कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विछोडको कथा, पलायनको गीत

नाच्न मिल्ने दुःखको गीत कहिले बन्छ होला ? बन्छ भने त्यो गीत कस्तो हुन्छ होला ? सायद ‘असारे महिना’ त्यस्तै गीत हो, जसले नेपालीहरूले भोगिरहेको युगौंको पीडा बोलिदियो ।
छुदेन काविमो

विरहको एउटा गीत, जसलाई सुनेर मान्छेले दुःखमा मन बहलाउन सकोस् र फेरि त्यही गीत सुनेर सुखमा मुस्कुराउने आँट पनि गर्न सकोस् । पीडामा एक्लै गुनगुनाउन मिल्ने र उत्सवमा सँगसँगै नाच्न सकिने । दुइटै कथाको पाटोमा ठ्याक्क अटाइदिने, यस्तो संगीत कहिले हुन्छ होला ? नाच्न मिल्ने दुःखको गीत पनि कहिले बन्छ होला ? बन्छ भने त्यो गीत कस्तो हुन्छ होला ?

विछोडको कथा, पलायनको गीत

कहिलेकाहीं लाग्छ, त्यो गीत ठ्याक्कै छुजाङ डुक्पाको ‘असारे महिना’– जस्तै हुन्छ होला !

हो, असारे महिना– त्यही गीत हो, जसले नेपालीहरूले भोगिरहेको युगौंको पीडा सत्तरीको दशकमा बोलिदियो । पलायनको कथा भनिदियो । नेपाली संगीतमा एउटा नयाँ तरंग थपिदियो । दर्शकहरूबीच उधुम मच्चाइदिने त्यही गीत सुनेपछि हरकोहीले सोच्न थाले, ‘यो गीतले त मेरो पनि कथा भनिदिएको छ ।’

आम मान्छेको दुःखको कथा बोल्न सक्ने यही एउटा गीत थियो, जसले हरेक नेपालीलाई रुँदै हाँस्ने बनाइदियो । दुःखमा पनि जोकोहीलाई छमछम नाच्न सिकाइदियो । यो त्यही एउटा गीत थियो, जसले नेपालतिर नामै नसुनेका छुजाङ डुक्पालाई रातारात प्रसिद्धीको शिखरमा पुर्‍याइदियो । एउटा यस्तो अजम्बरी गीतका गायक बनाइदियो, जसको स्वर त्यतिञ्जेलसम्म गुन्जिरहने छ, जतिञ्जेलसम्म नेपालीले आफ्नो परिवारकै निम्ति परिवार छोडेर हिँडिरहनुपर्नेछ । घर राम्रो बनाउनकै निम्ति आफ्नो घर छोडेर विदेशिनु परिरहनेछ । एउटा सुखद सपनाका निम्ति पलायन भएर बिरानो मुलुकमा भौंतारिरहनुपर्नेछ ।

असारे महिना, उतिबेला बनाइएको गीत थियो, जतिबेला कालेबुङको सांगीतिक माहोल खुब झ्याँगिँदै थियो । त्यो सत्तरीको दशकको कुरा हो । जतिबेला कालेबुङमा कीरा कान्छादेखि संगीता सुब्बासम्म, मदुसुधुन लामादेखि राहुल उपासकसम्म जन्मिसकेका थिए । लोक स्वादका गीतहरू धेरै बनिने कालेबुङको सांगीतिक माहोल ह्वात्तै तातिएर गएको थियो, जुनबेला अम्बर गुरुङसमेत कालेबुङमै थिए– डा. ग्राह्म होम्समा संगीत पढाउँथे, टाउन हलतिर कार्यक्रम गर्दै हिँड्थे । नेपालबाट नारायण गोपाल र गोपाल योञ्जनहरू आइपुग्थे, कुमुदिनीको धर्म हलमा मीतज्यू नाइट गर्थे, जसलाई हेर्न मान्छे टिस्टादेखि ट्रकमा चढेर कालेबुङ आइपुग्थे । पारिजातसँग राल्फाली टोली घरिघरि आएर गाइरहन्थे, ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू, हाम्रा गीतहरू ।’

साँच्चै हाम्रा गीतहरू कस्तो हुनुपर्छ ?

सांगीतिक उथुलपुथुल मच्चिरहेको समयबीच नै चुपचाप गीत बनाइरहेका तुलसी गजमेरले जब यही प्रश्न समाएर ‘असारे महिना’ लेखे, तब छुजाङ डुक्पाले उडानको नयाँ पखेटा भेटे ।

छुजाङ डुक्पा सुरु–सुरुमा गोपाल योञ्जनको गीत गाउँदै हिँड्थे । उनको स्वर राम्रो थियो । तर, ‘ट्युनिङमा मिस्टेक’ गर्थे । उनको त्यही गल्ती सम्हाल्न गायक अशोक राई आइपुगे । उनले छुजाङलाई पहिलोचोटि ठूलो ‘स्टेज’ मा चढाए । कुमुदिनीको धर्म हलमा कर्म योञ्जनकै सामुन्ने गाउन लगाए ।

‘स्टेज’ तताउन सिकिसकेका छुजाङले जब ‘असारे महिना’ गाउन थाले, रेकर्डिङ नै नगरी उनी हिट गायक बने । पहाडको हरेक कुनाकाप्चामा ‘असारे महिना’ गुञ्जिन थाल्यो । देउसी–भैलोमा यही गीत सुनिन थाल्यो । पूजा–पर्वमा यही गीत गाइन लाग्यो । त्यही भएर होला, हिजोसम्म कसैले नचिन्ने छुजाङ हेर्दाहेर्दै कालेबुङका नामी गायक बन्न पुगे । ठाउँ–ठाउँमा उनलाई ‘असारे महिना’ गाउन मात्रै बोलाइन थालियो । उनी सिक्किम, दार्जिलिङ, असमदेखि काँकडभित्तासम्म कार्यक्रम गर्न पुग्न थाले । आफूले गाएको गीत गाउँघरतिर हिट भएकै बेला हो, उनको भेट गुम्बाहट्टाकी उमा छेत्रीसँग भयो । उनी प्रेममा परे । चिठी लेखालेख गर्न थाले । मौका पाए कि, चिया दोकानतिर भेट गर्न थाले । त्यही भेट, त्यही प्रेम पछि विवाहमा बदलियो ।

अब दुवैको बाटो एक भयो । उमा गीत लेख्थिन् । छुजाङ त्यसैमा स्वर दिन्थे । जब छुजाङ पेन्टिङ बनाउन बस्थे, उमा रङ भर्न आइपुग्थिन् । बिस्तारै छुजाङको जीवन अझ धेरै रंगीन बन्दै गयो । त्यही रंगीन समयबीच नै हो, उमाले रातो–कालो धर्के टोपी मायाले सिलाइदिइन्, छुजाङ त्यही टोपी लगाएर सन् १९७७ तिर नेपालको सांगीतिक भ्रमणमा निस्किए ।

त्यो बागिनाको टोली थियो, जहाँ छुजाङसँग ‘असारे महिना’ का शब्दकार तुलसी गजमेर, अशोक राई, गायिका संगीता सुब्बा, निलामणि राई, योगेन्द्र घतानी, कमल उपासक र उत्तम खड्काहरू पनि थिए । बीस जनाभन्दा धेरैको टोलीले एकमहिने लामो नेपालको सांगीतिक भ्रमण गर्दै थियो । त्यहीं नेपालका प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ र कुमार बस्नेतहरू पनि जोडिए ।

मेची तर्नासाथ सांगीतिक कार्यक्रम सुरु भयो । भद्रपुर, धरान, विराटनगर हुँदै काठमाडौं पुग्न झन्डै महिना दिन लाग्यो । नेपालको हरेक कार्यक्रममा छुजाङ सबैभन्दा पहिले स्टेज उक्लन्थे र गाउँन थाल्थे–

‘असारे महिनामा,

पानी पर्‍यो रुझाउने,

एक्लो यो मेरो मन कसरी बुझाउने ?’

गीत सुनेर मान्छे भावुक भइहाल्थे । त्यही गीत गाउँदै गाउँदै जब टोली काठमाडौं पुग्यो, तब बल्ल ‘असारे महिना’ रेकर्ड गर्ने संयोग जुर्‍यो । गायक अशोक राईको जन्मथलो दार्जिलिङ भोटे बस्ती नजिक थियो । उनको आमाको घर र गोपाल योञ्जनको घर सँगसँगै थियो । कर्म योञ्जन र उनी एक दिनको अघिपछि मात्रै जन्मिएका थिए । त्यसैले उनीहरू ‘तँ तँ–म म’ गर्दै बोल्थे । गोपाल योञ्जनको त्यही सामीप्यको कारण हो, रेडियो नेपाल पुग्न छुजाङलाई सहज भयो । गाउँदै हिँडेको वर्षौंपछि उनले पहिलोचोटि ‘असारे महिना’ रेकर्डिङ गरे ।

गीतको कोरस दिन निलामणि राई र संगीता सुब्बा पनि रेडियो नेपाल पुगेकी थिइन् । तर, कोरस अझै पुगेन । अब के गर्ने होला ? सोधखोज गर्दा बुझियो, गायिका अरुणा लामा र तारा थापा पनि गीत रेकर्ड गर्न आउँदैछिन् । त्यसपछि के चाहिन्थ्यो र ? टोलीले सहयोगको स्वर मागिहाल्यो । अरुणा लामाले नाइँ नास्ति गरिनन्, सोध्नासाथ तयार भइहालिन् । केहीबेर रिहर्सल गरिन् र ‘असारे महिना’ मा कोरस दिन आइपुगिन् ।

अरुणा लामासँग उभिएर गाउन पाउँदा निलामणि राई दंग परिन्– न ढोङ छ, न अहंकार छ । ठूलो कलाकार बन्नलाई ठूलै मन चाहिने रहेछ । गीत रेकर्ड गरेपश्चात् रेडियो नेपालले गायकलाई नेपाली पच्चीस रुपैयाँ र अरूलाई सात सात रुपैयाँ दियो । त्यही पैसा गोजीमा लिएर कलाकारहरू साँझपख होटल फर्किए ।

त्यो दिन रेडियो नेपालमा ‘असारे महिना’ सँगै अरू चार गीत पनि रेकर्ड भएको थियो । तर, क्यासेटधरि नभएको जमानामा ‘असारे महिना’ यसरी हिट भइदियो, जसरी अचेल कोही सामाजिक सञ्जालमा भाइरल भइदिन्छ । यही एउटा गीत थियो, जसले छुजाङ डुक्पालाई हरेक नेपाली मनसम्म पुर्‍याइदियो । रेडियो नेपालमा अब असारे महिना–हर दिन बज्न थाल्यो । त्यही भएर हरेक नेपालीको घरघरमा यही गीत गुन्जिन थाल्यो । खेतका आली–आलीमा विरहको यही गीत घन्किन थाल्यो । पल्टने चढेर हिँडेका गाडीका हुटहुटमा यही गीतको सुसेली सुनिन थाल्यो ।

संगीतले जोडेर राखेका हरनेपालीको मुटुमा यही गीत धड्किन लाग्यो । छुजाङको जन्म दार्जिलिङको घुम जोरबङ्लो नजिक भएको हो । त्यो छ डिसम्बर सन् १९५५ को कुरा थियो ।

उनको परिवार ठीकठाक थियो । बाउ ‘कस्टम अफिस’मा काम गर्थे । त्यसैले चारतिर घुमिरहन्थे । तर, उनी बेपरवाह थिए । परिवारको चिन्ता खासै गर्दैन थिए । हातमा नोकरी थियो । रक्सी पिएर झुलिरहन्थे । त्यहीभएर होला, छुजाङको बाल्यकाल खासै सुखद रहेन । छुजाङका दाजुभाइ जम्मा एघार जना थिए । तीमध्ये तीन जनालाई त सानैमा रोगले लगिसकेको थियो ।

छुजाङ आफैं पनि एकदम रोगी थिए, जहिले खोकिरहन्थे । काँतर कस्तो थिए भने एक्लै हिँड्दा रुखको पत्कर झरे, तर्सिएर भागिदिन्थे । त्यसैले आमा सुर्ताइरहन्थिन्, ‘यो पनि मर्छ होला हौ ।’ छुजाङका भाइ दावा डुक्पा अहिले पनि सम्झिरहन्छन्, ‘आमा अलि कमजोर भएको भए हाम्रो जीवन पनि बरबाद हुने थियो ।’

आमाले घर सम्हालिरहिन् । तैपनि नानीहरूले भनेजस्तो जीवन पाएनन् । राम्ररी पढ्ने अवसरै पाएनन् । छुजाङले दार्जिलिङको कंग्रेस स्कुलमा चार क्लाससम्म पढे । त्यसपछि बाउको ‘पोस्टिङ’ जताजता हुन्छ, उतैउतै चहारिरहे । त्यही घुमाइबीच नै उनको स्कुल पढ्ने सपना टुट्यो । हातबाट बाल्यकाल छुट्यो । जब घुमेर कालेबुङ आइपुगे तब बल्ल उनले ‘एसयूएमआई’को रात्री स्कुल पढ्न पाए ।

कालेबुङ आइपुगेपछि नै छुजाङको जीवन बदलियो । बिस्तारै उनी कालेबुङकै हावापानीमा मिसिँदै गए । उनले आफैंलाई जति नै कालेबुङलाई प्रेम गर्न थाले । त्यही भएर नै होला, कालेबुङले पनि उनलाई सबथोक दियो– नयाँ जीवन दियो, संगीत सिक्ने माहोल दियो, पेट पाल्ने रोजगार दियो, संगीत सिक्ने गुरु दियो, गाउन पाइने स्टेज दियो, सबैभन्दा ठूलो कुरा ‘असारे महिना’ जस्तो सदाबहार गीत दियो ।

छुजाङलाई सानैदेखि गाउन खुब मनपर्थ्यो, नाटक खेल्न मनपर्थ्यो । तर, त्योबेला स्टेज पाउनै गाह्रो थियो । यस्तो बेला नेपाली अध्ययन समिति कालेबुङले विराट सांगीतिक प्रतियोगिता आयोजन गर्थ्यो । त्यो कार्यक्रम यति भव्य हुन्थ्यो, कहिलेकाहीं त राम्रो गायकले पनि रातको दुई बजे मात्रै गाउन पाउँथे । यसबाहेक कुमुदिनी होम्सले २४ मईमा अर्को कार्यक्रम गर्थ्यो । यही दुईवटा कार्यक्रम थियो, जसले छुजाङलाई पनि स्टेज दियो, कला देखाउने अवसर दियो । जुन कला देखेर गायक अशोक राई दंग भए । र, छुजाङलाई सँगसँगै डोर्‍याउन थाले ।

अशोक राई चर्चित गायक थिए । साठीकै दशकमा उनको गीत हिट भइसकेको थियो । सन् १९६७ मा जब उनी कुमुदिनी होम्सका शिक्षक बनेर कालेबुङ आए, संगीत सिक्न चाहने नयाँ पीडिले एउटा नयाँ अवसर भेट्टाए । तर, अशोक राई गायक मात्रै थिएनन्, शिक्षक पनि थिए, राजनीति गर्थे । कम्युनिस्ट पार्टीमा दगुरिहिँड्थे । उनी ‘अल बंगाल प्राइमेरी टिचर्स एसोसिएसन’का संस्थापक पनि थिए ।

त्यहीभएर अशोक कम्युनिस्टहरूको कार्यक्रममा जहाँ जहाँ पुग्थे, जागरण गीत गाउन छुजाङलाई पनि सँगै लिएर हिँड्थे । कम्युनिस्टहरूको गीत गाउँदै हिँड्दा हिँड्दै छुजाङलाई पनि धेरैले कम्युनिस्ट नै सोच्न थालिसकेका थिए । यस्तो बेला दार्जिलिङको राजनीति बदलियो । पहाडमा गोर्खाल्यान्ड आन्दोलन सुरु भयो । त्यो आन्दोलन हिंसात्मक थियो, जहाँ नारा नै दिइएको थियो– ‘बाटोमा कम्युनिस्ट र साँप एकैसाथ भेटे, पहिले कसलाई हिर्काउने ?’

स्वाभाविक रूपमा जवाफ आउँथ्यो, ‘कम्युनिस्ट’ लाई ।

त्यहीभएर हो, पहाडबाट खोजी–खोजी कम्युनिस्टहरूलाई लखेट्न थालियो । ‘कि सेरेन्डर गर, होइन भने पहाड छोड’– गोरामुमोले रातो पार्टीको जरै उखाल्ने अभियान सुरु गर्‍यो । त्यही आक्रोशको रापमा हेर्दाहेर्दै गायक अशोक राई पनि परे । उनलाई सामाजिक बहिष्कार गरियो । त्यसैले उनी पहाड छोडेर भागे । तर, त्यतिले मात्रै पुगेन, उनी बस्ने कालेबुङको घर पनि जलाइदिए । सन्त्रासको माहोलबीच छुजाङ फेरि एक्लो भए । न डोर्‍याउने मान्छे छ, न गाउने साथी–भाइ छ, छुजाङले तर्सिंदै दिन गन्न थाले । ठीक त्यही बेला नयाँ हल्ला आयो, ‘छुजाङ पनि कम्युनिस्टकै मान्छे हो । त्यसले चैं पार्टीमा सेरेन्डर गर्नु पर्दैन त ?’ सुनेर उनको होस गायब भयो ।

खासमा छुजाङ त गायक मात्र थिए । उनलाई न पार्टीको सरोकार थियो, न झन्डाको दरकार थियो । तर, आन्दोलनकारीलाई यी सब कुराको कहाँ सरोकार थियो र ? उनलाई हठात् एकदिन गुम्बाहट्टाबाटै उठाएर लगियो । खाम्दोङमा भइरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को बैठकमा राखियो र कसम खुवाइयो, ‘अब जीवनभर कम्युनिस्ट गीत गाउने होइन । कमरेडहरूको संगत सधैंका लागि छोड्ने हो । अब त जातिको हितमा मात्रै गीत गाउँदै हिँड्ने हो । बुझ्यौ नि ?’

उनले कुरा बुझे । माटोको कसम खाए । त्यसपछि कम्युनिस्ट गीत छाडेर भटाभट जातीय उन्मुक्तिको गीत गाउन थाले । त्यतिले मात्रै पुगेन । उनी पेन्टर पनि त थिए । थाकका थाक गोरामुमोको हरियो झन्डा पनि बनाउन थाले । हजारौं हरियो झन्डामा तारा र खुकुरीको नक्सा बनाइसकेपछि मात्र हो, छुजाङले बल्ल सञ्चोको श्वास फेरे, जतिबेला आन्दोलन सम्झौतामा गइसकेको थियो ।

आन्दोलन पछि तर, छुजाङ सुवास घिसिङका प्रिय गायक बने । कारण त्यही एउटै गीत थियो, ‘असारे महिनामा’ । पल्टनेको कथा बोल्ने त्यो गीतले घिसिङलाई नछुने कुरै थिएन । किनकि घिसिङ आफैं पनि पल्टनबाट फर्किएका जवान जो थिए । पलायनको पीडा उनको छातीमा पनि त आलै थियो । त्यही गीतले गर्दा हो, छुजाङ फेरि एकचोटि घिसिङको नजरमा परे ।

त्यही भएर हो, छुजाङलाई घिसिङले ठाउँ–ठाउँमा कार्यक्रम गर्न बोलाइरहे । सन् २००० तिर दार्जिलिङ गोर्खा पार्वत्य परिषद्द्वारा कालेबुङमा सांस्कृतिक विभाग खोलियो, जहाँ ए ग्रेडका गायकका रूपमा छुजाङलाई नियुक्ति दिइयो । बल्ल उनी दागोपापका कर्मचारी भए ।

त्यो बेला छुजाङसँगै शर्मिला वाइबा, नवीन सिंह, थुप्देन भोटिया र गिटारिस्ट भूपेन्द्र किशोर शर्माहरूले पनि काम पाएका थिए । रोजगार मिलेपछि बिस्तारै छुजाङको पनि दिन बदलियो, जीवन बदलियो । जुन संगीत उनका निम्ति सोखको कुरा मात्रै थियो, अब जीविकाको कुरा पनि बनेको थियो । छुजाङ सांस्कृतिक विभागबाटै हर्षको गीत गाउँदै हिँड्न थाले ।

संगीतलाई लिएर छुजाङ अलि कडा स्वभावका थिए । कहिलेकाहीं रिहर्सल गर्न आउनेहरूका निम्ति पनि उनी हाजिरी उठाउँथे । त्यहीभएर आफ्नै सहकर्मीहरूसँग पनि उनको ठाकठाक ठुकठुक परिहाल्थ्यो । ‘कोही तलतल गाउँबस्तीबाट आइरहेको हुन्छ । अलिकति ढिलो त भइहाल्छ नि !’ साथीहरू भन्थे । तर, उनलाई लाग्थ्यो, ‘यो जागिरभन्दा धेरै जिम्मेवारी पनि हो । संगीतसँगै हामीले विभागलाई पनि बचाउनुपर्छ । माथि राम्रो रिपोर्ट पुर्‍याउनु पर्दैन त ?’

उनको जीवनमा अर्को भागदौड सुरु भएको थियो । त्यही कसरतबीच नै उनलाई छिट्टै किड्नीको रोगले समातिहाल्यो । उनी दिनदिनै बिसञ्चो हुँदै जान थाले । ‘छुजाङ डुक्पासँग

काम गर्नुको मज्जा नै अर्कै थियो । रेडियोमा सुनेको चर्चित गायकसँग गाउँदै हिँड्न पाउँदा कम मज्जा का आउँथ्यो र ?’ आज पनि छुजाङलाई सम्झिँदै उनकै ‘असारे महिना’ गाउँदै हिँड्ने गायक नवीन सिंहलाई लागिरहन्छ, ‘एउटै गीतको कारण अजम्बरी बन्न सक्ने गायक मैले छुजाङ डुक्पाबाहेक अरू देखेको छैन ।’

छुजाङलाई पेन्टिङको पनि खुब सोख थियो ।

कालेबुङ आएपछि नै उनको भेट भक्त परियारसँग भयो । उनीसँगै लामो समय चित्रकारिता सिके । त्यसपछि पेन्टिङ गरेरै आधा जीवन चलाए । उनी ‘टिबेटियन पेन्टिङ’ गर्थे । कहिले चरिरहेको चौंरी बनाउँथे । कहिले माला जपिरहेको लामा बनाउँथे । कहिले कुण्डल लगाएका ‘टिबिटियन’ युवाहरूको नक्सा बनाउँथे । र, ‘आर्ट इम्पिरियम वा ब्युटी प्यालेस’तिर लगेर बुझाउँथे । त्यहाँबाट जति कमाइ हुन्थ्यो, ९० को दशकसम्म त्यसैबाट घर चलाउँथे ।

पेन्टिङ गर्‍यो, हारमोनियम बजाउँदै गीत गायो । त्यो बेला उनको दैनिकी यसरी नै बित्थ्यो । अवसर पायो कि ‘एन्टिक’ सामानहरू बटुल्न निस्किन्थे । हरेक ठाउँ गाउन पुग्दा उनी केही न केही पुराना थोक लिएरै घर आइपुग्थे ।

छुजाङ सरल थिए । निकै कम बोल्थे । थोरै पिउँथे । भन्थे, ‘गायकको जातै यस्तो हो । अलिकति पिउनु त परिहाल्यो नि । मुड बनाउनु परेन त ?’ तर, कहिलेकहीं मुड बनाउँदा बनाउँदै अलि धेरै पिई पठाउँथे । धरखरिने भइहाल्थे । जब धरखरिएर हिँड्दा पनि अरूले देख्छ कि भन्ने डर हुन्थ्यो, तब चुपचाप शिरको टोपी खोल्थे र कोटको गोजीमा लगाएर दाहिने देब्रे गर्दै घरतिर लाग्थे ।

उनलाई लाग्थ्यो होला, शिरको धर्के टोपी नै मेरो पहिचान हो । टाउकोमा टोपी छैन भने मलाई कसैले चिन्ने छैन ।

छुजाङले दर्जनौं गीत गाए, तर उनलाई चिनाउन ‘असारे महिना’ नै काफी बन्यो । त्यही गीतलाई पछि प्रशान्त तामाङले पनि ‘रिमिक्स’ गरे । जब प्रशान्त तामाङले ‘इन्डियन आयडल’ जिते, नयाँ क्यासेटमा ‘असारे महिना’ लाई ‘रिमिक्स’ गरेर राख्ने अनुमति मागे । छुजाङले नाइँनास्ति नगरी अनुमति दिइहाले । त्यसैले प्रशान्तले खबर पठाए, ‘तपाईंलाई म केही गिफ्ट गर्न चाहन्छु । भन्नुस् के दिन सक्छु ?’

उनले एउटा मोबाइल फोन गिफ्टमा पाए । प्रशान्तले फेरि एकचोटि ‘असारे महिना’ गाए । ‘तर, कहिलेकाहीं कुराहरू उल्टा भइदिने रहेछ,’ छुजाङकी छोरी निलिमा डुक्पा कहिलेकाहीं गुनासो गर्छिन्, ‘बाबाले चुपचाप गीत गाउन दिइहाले । तर, त्यो गीत गाएपछि धेरैले असली गायकको नामै बिर्सिंदै गए । धेरैले असारे महिनालाई प्रशान्तकै गीत सम्झिन थाले । नयाँ पिढीले मूल गायकलाई नै बिर्सिनु विडम्बना होइन र ?’

छुजाङले लामो जीवन बाँच्नै पाएनन् । संघर्षमा नै आधा जीवन बिताए । पेन्टिङ र गायनको तालमेल मिलाउँदा मिलाउँदै उनले जीवनको लय हराइपठाए । मात्रै ५४ वर्षको उमेरमा उनले धर्ती छोडे ।

जब छुजाङ बिते, उनकी पत्नी उमा फेरि त्यही ‘असारे महिना’ की मैच्याङ झैं एक्ली भइन् । रुँदै आफैंसँग प्रश्न सोध्ने भइन् । त्यहीभएर, उनले छुजाङका सम्झनासँग जोडिएका हरथोकसँग नफरत गर्न थालिन् । छुजाङले खाने परिकार घरमा पकाइनै छाड्यो । छुजाङले बजाउने हारमोनियम धरि कुखुराको खोरमुनि हुर्‍याइदिइन् । र, हरदिन आफैंसँग सोधिरहन थालिन्, ‘एक्लो यो मेरो मन, कसरी बुझाउने ?’

त्यही गीतको हरफ सम्झिँदा सम्झिँदै उनी आफैं पनि कथा भइन् । छुजाङलाई पछ्याउँदै पछ्याउँदै उनी आफैं पनि खहरे खोला झैं कहिले नफर्किने गरी बगेर गइन् ।

प्रकाशित : श्रावण ५, २०८१ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×