कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

काठमाडौं महानगरमा ‘एकल सेवा केन्द्र’ सुरु

भाद्र २१, २०८१
काठमाडौं महानगरमा ‘एकल सेवा केन्द्र’ सुरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई निर्धारित समयभित्र सेवा उपलब्ध गराउन ‘एकल सेवा केन्द्र’ को सुरूआत गरेको छ ।

सेवाग्राहीलाई सहज तरिकाले सेवा उपलब्ध गराउन शुक्रबारदेखि उक्त केन्द्रको औपचारिक सुरुआत गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए । ‘निर्धारित समयभित्र सेवा उपलब्ध गराउन, तत्काल सेवाग्राहीको कागजातको जाँच गर्न र सम्पर्क विन्दु एउटै बनाउन आजैबाट एकल सेवा केन्द्रको शुभारम्भ गरेका छौं,’ उनले भने, ‘नागरिकको घरदैलोमा शासन पुर्‍याउन, विद्युतीय सुशासन तथा विद्युतीय साधनको उपयोग तथा व्यवहारिक प्रयोग गर्न र ई–सरकारको अवधारणाको व्यवहारिक कार्यान्वयन गर्न सेवा केन्द्रको सेवा सशक्त बनाइनेछ ।’

यसैगरी महानगरले गत साउन ३ गतेदेखि ‘साथी महानगर’ मार्फत सेवाग्राही सर्वेक्षणको सुरु गरेको थियो । सर्वेक्षणमा सहभागी उत्तरदाताले महानगरको सेवा अनलाइनमार्फत होस् भन्ने धारणा राखेका छन् । जसमा ५ सय १७ जना उत्तरदाता सहभागी थिए । सहभागी ६६ प्रतिशत उत्तरदाताले महानगरबाट उपलब्ध हुने सेवा अनलाइनमार्फत होस् भन्ने धारणा राखेको जनाइएको छ ।

सर्वेक्षणले देखाएको अवस्थाबारे उनले प्रतिक्रिया दिए, ‘सर्वेक्षणबाट देखिएका सबल पक्षहरूलाई संस्थागत गर्दै सेवाग्राहीबाट आएका विचारका आधारमा सुधार गर्नुपर्ने कुरालाई नीतिगत तथा कार्यक्रमिक तवरले सम्बोधन गर्दै लगिनेछ ।’

प्रकाशित : भाद्र २१, २०८१ ११:३२
×