कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्द्रागिरिका सात वडा ‘बालश्रममुक्त वडा’ घोषणा

भाद्र २९, २०८१
चन्द्रागिरिका सात वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौँ — चन्द्रागिरि नगरपालिकाका ७ वडा  ‘बालश्रममुक्त वडा’ घोषणा भएका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म नगरपालिकाका १५ मध्ये वडा नं ३, ५, ६, ७ , ८, ११ र १४ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाका मेयर घनश्याम गिरिले बताए। यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमितामा राखेर बजेट समेत विनियोजन गरेको छ ।

शनिबार वडा नं. ११ लाई बालश्रममुक्त घोषणा सभामा मेयर गिरिले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि आफूहरूले अग्रसरता लिएको बताए ।

बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उनले बताए । उनले आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने बताए ।

यसअघि देशभरका ६ स्थानीय तहमात्रै बालश्रममुक्त घोषणा भएका छन् । कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडा ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ , वडा १५ का वडाध्यक्ष घनश्याम लुईँटेल,सामाजिक विकास शाखाका प्रमुख रश्मी श्रेष्ठ लगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख , विभिन्न बालक्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासी सहभागी थिए ।

प्रकाशित : भाद्र २९, २०८१ १३:२६
×