कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सरकार अधिनायकवाद उन्मुख रहेको कांग्रेसको निष्कर्ष, काठमाडौंमा विरोध प्रदर्शन गर्ने

काठमाडौँ — नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी छानबिनको माग गर्दै काठमाडौंमा सडक प्रदर्शन गर्ने भएको छ । 

सरकार अधिनायकवाद उन्मुख रहेको कांग्रेसको निष्कर्ष, काठमाडौंमा विरोध प्रदर्शन गर्ने

बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम अपचलन गरेको आरोप लागेको उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफैँ गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै संसदीय छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

'संसद्‌मा पहिले देखिनै कांग्रेसले यो माग राखेको छ । तर सरकारले बेवास्ता गरेको छ भने सभामुखले पनि तटस्थ भूमिका निभाएका छैनन्,' विश्वकर्माले कान्तिपुरसँग भने, 'सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ । अहिले संविधान, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, जनताको शान्ति सुरक्षा र सुशासन कायम गर्ने कुरा चुनौतीपूर्ण अवस्थामा छ । त्यसमाथि विवादित गृहमन्त्रीले स्वतन्त्र प्रेसमाथि प्रतिसोध साँधेर जुन हर्कत थाल्नुभएको छ, यसको विरुद्ध कांग्रेसले सडकमा प्रदर्शन गर्ने र स्थानीय तहसम्म सरकारको यस्तो कार्यको भण्डाफोर गर्ने भन्ने निष्कर्षमा पुगेका छौँ ।'

कांग्रेस बैठकमा अहिले पनि नेताहरुले धारणा राख्ने क्रम चलिरहेको छ । प्रचार विभाग प्रमुख विश्वकर्माले सुरुवातमा कांग्रेसले काठमाडौंमा सडक प्रदर्शन गर्ने र त्यसपछि क्रमश: अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने जानकारी दिए ।

नेताहरुका अनुसार आगामी शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनको प्रस्ताव गरिएको छ भने काठमाडौंका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउने तयारी छ ।

प्रकाशित : जेष्ठ ९, २०८१ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×