कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

गठबन्धनमा गडबड छैन, बाहिर एउटा भन्ने, भित्र अर्कै गर्ने भए त के जान्नु र ?’

कार्यशैलीमा सीमारहित भन्ने कहिँ पनि हुँदैन । तर, नीतिगत र कार्यशैलीमा गम्भीर विविधता छैन । गठबन्धन त नीतिगत र सैद्धान्तिक कुरामा फरक भए फेर्ने हो, कार्यशैलीमा होइन ।

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीचको सत्ता सहयात्रामा केही तिक्तता आइरहेको छ । यसै क्रममा एमाले र कांग्रेसबीचको नयाँ समीकरणको चर्चा चल्न थालेको छ । एमाले र कांग्रेस नेताहरूबीचको संवाद बाक्लिएको छ । यो बाक्लो संवादबाट माओवादी केन्द्र भने तरंगित भएको छ ।

गठबन्धनमा गडबड छैन, बाहिर एउटा भन्ने, भित्र अर्कै गर्ने भए त के जान्नु र ?’

यसै सन्दर्भमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङसँग गरिएको संक्षिप्त कुराकानी :

एमाले र कांग्रेसका शीर्ष नेताहरू बारम्बार भेटघाटमा देखिनुहुन्छ, सत्तारुढ गठबन्धनमा कुनै गडबडको संकेत हो ?

अहिलेसम्म सत्तारुढ गठबन्धनमा कुनै गडबड रहेको थाहा छैन । असन्तुष्टि रहेको र समस्या परेको कुनै घटकले पनि भन्नुभएको छैन । नीतिगत रुपले पनि सत्तारढ गठबन्धनको सन्दर्भमा कुनै समस्या छैन । बाहिर एउटा भन्ने र भित्र अर्कै गर्ने भए त के जान्नु र ?

एमाले अध्यक्ष ओलीसँग कांग्रेस सभापति देउवा दम्पत्तिले बालकोटमा लामो कुराकानी गरेको विषयलाई माओवादीले कसरी हेरिरहेको छ ?

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा दुई नेताहरूबीच कुराकानी गर्न नसकिने भन्ने होइन । नेताहरूबीच कुराकानी गर्न सकिन्छ । तर, कुराकानीको विषयवस्तु के थियो भन्ने कुरा मुख्य हो । त्यो भेटमा कुराकानीको विषय के थियो भन्ने उहाँहरूले बताउने कुरापर्‍यो । जो-जो कुराकानीमा संलग्न हुनुहुन्छ उहाँहरूले भन्नुहोला ।

बजेट विनियोजनका विषयमा सत्तारुढ प्रमुख घटकका अध्यक्ष ओलीले सार्वजनिक रूपमा आलोचनात्मक अभिव्यक्ति दिनुभएको थियो, गठबन्धन परिवर्तनको संकेत थियो कि ?

बजेटको बारेमा सत्तारुढ घटकका सबैको बीचमा सिद्धान्त र प्राथमिकताको बारेमा छलफल हुँदै आएर सहमति भएपछि बजेटको प्रक्रिया अगाडि बढेको हो र क्याबिनेटमा पनि कसैले विमती राखेनन् । सर्वसम्मतिले अगाडि बढेको हो । सदनमा प्रस्तुत भएपछि सैद्धान्तिक र नीतिगत विषयमा त्यस्तो कुरा छैन । बजेटबारे प्रतिपक्षले पनि टिप्पणी गर्नुपर्दैन भनेको थियो भने कतिपय विषयमा प्रसंसाका विषय छन् भनेको थियो ।

मन्त्रालयगत विनियोजनमाथि छलफल हुन थालेपछि मन्त्रीहरूले आफ्नो क्षेत्रमा योजना लग्यो भनेर एमालेका मन्त्रीका मन्त्रालयमा एमालेकै सांसद र माओवादीका मन्त्रीका मन्त्रालयमा माओवादीकै सांसदले विरोध जनाएका थिए । यस्तो हरेक बजेट अधिवेशनमा भइरहन्छ, स्रोतसाधन सीमित र माग बढी हुँदा यस्तो कुरा भइरहन्छ ।

प्रधानमन्त्री झिनामसिना नियुक्ति, सरुवा र बढुवामा अल्झिनुभयो भन्ने भावको अभिव्यक्ति ओलीले दिनुभयो, यसलाई कसरी लिनुभएको छ ?

झिनामसिना कुरा भन्दाखेरि पनि कहाँनेर ध्यान दिने, कहाँनेर के गर्ने भन्ने व्यक्तिका कार्यशैलीका कुरा होलान् । झिनामसिना ध्यान दिँदा ठूला काम कहाँनेर छुट्यो त भन्ने विषय दिनदिनै भेटघाट गर्ने क्रममा कुरा गर्न सकिने हो । कार्यशैलीमा सीमारहित भन्ने कहिँ पनि हुँदैन । तर, नीतिगत र कार्यशैलीमा गम्भीर विविधता छैन । गठबन्धन त नीतिगत र सैद्धान्तिक कुरामा फरक भए फेर्ने हो, कार्यशैलीमा होइन ।

सरकार परिवर्तनका लागि अरु चलखेल पनि भइरहेका हुन् कि ?

अहिलेको प्रश्न के हो भन्दाखेरि शान्ति प्रक्रिया डेडलक भइरहेको छ । यसलाई अगाडि बढाउने कुरामा कतिपय शक्ति केन्द्र खुसी छैनन् । यो विषलाई अगाडि बढाउनुपर्‍यो भनेर दलहरूबीच छलफल भने भइरहेको छ । अस्तिको दिन तीनवटै दलका नेताहरू जुटेर टीआरसी विधेयकको भाषा सम्पादन गर्ने र संसदीय समितिबाट प्रक्रिया अगाडि बढाउने भन्ने कुरामा सहमति भएको छ । तीनवटै दलका नेताहरूबीच टीआरसी विधेयक अगाडि बढाउने सहमति भएको छ । यो अवस्थामा शान्ति प्रक्रिया डेडलक गराउनुपर्छ भन्ने ठानेर कसैले त्यस्तो गरेको रहेछ भने त भन्न सकिन्न ।

कतिपय शक्तिकेन्द्रहरू शान्ति प्रक्रिया र टीआरसीको विषयमा असन्तुष्ट छन् । त्यसैले पनि डेडलक भइरहेको छ । त्यस विषयमा नेताहरू एकजुट भएर टुंग्याएर अगाडि बढ्नुपर्ने हो । राष्ट्रियतासँग जोडिएको मामिलामा नेताहरू एकढिक्का हुन नसकेर, विभाजित भएर शान्ति प्रक्रिया अड्किइरहेको छ । अहिले पनि यहि विषयलाई लिएर सरकार परिवर्तन हुने र यो विषय बिलम्ब भयो भने शान्ति प्रक्रियाको विषयलाई लिएर नेपालमाथि कस्तो दबाब हुन्छ भन्ने कल्पना गर्नुपर्छ ।

सरकार परिवर्तनको चर्चाबारे अरु केही भन्नु छ ?

सरकारको नेतृत्वको बारेमा अहिलेसम्म कुनै विवाद भएको छैन । सहमतिअनुसार अगाडि बढ्नेमा (एमाले र माओवादी केन्द्रबीच) पनि कुनै विवाद छैन । एउटाले सरकारको नेतृत्व लिन खोज्ने र अर्कोले नदिन खोज्ने भएमा विवाद हुनुपर्ने हो, त्यस्तो देखिएको छैन ।

प्रकाशित : असार १७, २०८१ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×