कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नेपाल युथ समिट : युवालाई स्वरोजगार बनाउन माग

भाद्र ३०, २०८१
नेपाल युथ समिट : युवालाई स्वरोजगार बनाउन माग

काठमाडौँ — युवालाई उद्यमशीलता, रोजगारी र युवा सशक्तिकरणका लागि सरकारले विशेष नीतिसहित प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने मागसहित ७ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने नेपाल युथ समिट काठमाडौंमा सम्पन्न भएको छ ।

राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा भदौ २८ र २९ गते भएको समिटले युवालाई स्वदेशमै आफ्नो ज्ञान, सीप र क्षमताका आधारमा रोजागार गर्ने वातावरण निर्माण गर्नुपर्ने, युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्नुपर्ने, स्वदेशी उत्पादनका उपभोगलाई प्राथमिकता र सोको लागि समय सापेक्षित नीति, नियम, योजना र बजेटको व्यवस्था हुनुपर्ने माग गरेको छ ।

युवाहरूलाई राजनीतिक, सामाजिक र आर्थिक नेतृत्वमा पहुँच दिन राज्यका सबै तहमा समानुपतिक र अर्थपूर्ण सहभागी गराउने र उनीहरूको क्षमताको विकास गर्ने कार्यक्रम लागू गर्नुपर्ने समिटको माग रहेको कार्यक्रम संयोजक भुपेन्द्रजंग शाहीले बताए ।

उनका अनुसार समिटमा सीप र बजारोन्मुख शिक्षा, डिजिटल शिक्षामा पहुँच, नवप्रवर्तनलाई प्रोत्साहन र प्रविधिमा युवाहरूको पहुँचलाई सुनिश्चित गरी डिजिटल साक्षरता र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारसँग माग गरिएको छ ।

त्यस्तै, सामाजिक न्याय, लैङ्गिक समानता, अल्पसंख्यक, पछाडि पारिएका तथा सीमान्तकृत समुदायको मानव अधिकारको प्रवर्द्धन गर्दै सबै प्रकारका विभेद, हिंसा, र अन्यायको अन्त्य गर्ने युवाहरूले प्रतिबद्धता जनाएका छन् भने वातावरणीय संरक्षण र दिगो विकासका लागि युवाहरूको सक्रिय भूमिका सुनिश्चित गर्दै हरित ऊर्जा, जलवायु परिवर्तन, र वातावरणीय न्यायको प्रवर्द्धनमा जोड दिनुपर्ने माग गरेका छन् ।

समिटमा सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले देशभित्रै युवाहरूलाई अवसर सिर्जना गर्न र स्वरोजगार बनाउन सरकारले पहल गरिरहेको बताए । युवा नै देशको आर्थिक समृद्धिको मुल आधार रहेको भन्दै उनले युवा जनशक्तिको उपयोग र व्यवस्थित परिचालनबाट मात्रै त्यो सम्भव हुने बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, उद्योगपति एवम् सांसद विनोद चौधरी, सांसदहरू सोविता गौतम र मैना कार्की, पूर्वसांसद नविना लामा, रिता शाहीलगायतले सम्बोधन गरेका थिए ।

समिटमा चर्चित उद्यमी विदुषी राणा, चर्चित खेलाडी पलेशा गोवर्द्धन, सफल व्यवसायी भरत ढकाल, बैंकर्स मनोज ज्ञवाली, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, वरिष्ट पत्रकार दिलभुषण पाठक, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा अनिल कार्की, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुबेदी, अभिनेता सनम कठायत, अभिनेत्री उषा रजक, गायिका राधिका हमाल लगायत विभिन्न क्षेत्रका विज्ञहरू, युवा उद्यमीहरू, युवा नेता, चलचित्रकर्मी, लेखक, साहित्यकार, सामाजिक अभियन्ताहरू, जनप्रतिनिधिहरू लगायतले युवालाई स्वरोजगारमा प्रोत्साहन गर्दै ज्ञानवर्द्धन प्रस्तुतीहरू राखे ।

समिटमा देशभरका करिब ५०० जना युवाहरू सहभागी थिए ।

प्रकाशित : भाद्र ३०, २०८१ २०:०९
x
×