कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अचेल कहाँ हराइरहेका छन् बच्चाहरू ?

यसरी बच्चाहरू हराउनु नपर्ने हो 
तर, कहाँ हराइरहेका छन् बच्चाहरू ?

अचेल कहाँ हराइरहेका छन् बच्चाहरू ?

बच्चाहरू त–

कर्कलाको पातको छाता ओढेर विद्यालय गइरहेका,

कागजको डुङ्गा बनाएर कुलेसोमा कुदाइरहेका,

कागजकै रकेटमा संसार सयर गरिरहेका,

हिलो बाटोमा/माटोमा चिप्लेटी खेल्दै रमाइरहेका,

ढुङ्गाको भव्य महल/बालुवाको दरबार बनाइरहेका,

खोलाको गीत सुन्दै नाचिरहेका,

आकाशको जून हेर्दै डुबिरहेका,

ताराहरुसाग वार्तालापमा मस्त भइरहेका,

झरना र चराको गीत सुनेर ध्यानस्थ बसिरहेका,

गट्टा/ लुकिडुम/रूमाल–लुकाइ/ ढ्याप्पा

चङ्गा र लट्टाइमा हराइरहेका हुनुपर्ने ।

बच्चाहरू अचेल कहाँ हराइरहेका छन् ?


रंगहरूले नरंगिएका बच्चाहरू,

विचारहरूमा पौडन जानी नसकेका बच्चाहरू,

आफ्नै अनुहारको प्रतिबिम्ब थाहा नपाएका,

अरुको अनुहार ठ्याक्कै नचिन्ने बच्चाहरू,

दिदीको हात समाएर विद्यालय जानुपर्ने,

फर्केपछि विद्यालयबाट

आमा–बाबाको गालामा म्वाइँ खानुपर्ने बच्चाहरू,

हजुरआमाको दन्त्य कथा/काखमा

हजुरबाको घोडचढी/काँधमा उक्लिएर

संसार जितेझैं ठान्ने बच्चाहरू

अचेल कहाँ हराइरहेका छन् ?


उनीहरू अचेल डेन्जर जोनमा छन्

उज्यालो–अँध्यारो जस्तो/आध्यारो–उज्यालो जस्तो गरी

बच्चाहरू हराइरहेका छन्

कुनै मोड घुम्तीहरूमा छेलिएझैं भएर

बच्चाहरू हराइरहेका छन्

बलेंसीमा उठ्दै र फुट्दै गरेका पानीका फोकाहरू जस्तै भएर

बच्चाहरू हराइरहेका छन्

लामपुच्छ्रे तारा आकाशमा हराएजस्तै गरी

बच्चाहरू हराइरहेका छन्

ग्याजेटमा टाइमर राखेर स्क्रिन अन गरेजसरी

बच्चाहरू हराइरहेका छन्


कहाँ–कहाँ/कता–कता

नहराएको जस्तो गरी बच्चाहरू हराइरहेका छन्


यसरी सुस्तरी/सुस्तरी/सुस्तरी

मौनता बोकी घरबाट बच्चाहरू हराएजस्तै

एकदिन चुपचाप/चुपचाप/चुपचापमै

देशबाट देश हराउने छ

भन्नुस्, देश खोज्ने जिम्मा कसले लिन्छ ?

प्रकाशित : असार १५, २०८१ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×