कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

महानगरको छात्रवृत्ति विज्ञानमा कोटाभन्दा धेरै, अन्य समूहमा विद्यार्थी अपुग

विज्ञानमा कोटाभन्दा धेरै उत्तीर्ण विद्यार्थीले व्यवस्थापन, कानुन, मानविकी र शिक्षा विषयको रिक्त सिटमा भर्ना पाउने
सुदीप कैनी

काठमाडौँ — कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले लिएको परीक्षामा विज्ञान समूहतर्फ कोटाभन्दा चौबर बढी विद्यार्थी मेरिटमा परेका छन् । व्यवस्थापन, कानुन, मानविकी र शिक्षा समूहमा भने छात्रवृत्ति कोटाभन्दा कम विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

महानगरको छात्रवृत्ति विज्ञानमा कोटाभन्दा धेरै, अन्य समूहमा विद्यार्थी अपुग

महानगरले सोमबार सार्वजनिक गरेको छात्रवृत्ति परीक्षाको नतिजाअनुसार विज्ञानतर्फ १ हजार ७ सय ५७ कोटाका लागि ६ हजार ७ सय २० विद्यार्थी छात्रवृत्ति परीक्षामा उत्तीर्ण भएका छन् । विज्ञान समूहको परीक्षामा ७ हजार ६ सय ६५ विद्यार्थी सहभागी थिए । महानगरको शिक्षा विभागका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले व्यवस्थापनतर्फ २ हजार ४ सय ९३ कोटामा १ हजार ३ सय ८१ विद्यार्थी मात्रै छात्रवृत्तिका लागि लिइएको परीक्षामा उत्तीर्ण भएको जानकारी दिए । उनका अनुसार कानुनमा १ सय ३६ सिटका लागि ७३, शिक्षामा ७० सिटमा १५ र मानविकीमा १७३ सिटका लागि ८ जना मात्रै उत्तीर्ण भएका छन् ।

विज्ञानतर्फ करिब साढे ८ हजार, व्यवस्थापनमा २ हजार ५ सय, कानुनमा १५३, शिक्षामा ३७ र मानविकीमा १३ जनाको आवेदन परेको थियो । काठमाडौं महानगरपालिकाले सबै समूहमा गरी ४ हजार ६ सय २९ कोटामा छात्रवृत्ति उपलब्ध गराउन परीक्षा लिएको थियो । छात्रवृत्तिमा सामुदायिक विद्यालयबाट कक्षा १० पास गरेका विद्यार्थीलाई प्राथमिकता दिइएको थियो । परीक्षामा उत्तीर्ण विद्यार्थीलाई शिक्षण संस्थाको प्राथमिकता क्रमअनुसार ‘म्याचिङ’ गरेर भर्नाका लागि पठाइने विभागले जनाएको छ । निजी विद्यालयले भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थाअनुसार महानगरले एकीकृत परीक्षा लिएर विद्यार्थी छनोट गर्दै आएको छ ।

विज्ञानमा कोटा धेरै र अन्यमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि सिट खाली जान नदिन अन्तिम म्याचिङमा जुनसुकै विषयमा समेत योग्यताक्रमका आधारमा भर्ना हुन सक्ने व्यवस्था गरिएको शिक्षा अधिकारी शर्माले बताए । उक्त व्यवस्थाअनुसार विज्ञानमा कोटाभन्दा धेरै संख्यामा उत्तीर्ण भएका विद्यार्थीले छात्रवृत्ति कोटामा व्यवस्थापन, कानुन, शिक्षा र मानविकी संकायमा भर्ना पाउनेछन् ।

महानगर प्रमुख बालेन शाहका सचिवालय सदस्य सस्मित पोखरेलले कोटा खेर जान नदिन एउटा समूहमा उत्तीर्ण विद्यार्थीले अर्को समूहमा समेत भर्ना पाउने व्यवस्था गरिएको बताए । ‘शिक्षण संस्थाले उपलब्ध गराएको कोटा पूरा भएन भने एसईईको पूरक परीक्षाबाट आउने विद्यार्थीको समेत परीक्षा लिएर छात्रवृत्ति उपलब्ध गराउँछौं,’ उनले भने ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई साउन १३ सम्म भर्ना हुन शिक्षण संस्थालाई सिफारिस गरिने भएको छ । ‘छात्रवृत्ति वितरण परीक्षा र परीक्षार्थीले अनलाइनमार्फत छानेका शिक्षण संस्थाका योग्यता एवं प्राथमिकताका आधारमा भर्ना हुनका लागि परीक्षार्थीलाई साउन १३ मा शिक्षण संस्थाहरू सिफारिस गरिनेछ,’ महानगर प्रमुख शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘योग्यता एवं प्राथमिकताका आधारमा छात्रवृत्ति प्राप्त गर्न प्रतीक्षामा रहेका विद्यार्थीलाई छात्रवृत्ति कोटा खाली रहेका विद्यालयमा पुनः म्याचिङ गर्ने अवसर दिइनेछ । पुनः म्याचिङ गर्दा एउटा विषय समूहमा आवेदन दिएको परीक्षार्थीले अर्को विषय समूहमा पनि शिक्षण संस्था रोज्न पाउनेछ । पुनः म्याचिङ गर्ने समय पछि प्रकाशन गरिनेछ ।’

काठमाडौं महानगरले गत वर्षदेखि निजी विद्यालयले वितरण गर्नेमध्ये ८५ प्रतिशतभन्दा बढी छात्रवृत्ति सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई उपलब्ध गराउने व्यवस्था गरेको छ । कक्षा ११ मा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीलाई एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर योग्यता तथा क्षमताका आधारमा छात्रवृत्ति उपलब्ध गराउने कार्यविधि बनाइएको छ ।

महानगरपालिकाभित्र ३९० निजी विद्यालय सञ्चालनमा छन्, जसमध्ये १०४ वटामा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटामा मानविकी विषय अध्यापन हुन्छ ।

प्रकाशित : श्रावण १०, २०८१ ०५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×