कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पदमार्गलाई किन चाहियो किनलक ? 

डेढ दशकयता पूरै सुनसान चियाबारी–सिन्धुलीगढी पदमार्गलाई ‘किनलक पदमार्ग’ नामकरण गरिएलगत्तै त्यसको विरोध भएको छ । प्रश्न छ– गोर्खाली फौजले पराजित गरेको अंग्रेज सेनाका कप्तान किनलककै नाम पदमार्गलाई किन दिइयो ?
युद्ध लड्न आएका २४ सय अंग्रेज सेनामध्ये बाँचेका आफ्ना ७ सय सेनासहित किनलक मकवानपुरको खुँडाघाटतिर हिँडेका थिए । 
विवश वस्ती

२००७ साल फागुन ७ गतेपश्चात् करिब एक दशकअघिदेखि राणाशासनविरुद्ध उर्लिएको जनक्रान्तिको भेल मत्थर हुन पुग्यो र राजनीतिक घटनाक्रम अर्कै दिशातिर मोडियो । ऐतिहासिक जनक्रान्तिपछिका वर्षहरू पूरै संक्रमणकालीन अवस्थाबीच गुज्रिए र अनेक राजनीतिक घटना–परिघटनाहरूका चाङ लागे ।

पदमार्गलाई किन चाहियो किनलक ? 

२०१५ सालको प्रथम आमनिर्वाचनपछि भने नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याएसँगै बीपी कोइराला प्रधानमन्त्री बने । करिब नौ वर्षसम्मको राजनीतिक दलहरू र राजावादी शक्तिबीचको रस्साकसीपछि सम्पन्न प्रथम आमनिर्वाचन र त्यसपछि गठित तात्कालिक सरकारप्रति आमनागरिकको मनोकांक्षा पूर्ति गर्नुपर्ने गहन दायित्वबोध थियो ।

२०१६, जेठ १३ गते बीपी कोइराला नेतृत्वको सरकार गठन भएपछि तात्कालिक सरकारले आफ्ना महत्त्वपूर्ण कार्ययोजना अघि सार्‍यो, जसमा सात वटा महत्त्वपूर्ण कार्यहरू सम्पादन गर्ने विषय उल्लेख थियो । सातौं बुँदामा ‘यातायातको विस्तार’ लाई उल्लेख गरिएको थियो । सडक– सञ्जाल अति नै न्यून तहमा थियो । प्रधानमन्त्री कोइरालाले आफू प्रधानमन्त्री भएकै वर्ष २०१६ सालमा एउटा महत्त्वाकांक्षी सडक–निर्माण परियोजना ल्याए– ‘आरटीओ (क्षेत्रीय पारवहन संगठन) रोड’ ।

वर्तमानका ‘राष्ट्रिय गौरवका आयोजना’ भन्दा तुलनात्मक रूपमा कम थिएन, त्यो परियोजना । सम्भवतः २००७ सालको क्रान्तिपूर्व आफ्नो पुर्ख्यौली थलो सिन्धुलीको दुम्जा हुँदै पूर्वी तराई जोड्ने त्यो मार्ग नेपालको विकासका निम्ति कोसेढुंगो सावित हुने अपेक्षा कोइरालाले सँगालेका थिए होलान् ! २०१६ सालपछि त्यो सडक–मार्गको प्रारम्भिक चरणको कामसमेत सुरु भइसकेको थियो । आरटीओ रोडको अवधारणासँगै कार्य–प्रारम्भले गति लिनै लाग्दा २०१७, पुस १ मा राजा महेन्द्रले राजनीतिक ‘कु’ गरे । सिंगो पञ्चायतकालभरि सो सडक–मार्गको निर्माण तात्कालिक व्यवस्थाको उपेक्षा–भावबीच पिल्सिन पुग्यो, जुन नेपालको विकासका लागि एक ‘दुर्भाग्य’ थियो ।

तस्बिरहरू : राजकुमार कार्की/कान्तिपुर

२०४६ को आखिरीतिर बहुदलीय व्यवस्था पुनःस्थापना भएपश्चात् २०४८ मा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तात्कालिक सरकारले करिब ३२ वर्षदेखि ‘चाल न चुल’ को अवस्थामा रहेको ‘आरटीओ रोड’ को सुरुवात गर्ने निधो गरेसँगै कार्य प्रारम्भ भयो ।

जापान सरकारको आर्थिक/प्राविधिक सहयोगमा निर्मित सो सडक–मार्ग २०७१ मा निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरियो र नाम राखियो– ‘बीपी राजमार्ग’ । बीपी राजमार्ग निर्माण गर्ने क्रममा कतिपय स्थलमा पुराना पदमार्गहरूलाई पछ्याइयो भने कतिपय स्थललाई बदलेर नयाँ रुट हुँदै सडक निर्माण गरियो । सोही क्रममा निकै पुरानो (सिन्धुलीको चियाबारीदेखि ढुंग्रेभञ्ज्याङसम्म) चर्चित पदमार्गबाट नभई पश्चिम मोहडाको पिपलभञ्ज्याङ हुँदै सडक–मार्ग मोडियो र ढुंग्रेभञ्ज्याङमा लगेर जोडियो ।

सुनसान पुरानो पदमार्ग

चियाबारी हुँदै पिपलभञ्ज्याङतिर बीपी राजमार्ग मोडिएपछि चियाबारी–ढुंग्रेभञ्ज्याङको पुरानो पदमार्ग उजाड र सुनसान हुनपुग्यो । त्यसअघिका करिब दुई–अढाई शताब्दीसम्म तात्कालिक राणाकालीन समयको पूर्वी २ र ३ नम्बर (रामेछाप, दोलखा, ओखलढुंगा) लाई मध्य र पूर्वी तराईसँग जोड्ने पदमार्गको एक प्रमुख अंग (चियाबारी–सिन्धुलीगढी पदमार्ग) ले आफ्नो ऐतिहासिक विरासत गुमाउँदै गयो । त्यस पदमार्गमा ग्वाङ खोलाको उपल्लो भागका साथै सिरुवानीको चर्चित उकालो पर्दथ्यो, जुन उकाली धेरै युगको साक्षीकर्ता थियो । सिरुवानीको उकाली चढ्नेहरूका आफ्नै कथाहरू छन् ।

२०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि मुलुकले संघीय संरचनाको ‘नयाँ काँचुली’ ग्रहण गर्‍यो । स्थानीय तहहरू (महानगर, उपमहानगर, नगर र गाउँपालिका) लाई वर्षौंदेखि सिंहदरबारमा निहित अधिकार प्रदत्त गरिएको डिङ हाँकियो । स्थानीय तहहरूले आफ्नो अधिकारअनुरूप अनेक निर्णय गर्न थाले ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् कमलामाई नगरपालिकाले डेढ दशकयता पूरै सुनसान बन्न पुगेको चियाबारी–सिन्धुलीगढी पदमार्गलाई ‘किनलक पदमार्ग’ नामकरण गरेर पदमार्गको माध्यमद्वारा पर्यटन क्षेत्रको विकासमा जोड दिन चाह्यो । नेपाल–अंग्रेज युद्धताका गोर्खाली सेनाद्वारा पराजित अंग्रेज सेनाका नेतृत्वकर्ता कप्तान किनलकको नाममा सो पदमार्ग नामकरण गरेसँगै विवादको सूत्रपात हुनपुग्यो । पहिले यो विवाद सुषुप्त रहे पनि अहिले पूरै सतहमा उत्रिएको छ । प्रश्न उठिरहेको छ, ‘वीर गोर्खाली फौजद्वारा पराजित अंग्रेज सेनाका कप्तान किनलकका नाममा किन चियाबारी–सिन्धुलीगढीसम्मको पदमार्गलाई उनको नाममा नामकरण गरियो ?’

इतिहासतिर फर्किंदा

त्यस समय गोर्खाली राजा पृथ्वीनारायण शाहको सेनाले उपत्यका विजय–अभियानलाई तीव्रता दिइरहेको थियो । वि.सं. १८२३ ताका कीर्तिपुरमाथि कब्जा जमाउन सम्पूर्ण शक्ति लगाइरहेका बेला काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्लले कीर्तिपुरमाथि गोर्खाली सेनाको प्रभुत्व बढ्दै गएको थाहा मात्रै पाएनन्, कुनै पनि समय काठमाडौंमाथि पनि गोर्खाली सेनाले आक्रमण गर्ने आकलनसहित भय र त्रासदीमा रहे । पृथ्वीनारायण शाहको उपत्यका विजय–अभियानलाई रोक्न मल्लले कुनै न कुनै कदम चाल्न आवश्यक ठाने ।

त्यस समय काठमाडौं उपत्यकाभित्र केपुचिन पादरीहरूले निर्धक्कसाथ इसाई धर्मको प्रचार गरिरहेका थिए र इस्ट इन्डिया कम्पनीले आफ्नो व्यापार पनि । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गर्दा दुई कुरा अवरुद्ध हुने सम्भावना पहिल्याए, जयप्रकाश मल्लले । एउटा, केपुचिन पादरीहरूको अभियान र अर्को इस्ट इन्डिया कम्पनीको व्यापार–विस्तार । सोही कारण पादरीहरूले गोर्खाली सेनाको अभियान रोक्न इस्ट इन्डिया कम्पनीलाई सेना पठाउन पत्राचार गर्नका निम्ति जयप्रकाश मल्ललाई सुझाव दिए ।

त्यस समय इस्ट इन्डिया कम्पनीको गभर्नर थिए– ह्यारी बेरलेस्ट । मल्लको गभर्नर बेरलेस्टसँग सिधै पहुँच थिएन र बेतिया (विहार) मा रहेका ब्रिटिस वाणिज्यदूत गोल्डिङकहाँ सैन्य सहायताको मागपत्रसहित उनले दुई जना दूतहरूलाई बेतियामा पठाए, जसमा काठमाडौंमा व्यापार गरेर बसेका उमदा नाम गरेका कश्मीरी मुसलमान र तीर्थयात्राका लागि कान्तिपुर आउँदा गोर्खालीको नाकाबन्दीमा परेर थुनिएका रामदास फकिर थिए । ती दूतहरूले भने, ‘बेलायतले जयप्रकाश मल्ललाई सैन्य सहायता दिएको खण्डमा गोर्खाली फौजलाई लखेट्न सकिन्छ र त्यसबापत इस्ट इन्डिया कम्पनीले ठूलो आर्थिक लाभ लिन सक्नेछ ।’

वाणिज्यदूत गोल्डिङले जयप्रकाश मल्लका दूतहरूलाई पटनास्थित ब्रिटिस हाकिम थमस रम्बोल्डकहाँ पठाइदिए । गोल्डिङले ती दूतहरूमार्फत रम्बोल्डलाई सिफारिस गर्दै लेखे, ‘मल्ल राजाहरूले हामीसँग सैनिक सहायता माग गरेका छन्, यो नैतिक र सैन्य दृष्टिले पनि आवश्यक देखिन्छन् । सैन्य सहायता पठाएको खण्डमा कम्पनी सरकारलाई पनि ठूलो आर्थिक लाभ मिल्नेछ ।’

त्यस समय इस्ट इन्डिया कम्पनीले नेपालको पहाडी जंगलबाट खोटेसल्लाका रुखहरू काटेर लैजाने गर्थ्यो । कम्पनीले चौदण्डी राज्यका सेन राजाहरूसँग मिलेमतो गरेर सल्लाका रुखहरू किन्दै आएको थियो । खोटेसल्लाको रुखबाट जहाजको मस्तुल (जहाजको पाल बाँध्न बीचमा उभ्याइने लट्ठा) र खोटोबाट बार्नेस बनाइन्थ्यो । यदि पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरे भने नेपालका अरू राज्यहरूमा पनि प्रभुत्व विस्तार हुने र खोटेसल्लाका रुखहरू बन्द हुने पूर्वानुमान गोल्डिङले गरे ।

विशेष सूत्रमार्फत पृथ्वीनारायण शाहले थाहा पाए– जयप्रकाश मल्लले इस्ट इन्डिया कम्पनीसँग सैनिक सहायता मागेको छ । र, शाहले रम्बोल्डलाई कम्पनी र आफ्नो राज्यको सीमा जोडिएकाले आफ्नो सुरक्षा गरिदिएको खण्डमा पटनामा आई भेट गर्न चाहेको पत्र पठाए । रम्बोल्डले गभर्नर बेरलेस्टकहाँ पत्र पठाउँदा कम्पनीको ‘विषय समिति’ मा सो पत्रबारे छलफल गरियो । ‘विषय समिति’ ले जयप्रकाश मल्ललाई सैनिक सहायता पठाउने र पृथ्वीनारायण शाहलाई असहयोग गर्ने निर्णय गर्‍यो । बेरलेस्टले शाहलाई पठाएको पत्रमा शाहले उपत्यकामाथि आक्रमण गर्न नपाउने कुरा उल्लेख थियो ।

कम्पनीको ‘विषय समिति’ ले ब्रिटिस सेनाका कप्तान जर्ज किनलकलाई गोर्खाली सेना पराजित गर्न पटनातिर जान निर्देशन दियो । सन्् १७६७ अगस्ट २६ मा कप्तान किनलक नेतृत्वको सेना पटनाबाट जनकपुरतिर हिँड्यो । कम्पनीको ‘विषय समिति’ ले पृथ्वीनारायण शाहको सेनाविरुद्ध युद्ध गर्न क्याप्टेन किनलकको नेतृत्वमा २४ सय हिन्दुस्थानी सेना र केही सैन्य अधिकारीहरूलाई पठाउने निर्णय गरेको थियो । कप्तान किनलक नेतृत्वको सेना सिन्धुली माढीबाट खुर्कोटतर्फ बढ्दै गयो । किनलक नेतृत्वको अंग्रेज सेना चियाबारी हुँदै सिरुवानीको उकालो चढेर ढुंग्रेबास (ढुंग्रेभञ्ज्याङ) पुग्दा सुरुमा वंशु गुरुङको नेतृत्वमा तैनाथ करिब ५ सयजति गोर्खाली सेनाले अंग्रेज सेनामाथि हमला गर्‍यो ।

हावापानीका दृष्टिले ढुंग्रेबासदेखि भञ्ज्याङसम्म अंग्रेज सेनाहरूलाई सायदै कष्टकर भएन होला किनभने दरभंगा, जनकपुर हुँदै माढीसम्म आएका अंग्रेज सेनाहरूलाई सिरुवानी फेदीसम्मको हावापानी आफूअनुकूल नै थियो । तर, पौवागढी (आड) मा वंशराज पाण्डे र वीरभद्र उपाध्यायको नेतृत्वमा ७ सयजति गोर्खाली सेना ‘फिरंगी सेना’ माथि विजय प्राप्त गर्न तम्तयार थिए । तिनै सेनाले अगाडिबाट शत्रु (अंग्रेज सेना) माथि जाइलाग्ने रणनीति अपनाएको थियो । आखिर त्यही थलो नै किनलक नेतृत्वको अंग्रेज सेनालाई पराजय गर्ने थलोका रूपमा स्थापित बन्न पुग्यो । भौगोलिक विकटताका साथै त्यस ठाउँको हावापानीले अंग्रेज सेनालाई साथ नदिनु स्वाभाविकै थियो । गोर्खाली सेनाको रणकौशल पनि अंग्रेज सेनालाई पराजय गर्ने सहायक कारक बन्न पुगेकामा दुईमत देखिँदैन ।

सिन्धुलीगढी इलाकामा कप्तान किनलक नेतृत्वको अंग्रेज सेनाले शर्मनाक पराजय बेहोर्नुपर्‍यो । २४ सय अंग्रेज सेना युद्ध लड्न आएकामा किनलक आफ्ना बाँचेका ७ सय सेनासहित मकवानपुरको खुँडाघाटतिर लागे । खुँडाघाट पुग्दा हरिहरपुर गढीमा गोर्खाली सेना बसेका छन् भन्ने सूचना पाएपछि किनलक रौतहट र बारातिर लागे र उनले बाराबाटै रम्बोल्डलाई सिन्धुलीगढी युद्धमा पराजय हुनुपरेको बेहोराको पत्र पठाए । यो वि.सं. १८२४ को घटना थियो ।

तात्कालिक समय (१८२४) मा इस्ट इन्डिया कम्पनीको तेजिलो दबदबा रहेका बेला ब्रिटिस साम्राज्यले कान्तिपुरका तत्कालीन राजा जयप्रकाश मल्ललाई ‘सैनिक सहायता’ पठाउने बहानामा नेपाललाई उपनिवेश बनाउन सक्ने प्रशस्तै आधार देखिन्थे । सिन्धुलीगढी युद्धमा पराजयको नमिठो स्वाद चाखेपछि भने इस्ट इन्डिया कम्पनीले नेपालमाथि बक्रदृष्टि राख्ने हिम्मतै गरेन । वि. सं. १८२५ मा पृथ्वीनारायण शाहले कान्तिपुरमाथि विजय प्राप्त गरेपछिका राजनीतिक, सामाजिक, सांस्कृतिक, सामरिकलगायत अनेक परिदृश्यहरू बदलिए र नेपाल बेलायती साम्राज्यको अधीनस्थ हुनबाट सदैव जोगिन पुग्यो ।

पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा ‘तगारो’ हाल्न आएका कप्तान किनलक नेतृत्वको अंग्रेज सेनाको पराजय तत्कालीन समय बेलायती साम्राज्यका निम्ति दरिलो पाठ त थियो नै । आफूले लडेका प्रायः सबैजसो युद्धमा विजय प्राप्त गर्न सकिन्छ भन्ने भाष्यबाट तत्कालीन बेलायती साम्राज्यलाई मुक्त तुल्याउन पनि सिन्धुलीगढी युद्ध एक गतिलो सबक बन्न पुग्यो ।

सिन्धुलीगढी युद्धमा शर्मनाक पराजय बेहोरेको अंग्रेज सेना र त्यसको नेतृत्वकर्ता कप्तान किनलकको नाममा पदमार्ग राखिने विषय यतिबेला पेचिलो बनेको छ । तर, पेचिलो बन्नु हुँदैनथ्यो । बरु ‘किनलक पदमार्ग’ नभनी त्यस क्षेत्रको सामाजिक, सांस्कृतिक पक्ष झल्किने विषय वा ऐतिहासिक व्यक्तित्वका नाममा पदमार्गको नामकरण गरी चियाबारी–सिन्धुलीगढी पदमार्गलाई विकास गर्नतिर स्थानीय तहले सक्रियता देखाउँदा उपयुक्त र सान्दर्भिक हुने देखिन्छ ।

पदमार्गको विशेषता

करिब तीन वर्षअघि स्थानीय कमलामाई नगरपालिका र नेपाली सेनाले नामकरण गरेको विवादित ‘किनलक पदमार्ग’ ले चियाबारीदेखि सिन्धुलीगढीसम्म करिब ८ किलोमिटर लामो दूरी तय गरेको छ । बीपी राजमार्ग सुचारु भएपश्चात् चियाबारी त्यो राजमार्गको ‘मुग्लिन’ का रूपमा परिचित बन्न पुगेको छ । कुनै समय पृथ्वी राजमार्ग खुलेपछि होटलहरूका लागि ‘मुग्लिन’ जति चर्चित थियो, अहिले चियाबारीको सान मुग्लिनभन्दा कम देखिँदैन । काठमाडौंबाट पूर्वी नेपालतिर जाने सवारी–साधनवालाहरूले खानाका निम्ति चियाबारीलाई रोज्दै आएका छन् । त्यही चियाबारीबाट ग्वाङ (गौमती) खोलाका उबडखावड किनारै–किनार अघि बढेपछि आउँछ– सिरुवानी फेदी । बीपी राजमार्ग खुल्नुअघि सिरुवानी फेदी आलोकमय थियो, व्यावसायिक हिसाबले ।

८–१० वटा होटलहरू, खानाका सबै व्यवस्था, शीतल परिवेश, एउटा कोप्चो ठाउँमा रहेको फेदीको रौनक नै अर्कै थियो । अधिकांश बटुवाहरू फेदीको खानाको स्वाद नचाखी सिरुवानीको उकालीमा पसिना बगाउन चाहँदैनथे । किनभने त्यो पदमार्गको मुख्य अंश सिरुवानीको लामो र थकाइलाग्दो उकालो जोकोहीले छिचोल्नै पर्थ्यो । सिरुवानीको उकालो उच्चाटलाग्दो भने थिएन र छैन पनि । उकालीभरि बहुवर्षीय साल, साज, करम, कटुसका साथै उकालीको हरेकजसो विन्दुमा वर, पीपल, समीजस्ता वृक्षहरूले ढाकिएको सिरुवानीको उकालो चढ्दा पनि शीतल नै महसुस हुन्छ । करिब ४५ मिनेटजति जंगल इलाका छिचोलेपछि सामान्य बस्ती आरम्भ हुन्छ र त्यो बस्ती कटेपछि आउँछ– ठुटे पिपलको चौतारा, जहाँबाट दक्षिणतिरका मनमोहक चुरे शृंखला, सिन्धुली माढी र तराईमा भूभागहरूसमेत नजरपटमा उदाउँछन् ।

पूर्ववर्ती समयमा त्यस पदमार्गमा सिरुवानी फेदीको स्वादिष्ट खाना, दही र ढिकीमा कुटेको चिउरा, हात्तीढुंगामा बिसाइएको थकाइ, सिरुवानी गाउँको अन्तिम विन्दुमा अवस्थित समीको चौताराको मिठो पानी, ठुटे पिपलको चौताराछेउ स्थानीय मगर समुदायका महिलाले बेच्न राखेका स्वादिलो जाँड, ढुंग्रेभञ्ज्याङको चिसो पानी र आडको स्वादिलो दही–चिउरा पाइने कुरा तात्कालिक पुस्ताका निम्ति विस्मृत भइसकेको छैन । वर्तमान पुस्तालाई यस्ता सन्दर्भ कथा लाग्न सक्छ । अब त्यो पदमार्गको विकास गर्न पूर्ववर्ती समयका यिनै स्थानीय परिकार र स्वादहरूलाई ब्युँताएर नयाँ ढंगले अघि बढ्न सक्ने प्रशस्तै आधार देखिन्छन् । पदमार्गीहरू स्थानीय स्वादमा रमाउँदा न ‘किनलक’ का नाम सम्झिन्छन्, न अरूका नै । उनीहरूले सम्झिने त्यस पदमार्गका विशेषता, हावापानी र स्थानीय स्वादहरूका साथै स्थानीय सांस्कृतिक पक्षहरू नै हुन् ।

बिसाउनीमा

अंग्रेज सेनामाथि गोर्खाली सेनाले विजय प्राप्त गरेको तिथिबारे उत्पन्न विवाद अझै साम्य भइसकेको छैन । एकथरीले असोज १५ लाई मान्दै आएको छ र अर्कोले कात्तिक २४ लाई । कमलामाई नगरपालिकाले भने कात्तिक २४ लाई मान्दै आएको छ र त्यस दिन नगरपालिका र नेपाली सेनाले ‘सिन्धुलीगढी विजयोत्सव’ समेत मनाउँदै आएका छन् । विडम्बना त के भइदियो भने, एकातिर नगरपालिकाले अंग्रेज सेनालाई पराजित गरेको दिनलाई उत्सव ठानेर ‘विजयोत्सव’ गर्दै आएको छ र अर्कोतिर सिन्धुलीगढी युद्धमा पराजित अंग्रेज सेनाका कप्तान किनलकको नाममा पदमार्ग सञ्चालन गर्ने हेतुले ‘किनलक पदमार्ग’ नामकरणसमेत गरिएको छ । यो कस्तो द्वैध भूमिका हो ?

‘किनलक पदमार्ग’ नामकरण गरेसँगै स्थानीय समुदायबाट असन्तुष्टिका स्वर पोखिन थालेको छ । कहिल्यै अंग्रेज साम्राज्यको दासता नझेलेका नेपालीका लागि गढी युद्धमा पराजित अंग्रेज सेनाको एक कप्तानको नाममा पदमार्ग नामकरण गरिँदा असन्तुष्टि र आक्रोशको मुहान रसाउनु स्वाभाविकै हो । ‘किनलक पदमार्ग’ नामकरणसँगै यो प्रकरणलाई स्थानीयहरूले ‘जनभावनाको अनादर’ का रूपमा परिभाषित गरेका छन् ।

प्रकाशित : असार १५, २०८१ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×