कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

काठमाडौं महानगरद्वारा ७ सहकारीलाई कारबाही गर्न सीआईबीमा पत्राचार

भाद्र २०, २०८१
काठमाडौं महानगरद्वारा ७ सहकारीलाई कारबाही गर्न सीआईबीमा पत्राचार

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सहकारी संस्थारूको अनुगमन सुरु गरेको छ । महानगरले ४० वटा विभिन्न सहकारी संस्थाहरूको अनुगमन गर्दा ७ वटालाई अनुसन्धान र कारबाहीको थप प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको छ ।

महानगरले २०८० को चैत १६ देखि गत असार ७ गतेसम्म महानगरभित्रका सहकारीहरूको अनुगमन गरेको थियो । अनुगमनपछि तयार पारिएको प्रतिवेदनका आधारमा उक्त सहकारीहरूमध्ये ६ वटा बचत तथा ऋण सहकारी संस्था र एउटा बहुउद्देश्य सहकारीमा कैफियत देखिएपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ ।

जसमा बचत तथा ऋण सहकारी संस्थातर्फ सुमेरु, स्क्वायर, रुरल डिभलेपमेन्ट, सत्कार, महाबौद्ध र नमो हारती रहेका छन् । यसैगरी थप एक आधारभूत बहुउद्देश्य सहकारी संस्था रहेको छ ।

बचत संकलन, संकलित रकम परिचानल, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरिएको महानगर सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

महानगर सहकारी नियमन महाशाखा प्रमुख एंव अनुगमन समितिका सदस्य सचिव सुशील सुवेदीले अनुगमनका क्रममा ३२ सहकारीलाई स्पष्टीकरणका लागि सोधिएको उनीहरूले सफाई पाइसकेको जनाए ।

काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गाम्भीर्यता हेरी अधिकतम पाँच लाख रुपैयाँसम्म जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा सरकाले २०७४ साउन १ मा निर्णय गरेको थियो । सोहीअनुसार महानगरमा हस्तान्तरण भएर आएका र नयाँ दर्ता भएका १ हना। ९२२ वटा सहकारी संस्था रहेका छन् ।

प्रकाशित : भाद्र २०, २०८१ १०:१३
x
×