कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

लागूऔषध सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ

काठमाडौँ — लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बस/ माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो ।

लागूऔषध सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार प्रतिबन्धित लागूऔषध सेवन गरी सवारी साधन चलाएको कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।

बागमती प्रदेश ०६–००१ ज ०१ ७२ नम्बरका माइक्रो बसका चालक चितवन भरतपुरका २५ वर्षीय अनिक चौधरी, प्रदेश २–०३ ००१ ख ४५ ६२ नम्बरका ट्रक चालक मकवानपुर हेटौडाका ३० वर्षीय प्रकाश तामाङ, बा १३ च ४८ ५३ नम्बरका पिकअप भ्यानका चालक मकवानपुर थाहा नगरपालिकाका २३ वर्षीय प्रकाश गोले, बा १७ च १७ १४ नम्बरका भ्यान चालक बाँके कोहलपुरका ४२ वर्षीय विनोद चौधरी, ग १ ख १५ ६७ नम्बरका बस चालक तनहुँ म्याग्दी गाउँपालिकाका ३९ वर्षीय कर्णबहादुर गुरुङ र ना ७ ख ०५ २७ नम्बरका भाडा ट्यांकर चालक मकवानपुरको हेटौडाका ४८ वर्षीय रविलाल मानन्धर पक्राउ परेका हुन् ।

उनीहरुमाथि अवैध लागूऔषध सेवनको कसुरमा अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन विरुद्ध २०६८ सादलबाटै प्रहरीले देशभर विशेष अभियान चलाउँदै आएकोमा २ वर्ष अघिबाट उपत्यका भित्र लागूऔषध सेवन गर्ने चालकविरुद्ध पनि कारबाही अभियान थालिएको थियो ।

यसका लागि ट्राफिक प्रहरीले छुट्टै किटको प्रयोग गरी चालकले लागूऔषध सेवन गरे/नगरेको पत्ता लगाउन प्रहरी अस्पताल र लागूऔषध नियन्त्रण व्यूरोबाट सहयोग लिँदै आएको छ । शुक्रबार पक्राउ परेका यातायातका चालकहरुको पिसाव परीक्षण गर्दा लागूऔषध सेवन गरेको खुलेको हो । उनीहरुले सेवन गर्ने लागूऔषध कुन किसिमको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघिका विभिन्न परीक्षणबाट चालकले गाँजा र चरेस तथा केहीले हेरोइनसम्म सेवन गर्ने गरेको भेटिएको थियो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव ड्रग्स किट’मा राखेर परीक्षण गर्दा लागूऔषध सेवन गरेको भेटिएको थियो । एसपी खड्काका अनुसार शुक्रबार २५ वटा सबारी साधनका चलकको पिसाव परीक्षण गर्दा ६ जनाले लागूऔषध सेवन गरेको भेटिएको थियो ।

प्रकाशित : श्रावण १२, २०८१ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×