कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध, सेती नदीको जलस्तर बढ्यो 

बझाङ — लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ । 

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध, सेती नदीको जलस्तर बढ्यो 

जयपृथ्वी राजमार्गको जालेबगर र तमैलमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसेपछि राजमार्ग अवरुद्ध भएको हो । जालेबगरको पहिरो स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।

तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसेको कारण वैकल्पिक उपायको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए ।

‘सडकमा अजंगका ढुगां खसेका कारण मेसिन प्रयोग गरेर हटाउन सकिएको छैन,' उनले भने, ‘ठूलो खालको मेसिन प्रयोग गरेर सकिन्छ भनेर कोसिस गरिरहेका छौ।' मनसुन सुरु भए यता जयपृथ्वी राजमार्ग पहिरोका कारण दिनहुँजसो अवरुद्ध हुन थालेको छ ।

बिहीबार दिउँसोबाट बझाङमा लगातार झरी परिरहेको छ । अविरल वर्षासँगै सेती नदीको सतह समेत बढ्न थालेकोले सर्तक रहन विपद् व्यवस्थापन समितिले सर्तकता सूचना जारी गरेको छ ।

नदीको सतह बढेसँगै बाढीको खतरा हुने भएकोले सेती नदी र यसका सहायक खोलाको आसपास बस्नेलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभागको नदी सतह अनुगमन गर्ने वेबसाइटले दिउँसो १२ बजेर २० मिनेटमा सेती नदीमा पानीको सतह करिब तीन मिटरले बढेको जनाएको छ ।

वर्षासँगै आएको बाढीले बझाङ जिल्लाका अन्य शाखा सडकहरू पनि अवरुद्ध भएको स्थानीयले बताएका छन् । मष्टा, सुर्मा, खप्तडछान्ना, बुंगल, थलारालगायतका पालिकाका दर्जनौं सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको हो ।

प्रकाशित : असार २१, २०८१ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×