कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘आफूलाई आफैं भएर मात्रै चिन्न सकिन्छ’

‘हामीले जुन जीवनलाई यथार्थको जीवन भनेर बाँचिरहेका हुन्छौं, त्यसमा आधाभन्दा बढी जीवन त कल्पनामै बितिरहेको हुन्छ ।’
दीपक सापकोटा

लेखक सरस्वती प्रतीक्षाको नयाँ उपन्यास ‘स्व’ प्रकाशित छ । किताबमा मान्छेका तनाव र बेचैन हृदयका कथा छन् ।

‘आफूलाई आफैं भएर मात्रै चिन्न सकिन्छ’

उपन्यासकार मान्छेहरूलाई सोध्छिन्– के तपाईंले जीवनमा ‘स्व’ भेट्नुभयो ? ‘स्व’ खोजको विषयमा प्रतीक्षासँग दीपक सापकोटाको वार्ता :

‘स्व’ पढेपछि लाग्छ, पहिलो उपन्यास ‘नथिया’ को सामाजिक परिवेशबाट तपाईंको लेखनी दर्शन र अध्यात्मतिर सर्लक्कै सरेको छ । बाटो फेर्ने यो लेखकीय यात्राको कारण के हो ?

सामाजिक विषयवस्तुमा लेखिएको उपन्यास अत्यधिक मन पराएका पाठकले सोही स्वादको अर्को उपन्यास पर्खनु स्वाभाविक थियो । हरेक लेखकको नयाँ किताब नयाँ नै हुन्छ भन्ने हुँदैन, धेरैजसो त आफ्नै पुरानो किताबको पुनरावृत्ति मात्रै हुन्छ भन्ने कुराले मलाई हरपल झस्काइरहन्थ्यो । नयाँ किताबमा केही न केही नयाँपन महसुस गरून् पाठकले भन्ने ध्येय थियो । यसैले पनि मैले फरक विषयवस्तु र फरक स्वादको किताब लेख्ने प्रयास गरेकी हुँ ।

मेरो रुचि दर्शनमा र स्वभाव आध्यात्मिक छ । त्यसैले रुचि, स्वभाव र रुझानजन्य किताब लेखेकी हुँ । खासमा लेखन यात्रामा बाटो फेरेको होइन, बाटो हिँड्दै गर्दा देखिने परिदृश्यहरू फेरेकी हुँ । यो वा त्यो रूपमा ‘नथिया’ की सामलीको यात्रा पनि स्वोन्मुख यात्रा नै थियो । ‘स्व’ मा सप्तमको यात्रा पनि स्वोन्मुख नै छ । ‘नथिया’ जीवनको सामाजिक यात्रा हो भने ‘स्व’ जीवनको अन्तर्यात्रा । दुवै जीवनका यात्रा हुन् ।

समसामयिकता र दर्शनलाई एकसाथ अन्तरघुलन गरेर उपन्यास लेख्नु जटिल विषय हो । यो जटिलतालाई पार गर्न कसरी अघि बढ्नुभयो ?

समसामयिकता र दर्शनलाई एकसाथ अन्तरघुलन गरेर उपन्यास लेख्नु चुनौतीपूर्ण हो, उत्तिकै रोमाञ्चक पनि । सलल्ल बग्ने कथालाई कथाको लय भंग हुन नदिई पात्रहरूलाई दर्शनको यात्रामा हिँडाउनु गाह्रो काम त हो नै, तर असम्भव होइन । उपन्यासमा मैले उठाउन खोजेको दार्शनिक प्रश्नबारे म स्पष्ट थिएँ, अर्कोतिर मसित एउटा मुख्य कथा र सातवटा उपकथा थिए । यी दुवैलाई एकसाथ मिलाउँदा जुन रंग निस्कियो, त्यो रंग नै ‘स्व’ को रंग हो । यी दुवैलाई एकसाथ मिलाउँदा जुन स्वाद निस्कियो, त्यो स्वाद नै ‘स्व’ को स्वाद हो ।

हिमाल आरोहीहरू सगरमाथाबाट ओर्लनु सगरमाथा चढ्नु जत्तिकै चुनौतीपूर्ण हुन्छ भन्छन् । साहित्यमा पनि कल्पनाको उडान भर्नु जत्ति जटिल कार्य हो, उक्त उडानको सुरक्षित अवतरण उत्तिकै जटिल र जोखिमपूर्ण कुरा हो । यसका लागि मलाई म्याजिकल रियालिजमले सघायो । हुन त साहित्यिक अवधारणा, वाद र सिद्घान्तहरू साहित्यभन्दा पछिपछि हिँड्छन् भनिन्छ, तर कहिलेकाहीं यी अवधारणा, वाद र सिद्घान्तको आविष्कारले साहित्यकारको यात्रालाई निकै सहज बनाइदिन्छ । यस अर्थमा म्याजिकल रियालिजमले मेरो लेखनलाई सजिलो बनाइदिएको सत्य हो ।

‘स्व’ को मुख्य पात्र पुरुष हो र सहायक पात्र महिला । ‘स्व’ को खोजमा पुरुष अगाडि छ र महिलाको अनिर्णीत भावदशामा उपन्यास टुंगिन्छ । जबकि, महिला पात्रलाई मोक्षको अधिकारी बनाउने अवसर पनि तपाईंसँग थियो । कल्पनामा पनि किन पुरुषकै पक्षपोषण ?

सरसर्ती हेर्दा ‘स्व’ को मुख्य पात्र पुरुष हो र महिला सहायक पात्र तर ‘स्व’ को बलियो पात्र महिला हो र कमजोर पात्र पुरुष । दुवै प्रेममा छन्, तर सप्तम काव्यामाथि पूरै आश्रित छ । काव्या भने सप्तममाथि आश्रित छैन । सप्तममा काव्यालाई गुमाउनुको डर हाबी छ र त्यही डरको कारण ऊ ससाना कुरामा झगडा गरिबस्छ । अर्कोतिर काव्या प्रेम र स्वतन्त्रतामध्ये कुनै एउटा छान्नु परेको दिन म स्वतन्त्रता छान्नेछु भन्छे ठाडै । ऊ निकै शान्त, गम्भीर र बुज्झकी छे । सप्तम मात्र होइन, ‘स्व’ का अधिकांश पुरुष पात्र कमजोर छन्, अधैर्य छन्, कतै छटपटीमा छन्, कतै हिंस्रक । कोही त समाजले लगाएको आरोपबीच आफ्नो मानसिक विचलन थेग्न नसकेर आत्महत्यासमेत गर्छन । यो त काल्पनिक संसारको कुरा भयो । वास्तविक संसारमा पनि तथ्यांक अनुसार महिलाभन्दा बढी पुरुषहरू मुटु रोगको सिकार छन् । आत्महत्या बढी पुरुषहरू नै गर्छन् । छोटो आयु पनि पुरुषकै हुन्छ । जब यो वा त्यो कारणले पुरुष एकल हुन्छ, ऊ तुरुन्त असहाय भएर सहारा खोज्न सुरु गर्छ । जबकि त्यही परिस्थितिमा एउटी महिला छ भने ऊ एक्लै संघर्ष गरेर आफ्नो नूतन अस्तित्व खडा गर्न सक्छे ।

‘स्व’ ले गर्न खोजेको अर्को मौलिक प्रश्न हो– ‘हर युगमा पुरुषको सोच र खोजको मूल्य किन स्वास्नीमान्छेले नै चुकाउनुपर्छ ? के स्वास्नीमान्छेको स्व हुँदैन ? के स्वास्नीमान्छेको स्वको कुनै मूल्य हुँदैन ?’ यो वास्तविकतालाई जस्ताको तस्तै देखाउन पनि ‘स्व’ मा मुख्य पात्र पुरुष बनाइएको हो ।

नेपालको सामाजिक, सांस्कृतिक र आध्यात्मिक पृष्ठभूमिमा ‘स्व’ का पात्रहरू मज्जैले भिजेका छन् । यति हुँदाहुँदै स्वैरकाल्पनिक जगत्को निर्माण गरेर मध्यान्तरपछि बोधको यात्रालाई बढाउने काम गर्नुभएको छ । यो रचनाविधानको आवश्यकता अपरिहार्य थियो कि त्यो एक लेखकीय सुविधाको प्रयोग मात्रै हो ?

भन्न त हामी मान्छे यथार्थमा बाँच्छ भन्छौं, तर मान्छे एकसाथ यथार्थ र कल्पनामा बाँचिरहेको हुन्छ । कुनै मूल्य नै नभएको एउटा कागजको टुक्रामा काल्पनिक मूल्य स्थापित गर्छौं र त्यसलाई पैसा भन्छौं । पैसाबाट त्यसको काल्पनिक मूल्य हटाउनासाथ त्यो फगत एक कागजको खोस्टो न बन्छ । ढुंगा कुँदीकुँदी मूर्ति बनाउँछौं र त्यसैमा काल्पनिक ईश्वर स्थापित गरेर पूजा गर्छौं ।

केही मान्छेहरू यो जन्ममा पाप गरे अर्को जन्ममा दुःख पाइन्छ भन्ने काल्पनिक डर आफैंभित्र रोप्छन् र त्यही डरको वशीभूत भएर पाप गर्नबाट आफैंलाई रोक्छन् । खाडीमा बसेर काम गरिरहेको एउटा नेपाली हरबिहान भावनात्मक रूपमा आफ्नै गाउँघरको ओछ्यानमा ब्युँझिन्छ । हामीले जुन जीवनलाई यथार्थको जीवन भनेर बाँचिरहेका हुन्छौं, त्यसमा आधाभन्दा बढी जीवन त कल्पनामै बितिरहेको हुन्छ । यसर्थ पनि साहित्यमा स्वैरकाल्पनिक जगत्को निर्माण एकदम सामान्य लाग्छ मलाई । ‘स्व’ मा स्वैरकाल्पनिक जगत्को निर्माण पनि लेख्दालेख्दै स्वाभाविक रूपमा आएको हो ।

एक लेखकका रूपमा ‘स्व’ को शक्ति र सीमा केलाई मान्नुहुन्छ ?

‘स्व’ मा बौद्ध दर्शनको फ्लेवर मात्रै छ, दर्शन र दर्शनको व्याख्या छैन । चाहे बौद्ध साहित्यको होस् वा क्वान्टम फिजिक्सको, चाहे मनोविज्ञानको होस् वा अध्यात्मको, यसमा ती सबै विषय उपकरणका रूपमा प्रयोग गरिएका मात्रै हुन् । मुख्य काया त आख्यानकै छ । कथा र कथाहरूको प्राण नै ‘स्व’ को प्राण हो । अब के–केलाई शक्ति मान्ने र के–केलाई सीमा ? त्यो छुट्याउने जिम्मा तपाईंहरूकै !

प्रत्येक कथा प्रकारान्तरले लेखककै कथा हो भन्ने एउटा दृष्टिकोण पनि छ, भलै यसमा प्रशस्त कल्पनाको प्रयोग नहुने होइन । त्यस हिसाबले, ‘स्व’ मा तपाईंको अनुभव बढी छ कि कल्पना ?

‘नथिया’ लेख्दा धेरै अर्थमा म लेखक भइकन पनि साक्षीभावले उक्त किताब लेखें । ‘स्व’ लेख्दै गर्दाको मेरो अनुभव ठीक उल्टो छ । यो किताब मेरो सोच, अनुभव, अनुभूति, रुचि, रुझान, बोध सबको नजिक रहेको हुनाले मैले तटस्थभावमा यो लेख्न सकिनँ । किताबमा लेखकले मन, मनोदशा र मनोविज्ञानको कुरा पनि गर्नु र आफ्नो मनको ढोका बन्द पनि गर्नु ! त्यो त कदाचित सम्भव नै थिएन । विशेषगरी नारी पात्रहरूको कथामा म यो वा त्यो रूपमा आफूलाई पाउँछु । चाहे काव्या होस् वा अँधेरी, चाहे सुशीला होस् वा वैदेही, कुनै न कुनै रूपमा म र मेरै आसपासका साथीहरूको कथा छ त्यसमा ।

‘स्व’ पाउनु भनेको ‘मोक्ष’ मिल्नु हो । मोक्षसँग अनेकन दर्शन, धारणा र मतहरू छन्, जो कहींकहीं आपसमा विरोधाभासपूर्ण पनि छन् । तपाईंको विचारमा ‘स्व’ के हो ?

मेरो विचारमा ‘स्व’ आत्मपरिचय, आत्मअन्वेषण र आत्मबोध हो । धरतीको इतिहासमा मानिस मात्र यस्तो प्राणी हो, जसले स्वचिन्तन गर्ने क्षमता राख्छ । यही स्वकेन्द्रित क्षमताको कारणले मानव सभ्यता, संस्कृति, धर्म, दर्शन, कला, साहित्य र इतिहासको जन्म भएको हो । विश्वको समस्त दर्शन स्वअन्वेषण र स्वअन्वेषणको प्रयास हो ।

यजुर्वेदको ‘अहम् ब्रह्मास्मि’, ऋग्वेदको ‘प्रज्ञानम् ब्रह्मा’, सामवेदको ‘तत्त्वमसि’ र अथर्ववेदको ‘अयमात्मा ब्रह्मा’ अर्थात् वेदान्तका चार महावाक्य स्वबोधका परिणाम हुन् । केही वर्षको जेठो–कान्छो भई एउटै कालखण्डमा जन्मेका बर्दमान महावीर र गौतम बुद्घका कैवल्य ज्ञान र संबोधी ज्ञानको खोज स्व–केन्द्रित थियो । दुवै राजपरिवारका सुखसयल त्यागी तपस्वी बनेका थिए ।

जीवनमा मानिसले मोक्षको खोज, निर्वाणको खोज, मुक्तिको खोज वा सांसारिक सपनाहरूको खोज– जे गरे पनि यथार्थमा ती सबै मानवीय स्वका आवृत्तिहरू हुन् । स्व जीवन हो । जीवन अस्तित्व हो । जीवन सार हो ।

स्व’ मा एउटा निर्णायक दृश्य वा क्षणको वर्णन गर्न सक्नुहुन्छ ? जसले उपन्यासको सारलाई समेट्छ ?

गन्धकुटीबाट फर्केर आइसकेपछि पनि जब सप्तम स्वको खोजीमा फेरि अलप हुन्छ, त्यो अलप हुने निर्णय लिनुअघि उसले गरेको मनोवाद एकदमै महत्त्वपूर्ण छ । हो, गन्धकुटीमा बुद्धका विचार र दर्शन घुलित कथाहरूले उसमा धेरै परिवर्तन ल्यायो, उसको चेतन मन र अवचेतन मन बीचको द्वन्द्व समाप्त भयो, तर उसले स्व प्राप्त गर्न सकेन । बुद्ध र बुद्धजनहरूले देखाएको उज्यालो पनि उसका निम्ति काफी भएन ।

अन्तमा ऊ बुद्धको बाटो पनि छोडेर स्वयंको मौलिक बाटोको खोजीमा हिँडेको छ । सप्तमले मनको प्याडमा लेखेको एउटा वाक्य छ, ‘संसारका प्रत्येक मानिसले आफूलाई आफैं भएर मात्र चिन्न सक्छ, अरू भएर वा अरू हुने कोसिस गरेर चिन्न सक्दैन ।’ आफ्नो अस्तित्वको सवालमा मौलिकताको खोजी गर्नुपर्छ र त्यसका लागि आफू आफू जस्तै हुनुपर्छ भन्ने भावलाई सप्तमको अन्तिम अलपले दर्शाउँछ ।

स्व’ उपन्यासमा राजनीति र भौतिकता जस्ता विषय छुटेका छन् । यस सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?

कहाँ यी दुई विषय मात्रै छुटेका हुन् र ? संसारकै सबैभन्दा लोकप्रिय खेल फुटबलदेखि क्रिकेटका कुरा छुटेका छन् । सेयर बजारदेखि सहकारीका समस्याका कुरा छुटेका छन् । जे विषयमा उपन्यास लेखिन्छ, त्योबाहेकका अरू कुराहरू छुट्नु स्वाभाविकै हो । त्यसो त जीवन आफैंमा एक भौतिक संयोजन हो । म आफैं पनि राजनीति र भौतिकीप्रति सचेतता राख्छु । तर, ‘स्व’ को विषय केही भिन्न छ । भौतिकताले मात्रै स्वको प्राप्ति नभएपछि र खुसी हुन नसकेपछि मान्छेले आध्यात्मिकताको यात्रा सुरु गर्छ ।

भौतिकताले परिपूर्ण हुँदैमा जीवन अर्थपूर्ण हुन्थ्यो भने सपनाको देश भनिने अमेरिकामा सन् २०२३ मा मात्र पचास हजारभन्दा बढी मान्छेहरूले आत्महत्या गर्ने थिएनन् । हामीकहाँ पनि एन्जाइटी र डिप्रेसन महामारीका रूपमा फैलँदो छ । यो सबबीच उपन्यासले उठाउन खोजेको विषय भनेकै भौतिक विज्ञान र अध्यात्मबीचको मिलनबिन्दु हो । जहाँसम्म राजनीतिक धारणा वा विचारका कुरा छन्, ती फरक औपन्यासिक विषय हुन् । प्रारम्भिक पाण्डुलिपिमा थियो, पछि ‘स्व’ जस्तो उपन्यासमा राजनीति र राजनीतिक टाइमलाइन आवश्यक छैन भन्ठानेर त्यो विषय जानी–जानी हटाइएको हो ।

प्रकाशित : असार १५, २०८१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×