कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अफगानी ‘एक्स–फ्याक्टर’

भनिन्छ, अफगान क्रिकेट र तिनका खेलाडीमा बढी नै छ– एक्स फ्याक्टर । तर, एकको तुलनामा अर्को खेलाडी विशेष किन हुन्छ ? 
हिमेश

टी–ट्वान्टी वर्ल्डकप २०२४ मा अफगानिस्तानको बिदाइ ‘एन्टी क्लाइमेक्स’ जस्तै रह्यो । सेमिफाइनलमा दक्षिण अफ्रिकाको हातबाट बेहोरेको हार पूरापूर एकपक्षीय रह्यो । अफगानिस्तानले दक्षिण अफ्रिकालाई त्यो खेलमा अलिकति पनि दुःख दिन सकेन । खेल अगाडि यही अफगानिस्तानसँग कति धेरै आस थियो, तर अन्त्यमा मज्जा जति किरकिरा भयो । फेरि दक्षिण अफ्रिका पनि त पहिलो पटक क्रिकेटको कुनै वर्ल्डकप फाइनल पुगेको हो ।

अफगानी ‘एक्स–फ्याक्टर’

नत्र जति बेला चाहिएको हो, त्यति बेला नै चुक्ने टिम हो, दक्षिण अफ्रिका । त्यसैले त यस प्रोटियस टिमलाई ‘चोकर्स’ भनिएको । अहिले हामी यो टिमको चर्चा भने गरिरहेका छैनौं । कुरा अफगान क्रिकेटकै हो । जति जति बेला यो वर्ल्डको चर्चा हुनेछ, त्यति त्यति बेला अफगानिस्तान सेमिफाइनल नराम्रोसँग हार्‍यो मात्र भनिने छैन । बरु त्यसलाई भन्दा बढी यसलाई जोड दिएर भनिनेछ, अफगानिस्तानले यो वर्ल्डकप साह्रै बबाल खेल्यो, अति नै ।

सुपर–एटमा अफगानिस्तानले बलियो न बलियो अस्ट्रेलियालाई हराएको थियो र यो एक खेलको चर्चा लामै समय चल्नेछ । त्यो खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १ सय ४८ रन बनायो । अनि पछि टेस्ट र वान डे दुवैको विश्व च्याम्पियन रहेको अस्ट्रेलियालाई १ सय २७ रनमै समेट्यो । अनि सेमिफाइनल प्रवेशका लागि बंगलादेशविरुद्ध उत्तिकै सनसनीपूर्ण जित निकाल्यो । यही जितले अस्ट्रेलिया प्रतियोगिताबाट पनि बाहिरियो, लगभग चुपचाप स्थितिमा ।

यो अस्ट्रेलियाविरुद्धको जित त्यसै हावामा मिलेको पनि होइन । त्यस्तै हुन्थ्यो त सुरुआती लिग चरणमा अफगानिस्तानले न्युजिल्यान्डलाई हराउने थिएन । त्यसमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १ सय ५९ रन बनाएको थियो । त्यसको जवाफमा न्युजिल्यान्डले ७५ रन मात्रै बनाउन सक्यो, टिकेर खेल्नै सकेन । वेस्ट इन्डिज सम्मिलित यस समूह ‘सी’ मा अफगानिस्तान दोस्रो भएको थियो । साँच्चै यसपल्टको यो वर्ल्डकप अफगानिस्तानका लागि मज्जाको रह्यो ।

यस्तोमा बारम्बार भन्न सुरु भएको छ, कति धेरै छोटो समयमा यो अफगानिस्तानले विश्व क्रिकेटमा कसरी पो यति धेरै प्रगति गरेको त ? अझ नेपाली क्रिकेट समर्थक हुँदो हो त हाम्रै आँखा अगाडि हाम्रै भाग छिनेर यो बेपत्ता अगाडि बढ्दो, हामी हेरेको हर्‍यौं भयौं । अब त छुन पनि सकिन्न । सन् २०१७ मै त हो, अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्यता पाएको । त्यस अगाडिसम्म अफगानिस्तानविरुद्ध क्रिकेट केही पनि थिएन ।

सन् २००६ मा अफगानिस्तान एसीसीकपको सेमिफाइनलमा हङकङसँग हारेको थियो । यही एक खास प्रतियोगिता हो, जसले आम अफगान खेल प्रेमीको मनमा क्रिकेटको जग बसेको । सन् २००७ को एसीसी टी–ट्वान्टीमा संयुक्त विजेताका रूपमा अफगानी टिम घर फर्कंदा भव्य त भव्य स्वागत गरिएको थियो । सन् २०१८ आइपुग्दा नपुग्दै अफगानिस्तलाई टेस्ट टिमको मान्यता प्राप्त भइसकेको थियो । विशेषतः टी–ट्वान्टी क्रिकेटमा अफगानिस्तान अब्बल सावित भयो ।

यसको अगाडि पछाडि के कस्तो भए, धेरै लेखिएका छन्, धेरै भनिएका छन् । क्रिकेटलाई अलिकति पनि मन पराउनेलाई यसबारे राम्रै थाहा छ । अफगानिस्तान भनेपछि हाम्रोसामु आउने दृश्यहरू हुन्, दशकौंको विदेशी अतिक्रम, गृहयुद्ध, गरिबी, अभाव अनि चरमपन्थी तालिबानको सत्तारोहण । अफगानिस्तानमा विकास त दूरदूरसम्म भेटाउन सकिन्न भन्ने गरिन्छ । बरु उल्टै तालिबान सरकारको नेतृत्वमा अफगानिस्तान समय भन्दा पछाडि गइरहेको छ । यस्तै यस्तै छापबीच अफगान क्रिकेटले भने प्रगति गरिरह्यो । जुन देशमा केही पनि छैन, त्यही देशले क्रिकेटमा गरेको विकासले सबैको ध्यान खिच्ने नै भयो । त्यसैले अब भन्न सुरु भएको छ, अफगानिस्तानले जसरी क्रिकेटमा प्रगति गर्‍यो, त्यो विकासको एउटा ‘मोडल’ भएको छ । अब त अफगानिगस्तानले विश्व क्रिकेटमा यस्तो गर्‍यो र उस्तो गर्‍यो भनेर पनि भनिरहन आवश्यक छैन । कम्तीमा टी–ट्वान्टी क्रिकेटमा यो टिम आफैंमा शक्ति भएको छ ।

त्यसैले यसले निकाल्ने जितमा अब आश्चर्य पनि मानिरहनु पर्दैन । भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड जस्ता देश त टी–ट्वान्टी क्रिकेटमा अफगानिस्तानभन्दा अगाडि नै छन् । तर अब अफगानिस्तान यही पाकिस्तान वेस्ट इन्डिज, पाकिस्तान, श्रीलंका र बंगलादेशभन्दा कम पनि रहेन । टी–ट्वान्टी क्रिकेटको कुनै खास दिन अफगानिस्तानले जसलाई पनि हराउन सक्छ र यसलाई अब धेरै बढाइचढाई बयान गरिरहनु पर्दैन, यो त त्यस्तै भयो, जस्तो ठूलो टिमले जित्ने गर्छ । ठ्याक्कै भन्दा अफगानिस्तानी टिम अब टी–ट्वान्टी मात्र होइन, वान डेमा पनि ‘अन्डर डग’ रहेन ।

बरु चर्चा के आवश्यक छ भने यो अफगान क्रिकेटको विकास ‘मोडल’ चाहिँ के कस्तो छ ? सुरुमा अफगानिस्तानी क्रिकेटलाई हुर्काउने काम गरेको पाकिस्तानले नै हो । सुरुमा मात्र होइन, अहिलेकै अधिकांश अफगान खेलाडीले क्रिकेट ढंगले सिकेकै भनेको पाकिस्तानी भूमिमा हो । अझ धेरैले शरणार्थीका रूपमा पाकिस्तान बस्दाकै बेला क्रिकेट जान्ने र बुझ्ने भए ।

अचेल यत्तिको कुरा पाकिस्तानलाई जस दिन भने अफगानिस्तानी क्रिकेटले कन्ज्युस्याइँ गर्छ, त्यो बेग्लै प्रसंग भयो । पाकिस्तानी क्रिकेट आफैं ओरालो लाग्दै गर्दा अफगान प्रगतिलाई उसलाई बिझ्दो हो, अलिकति पनि श्रेय नपाउँदा चित्तदुख्दो पनि हो । अलिपछि भारतले हो अफगानिस्तानी क्रिकेटलाई मन खुलेर सहयोग गरेको । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले अफगानिस्तानलाई सजिलो होस् भनेर आफ्नै भूमिलाई उनीहरूको ‘होम ग्राउन्ड’ बनाउन दिएको थियो ।

सबैलाई थाहा छ, इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर पनि अफगान खेलाडीले भरपूर फाइदा लिए, नाम, दाम र अनुभव जति सबै । फेरि स्वंय अफगान क्रिकेटले पनि त साह्रै मिहिनेत गरेको छ । सन् २००१ मै मात्र हो, अफगानिस्तान क्रिकेट बोर्डको स्थापना भएको । त्यसयता यसले राम्रो नेतृत्व पाएको छ । अनि यो नेतृत्वले सही काम गरेको छ । रणनीति पनि उम्दा तयार पारेको छ । उमेर समूहको क्रिकेटलाई उत्तिकै ध्यान दिएको छ ।

अफगान क्रिकेटका दुई बलिया पक्ष भनेको सटीक स्पिन आक्रमण र आक्रामक ब्याटिङ हो । यी दुवैमा अफगानिस्तानले बडो जोड दिएको छ । र, अफगान क्रिकेटले चाहिएको बेला सुहाउँदो विदेशी प्रशिक्षक पनि पाएको छ । अचेलको आधुनिक क्रिकेटलाई सुहाउने गरेर क्रिकेट बुझाउने प्राविधिक टिम पनि त चाहियो, त्यो पनि विदेशी । अफगानिस्तानले यो कुरामा पनि चलाखीपूर्ण काम गरेको छ । अहिलेकै टी–ट्वान्टी वर्ल्डकप खेल्दाका प्रशिक्षक इंग्लिस हुन्, नाम हो, जोनाथन ट्रट ।

र, मुख्य कुरा । भनिन्छ, अफगान क्रिकेट र यसका खेलाडीमा अलिकति बढी नै छ, ‘एक्स फ्याक्टर’ । खेलकुदमा यो ‘एक्स फ्याक्टर’ बडो राम्रो काम गर्छ । खेलकुदमा त्यस्तो एक खास तत्त्व हुन्छ, जसले केही खास नै नभएको बेला विशेष गरिदिन्छ । भएभरका खेलाडी लगभग यस्तै नै त हो, १९–२० । तर एक खेलाडीभन्दा अर्को अलिकति विशेष किन हुन्छ भने त्यसमा केही विशेष गर्ने असाधारण क्षमता हुन्छ । त्यसै पनि अफगान खेलाडी राम्रा त भए नै, तिनमा ‘एक्स फ्याक्टर’ भरपूर छ ।

यो कसरी सम्भव भयो त ? यसबारे धेरैको समान बुझाइ छ । धेरै अफगानले साँच्चै दुःख मात्र देखे, सुख अनुभव नै गर्न पाएनन् । अभाव, छटपटीमै बढी बिताए । यसैले अफगान क्रिकेटलाई पनि आफैंमा धेरै दियो, जसको विरुद्ध पनि आँटिलो बनेर खेल्ने । एकपल्ट विशेष ध्यान दिएर हेर्नुपर्छ, ठ्याक्कै देखिन्छ, अफगान खेलाडी अलिकति बढी नै आक्रामक हुन्छन् । निकै जोसले खेल्छन् र विपक्षी खेलाडीलाई सक्दो दबाबमा राख्ने प्रयास गर्छन् । यस्तै टिम टी–ट्वान्टी वर्ल्डकपको सेमिफाइनल नपुगे, को पुग्छ त ?

प्रकाशित : असार १५, २०८१ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×