कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

ब्रेकसू र इलेक्ट्रोनिक सामानमा लुकाएर झन्डै ३२ क्विन्टल सुन तस्करी, १ खर्बभन्दा बढी अनलाइनबाटै भुक्तानी

काठमाडौँ — ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप तथ्यहरू फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा थप २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ भारतीय र २ जना चिनियाँ नागरिकसमेत रहेका छन् । 

ब्रेकसू र इलेक्ट्रोनिक सामानमा लुकाएर झन्डै ३२ क्विन्टल सुन तस्करी, १ खर्बभन्दा बढी अनलाइनबाटै भुक्तानी

सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरेर यस प्रकरणमा खुलेका थप तथ्यहरू सार्वजनिक गरेका छन् । ब्रेकसूलगायतका विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा २०८० साउन २ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो ।

सीआईबीको अनुसन्धानअनुसार यही तस्करीमा संलग्न समूहले ३१९४ किलो सुन तस्करी गरेको खुलेको छ । जसमा ब्रेकसूमा लुकाएर मात्र ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरिएको पाइएको छ । त्यस्तै विभिन्न इलेक्ट्रोनिक सामानमा भने २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम तस्करी भएको खुलेको सीआईबीको निष्कर्ष छ । यो सुन कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँको हो । ठूलो परिमाणमा सुन तस्करी भए पनि त्यो सुन कहाँ छ भन्नेबारे भने अनुसन्धान नै भइरहेको प्रहरीको भनाइ छ ।

अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत संलग्न भएको खुल्न आएको छ । पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको सीआईबी प्रमुख ज्ञवालीले जनाएका छन् ।

स्थापनादेखि यी गेटवेमार्फत १ खर्ब २३ अर्बको कारोबार रहेकोमा भौचर डिपोजिट गरी ९६ अर्बबराबरको कारोबार गरेको देखिएको छ । उक्त प्रकरणमा संलग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी ८ जना पक्राउ परेका छन् ।

ब्रेकसुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो । उनीहरूबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ मागदाबी गरिएको थियो । सीआईबीले पक्राउ गरेकामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षका लागि थुनामा गएका छन् । उनीहरूविरुद्ध भन्सार ऐन, २०६४, संगठित अपराध निवारण ऐन, २०७०, मुलुकी अपराध संहिता, २०७, नागरिकता ऐन, २०२०, राहदनी ऐन, २०२४ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ आकर्षित हुने प्रहरीले बताएको छ ।

अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो मागदाबी गरिएको छ । भन्सार ऐन (अवैध सुन) तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४०.९० रुपैयाँ,क्रिप्टो करेन्सीतर्फ १ खर्ब ४९ अर्ब ६८ लाख २८ करोड ७ हजार ८८६ रुपैयाँ, नेपाल राष्ट्र बैंक ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२.७६ बिगो मागदाबी छ । त्यस्तै पेवेल नेपाल प्रा.लि.६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३, सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.तर्फ १९ अर्ब ४६ करोड २५ लाख ७३ ७८५ र अन्य प्रतिवादीहरूबाट ५ अर्ब १८ करोड १५ लाख ९१ ९६४.७६ बिगो मागदाबी गरिएको छ

प्रकाशित : असार १७, २०८१ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×