनमात्र गरेका छन् ।

जर्मनीका म्यानुयल नोयाले एक बढी बचाउ गरेका छन्, सात । फेरि कोस्टा र उनले सामना गरेको टाइब्रेकरमै चर्चा गर्ने हो भने उनी मान्छन् उनीभित्र यत्तिको गर्न सक्ने विश्वास थियो । उनी भन्छन्, ‘हामीले विपक्षी खेलाडीले कसरी प्रहार गर्छन् भनेर अध्ययन गरेका थियौं । तर खेलाडीले निर्णायक मोडमा आफ्नो शैली परिवर्तन गर्छन् । मलाई पूरा विश्वास थियो, कुनै न कुनै प्रहार रोक्ने ।’ उनले एक होइन, तीन प्रहार रोकेर देखाइदिए ।

उनले जुन सेस्काको आक्रमणलाई विफल तुल्याए, त्यतिबेला पनि उनमा यस्तो हुनेछ भनेर पहिले नै मनमा आइसकेको थियो । कोस्टा विपक्षी खेलाडीको शारीरिक भाषा बुझ्न माहिर छन् । त्यसैले उनी बचाउ गरिरहन्छन् । उनका प्रशिक्षक रोबर्टो मार्टिनेज आफ्ना गोलरक्षकको प्रदर्शनबाट खुसी छन् । यो स्वाभाविक पनि छ ।

उनी भन्छन्, ‘युरो अगाडिसम्म पोर्चुगाली फुटबलमा केही रहस्य लुकेको थियो भने त्यो यिनै गोलरक्षक कोस्टा हुन् । मैले आफ्नो प्रशिक्षण जीवनमा धेरै गोलरक्षकसँग काम गर्ने मौका पाएको छु । त्यसमध्ये उनी पक्कै उत्कृष्ट छन् । उनी अब अनुभवी भइसके अनि परिपक्व । उनको प्रदर्शनले टिमलाई धेरै फाइदा पुगेको छ ।’

प्रकाशित : असार १९, २०८१ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×