कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खेल दुनियाँको खतरनाक बाजी

इन्टरनेट सुविधाले बढाइरहेका विकल्प र सजिलै बाजी थाप्न सकिने प्लाटफर्मका कारण बेटिङ बजार संसारैभर फैलिरहेको छ । केही देशमा बेटिङ प्लाटफर्महरू कानुनी रूपमै स्वीकृत छन्, तर नेपालमा भने गैरकानुनी बेटिङ बजारको प्रभाव बढ्दो छ । 
बेटिङको लतले धोखाधडीको सिकार बन्ने गरेका छन्– सर्वसाधारण
सजना बराल

फुटबल र क्रिकेटका पारखीहरूका लागि अहिलेको समय भ्याइनभ्याई नै छ, के–के मात्रै हेर्ने ! ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट, युरोपेली फुटबल च्याम्पियनसिप ‘युरो कप’ र अमेरिकी महादेशहरूको फुटबल प्रतिस्पर्धा ‘कोपा अमेरिका’ समानान्तर रूपमा चलिरहेका छन् । अमेरिकी फुटबल र टेनिसका केही स्पर्धा भर्खरै सकिए । भारतको इन्डियन प्रिमियर लिग र युरोपमा प्रख्यात व्यावसायिक फुटबल लिगहरू पनि केही समयअघि मात्रै सम्पन्न भएका हुन् । 

खेल दुनियाँको खतरनाक बाजी

यस्ता प्रतियोगितामा कुन टोली, खेलाडी, लिग वा खेलशैलीको प्रशंसक बन्ने र कसको टोली उत्कृष्ट हुने भन्ने घम्साघम्सी स्वाभाविक रूपमा हुन्छ । तर, खेल प्रशंसक र व्यावसायिक वा सिकारु प्रयोगकर्ताका लागि अर्को मुख्य आकर्षण बन्ने गरेको विषय हो– स्पोर्टस् बेटिङ अर्थात् खेलकुदमा हुने हारजितको बाजी । इन्टरनेट सुविधाले बढाइरहेका विकल्प र सजिलै बाजी थाप्न मिल्ने प्लाटफर्मका कारण बेटिङ बजार बढेको बढ्दै छ । कैयौं देशमा कतिपय बेटिङ प्लाटफर्महरू कानुनी रूपमै स्वीकृत छन् । गैरकानुनी मानिएका त्यस्ता प्लाटफर्मले नेपाल तथा भारतजस्ता देशमा समेत अघोषित रूपमा प्रभाव बढाउँदै लगेको देखिन्छ ।

नेपालमा बेटिङसम्बन्धी विवाद नौलो विषय होइन । कानुनी रूपमा नमिल्ने भए पनि अनेकौं छिद्र र छद्म शैली अपनाएर विभिन्न खेलकुद प्रतियोगितामा बेटिङसम्बन्धी गतिविधि हुने गरेको छ । वान एक्स बेट नामक बेटिङ प्लाटफर्मले नेपालको एक मुख्य क्रिकेट प्रतिस्पर्धा नै आयोजना गर्नु, नेपालका रंगशालाहरूबाट खेलकुदमा आधारित बेटिङ र सट्टेबाजी गराउने गिरोहहरू पक्राउ पर्नुले खेलकुदमा बाजी राख्ने पारखी र शोख दुवै बढ्न थालेको पुष्टि हुन्छ ।

वान एक्स बेटमा एजेन्टको रूपमा कार्य गर्ने गरेको र कनेक्ट आईपीएस, ई–सेवा, आईएमई पे, खल्तीजस्ता एप तथा विभिन्न बैंकिङ प्रणालीमार्फत कारोबार गरेको आरोपमा प्रहरीले समय–समयमा विभिन्न व्यक्ति तथा गिरोहलाई पक्राउ गर्ने गरेको छ । सन् २०२२ को फिफा विश्वकपका बेला बेटिङ एपमार्फत सट्टेबाजीमा लगाउन रकम संकलन गर्ने/गराउने कार्यमा संलघ्न लमजुङ, सुन्दरबजार–१ का सुजन गौली, काठमाडौं– २० का प्रवीण श्रेष्ठ जस्ता थुप्रै एजेन्ट समातिएका थिए ।

भर्खरै सकिएको आईपीएल र अहिले चलिरहेका प्रतियोगितामा पनि लुकिछिपी बाजी राख्ने र विभिन्न स्पर्धाहरूका लागि फ्यान्टासी टिमका नाममा रकम लेनदेन हुने गरेको खेलक्षेत्रका जानकारहरूको अनुभव छ । गएको आइतबार मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सट्टेबाजी गराएको आरोपमा काठमाडौं महानगरपालिका–५ का किपेश महर्जन (३०) लाई पक्राउ गरेको थियो । वान एक्स बेट, जुवा– ३६५, मोब क्यास, टिम क्यास, एस्ट्रोपेजस्ता एपमार्फत बेटिङ गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको थियो ।

खेलकुदमा आधारित बेटिङ यसरी फैलँदै जानुमा आर्थिक पक्षको प्रमुख भूमिका छ । बिजनेस इन्साइडरले गरेको एक आँकलनअनुसार, सन् २०२३ मा स्पोर्टस बेटिङको बजार आकार लगभग ८५ अर्ब अमेरिकी डलर आसपास थियो । कानुनी अनुमति बढ्दै जाँदा सन् २०२८ सम्ममा यो क्षेत्र लगभग १५५ अर्ब अमेरिकी डलरको बन्न सक्ने अनुमान छ । कुन टोली विजयी हुन्छ, कतिको फरकले जितहार हुन्छ, अंक कतिसम्म पुग्छ, कुनै खेलाडी विशेषको प्रदर्शन कस्तो हुन्छ जस्ता अनेकौं पक्षमा बाजी राख्न मिल्ने गरी लाइभ बेटिङको समेत प्लाटफर्म बनेका छन् । चलिरहेको खेलमा अब के हुन्छ भनेर बेट लगाउन मिल्छ ।

कहिलेकाहीं उत्साहमा र कहिले लतसमेत बन्ने गरेको स्पोर्टस् बेटिङको पछिल्लो उल्लेख्य उदाहरण सन् २०१५–१६ मा अंग्र्रेजी फुटबल लिगमा लेस्टर सिटी लिग च्याम्पियन हुन्छ भनेर राखिएको बाजीलाई लिने गरिन्छ । उक्त सिजनमा १–५००० अर्थात् १ को बाजी राख्दा ५००० फिर्ता पाइने घोषणा भएको थियो । जम्मा ५० पाउन्डको बेट राखेका लेख हर्बर्टले मार्च महिनामै आफ्नो बाजी रकम निकाल्दा ७२ हजार पाउन्ड स्टर्लिङ हात पारेका थिए । उनले जुनमा सिजन सकिने बेलासम्म आफनो बाजी कायम राखेका भए २ लाख ५० हजार पाउन्ड जित्ने थिए ।

खेलकुद इतिहासकै चर्चितमध्ये एक मानिने बाजी सन् २००१ मा बेलायतको स्टाफोर्डसायरका माइक गिब्सले जितेका थिए । अंग्र्रेजी फुटबलको ४ वटा व्यावसायिक लिग, रग्बी युनियन र क्रिकेट काउन्टी लगायतका प्रतिस्पर्धा क–कस्ले जित्छ भन्ने सही उत्तर दिएका उनले ३० पाउन्डको बाजी राख्दा झन्डै ५ लाख पाउन्ड हात पारेका थिए । रकमको हिसाबले बिल्ली वाल्टर्सले सन् २०१० मा जितेको ३.५ मिलियन अमेरिकी डलर, भेगस डेभले २०१५ मा जितेको २.५ मिलियन अमेरिकी डलर, स्टिभ ह्विट्नीले सन् २०११ मा २ पाउन्ड बाजी राखेर जितेको डेढ मिलियन डलर, फ्रेड र्क्याग्सले ५० सेन्ट बाजी राखेर जितेको १ मिलियन डलर, माइक फटरले सन् २००३ मा आफ्नै घोडामा बाजी राख्दा हात पारेको ८ लाख अमेरिकी डलर आदिलाई लिने गरिन्छ ।

आजभन्दा २ हजार वर्षअगाडि रोमन र ग्रीक सभ्यताकै पालामा सुरु भएको मानिने खेलकुदमा आधारित बाजी थाप्ने चलन सन् ११९० ताका बेलायतका राजाले पहिलोपटक औपचारिक अनुमति दिएपछि विधिवत् सुरु भएको मानिन्छ । आधुनिक स्पोर्टस् बेटिङ भने बेलायतमा १८ औं शताब्दीको सुरुवाततिर घोडसवारीमा बाजी राख्ने चलनसँगै स्थापित भएको बताइन्छ ।

१९ औं शताब्दीसम्म पुग्दा धनीमानीहरूले सोखका रूपमा अनि सर्वसाधारणले एक किसिमको जुवाका रूपमा बाजी राख्ने चलन युरोपका अन्य देशहरूमा समेत फैलियो । सन् १९९० ताकाबाट कम्प्युटर र अनलाइन प्रविधिको प्रयोगसँगै अनलाइनमा उपलब्ध हुन सुरु भएयता खेलकुदमा आधारित बाजी राख्ने होड निरन्तर फैलँदो क्रममा छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समेत प्रयोग गर्न मिल्ने भएसँगै यो अझै लतकै रूपमा विस्तार हुने संकेत देखापरिसकेका छन् ।

खेलकुदमा आधारित बाजी राख्ने कार्यलाई जुवा, संगठित अपराध, म्याच फिक्सिङ, घुसखोरी लगायतका आपराधिक क्रियाकलापसँग जोडेर हेर्ने गरिएको छ । अनलाइनमा व्यावसायिक स्पोर्टस् बेटिङ विस्तार भएसँगै लगभग ३०–३५ देशहरूले आ–आफ्नै हिसाबले नियमनको पहल गरेका छन् । अमेरिका र क्यानडाले स्पोर्टस् बेटिङको बजारलाई आधिकारिक मान्यता दिँदै त्यसलाई कानुनी रूपमै नियमन गरेका छन् । अमेरिकाले सन् २०१८ बाट राज्य सरकारहरूलाई आफ्नो स्थानीय आवश्यकताअनुसार स्पोर्टस् बेटिङको नियमन गर्ने अधिकार दिएको छ । युरोपका फ्रान्स, बेलायत, इटाली, जर्मनीजस्ता खेलकुदका ठूला लिग र प्रशंसकको जमात भएका देशले पनि स्पोर्टस् बेटिङको कानुनी रूपमा नियमन र व्यवस्थापनको प्रयत्न गरेका छन् ।

एसियामा मकाउ, फिलिपिन्स, जापान, दक्षिण कोरियाजस्ता देशहरूले विभिन्न किसिमका स्पोर्टस् बेटिङलाई कानुनी मान्यता दिएका छन् । दक्षिण अमेरिकाका अर्जेन्टिना, ब्राजिल र अफ्रिकी महादेशका दक्षिण अफ्रिका, केन्या, नाइजेरियासँगै अस्ट्रेलिया र न्युजिल्यान्ड लगायत देशहरूले पनि आफ्नै हिसाबले खेलकुदमा राखिने बाजीलाई नियमन गर्ने गरेका छन् । देश र क्षेत्रअनुसार खेलकुदको प्रकृति र बजारको दखल फरक हुने भएकाले देशपिच्छे र कुनै–कुनै बेला राज्यपिच्छे फरक तरिकाले स्पोर्टस् बेटिङलाई कानुनी दायरामा ल्याइएको पाइन्छ ।

फुटबल, क्रिकेटजस्ता विश्वव्यापी प्रभाव भएका खेलमा कानुनी मान्यता नपाएका देशहरूमा समेत बाजी राख्ने र सट्टा लगाउने प्रचलन दिनानुदिन बढ्दै गएको छ । उदाहरणका लागि भारतमा स्पोर्टस् बेटिङलाई कानुनी मान्यता छैन, तर अनेक नाममा खुलेका फ्यान्टासी टिम बनाउने प्लाटफर्म र अनधिकृत अनलाइन र लाइभ बेटिङ प्लाटफर्महरूले आईपीएलमा अर्बौं डलरको कारोबार हुने गरेको बताइन्छ ।

खेलकुदमा राखिने बाजी आर्थिक रूपमा कति आकर्षक छन् भन्ने कुरा, चलेका स्पोर्टस् बेटिङ कम्पनीहरूले देखाउँछन् । फ्लटर इन्टरटेनमेन्ट नामक अमेरिकी जुवा कम्पनीको फ्यान डुअल भन्ने स्पोर्टस् बेटिङ प्लाटफर्मले बेलायत, अस्ट्रेलिया र अमेरिकामा व्यवसाय गर्छ, यसले अमेरिकी स्पोर्टस् बेटिङ बजारको झन्डै ४७ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । सन् २०२३ को अन्त्यतिर लगभग ३१ अर्ब अमेरिकी डलरको सम्पत्ति बनाएको उक्त कम्पनीको रेकर्डमा उल्लेख छ । यस्तै, बेटएमजीएम नामक झन्डै १६ अर्ब डलर बजार मूल्य भएको कम्पनीले अमेरिकी बजारमा चलेका बास्केटब्ल, बेसबल, हकी लगायतका खेलमा आफ्नो व्यवसाय गर्दै आएको छ ।

फ्यान्टासी स्पोर्टस् प्लाटफर्मका रूपमा सुरु भएको ‘ड्राफ्टकिङ्स’ बेटिङ बजारको अर्को प्रमुख खेलाडी हो । हाल १३ अर्ब अमेरिकी डलरको कम्पनी बन्न सफल ड्राफ्टकिङ्सले फुटबल, बास्केटबाल, गल्फ, टेनिस, साइक्लिङ, रेसिङ, हकी लगायत अनेकौं खेलमा बाजी लगाउन मिल्ने गरी आफ्नो सेवा विस्तार गरेको छ । यीसँगै विशेषतः बास्केटबल खेलमा बाजी लगाउन मिल्ने ‘सिजर इन्टरटेनमेन्ट’ लगभग १२ अर्ब डलरको कम्पनी बनिसकेको छ । तुलनात्मक रूपमा गोप्य सेवा दिने झन्डै ११ अर्ब डलरको कम्पनी ‘विन रिजोर्ट्स’, फुटबल खेलहरूमा चर्चित ‘बेट–३६५’, क्रिकेटमा उदाउँदा ‘१० क्रिक’ र ‘बेटफेयर’ जस्ता कम्पनीहरूले पनि आफ्नो सेवा विस्तार गर्दै लगेका छन् ।

यीबाहेक, अफसोर कम्पनी र क्रिप्टो करेन्सीमार्फत पनि कारोबार गर्न मिल्ने, भारतजस्ता जनसंख्या बढी भएका देशमा स्थानीय रूपमै कानुनी छिद्रहरू प्रयोग गरेर बजारमा क्रियाशील कम्पनीहरू सयौंको संख्यामा रहेको सहजै अनुमान गर्न सकिन्छ ।

खेलकुदमा आधारित बेटिङले मान्छेहरूलाई लत बसाल्ने मात्रै नभएर गैरकानुनी क्रियाकलापतर्फ पनि धकेल्ने गरेको विभिन्न उदाहारण र अध्ययनहरूले देखाएका छन् । बेटिङ सञ्चालन गर्नेहरूका लागि खेलका क्रममा हुने सानातिनादेखि ठूला परिणाम र अवसरहरूले लाखौं डलरसम्म कमाइको अवसर जुटाउँछन् । यसले गर्दा खेलाडी र सम्बन्धित अधिकारीहरूलाई प्रयोग गरेर गरिने म्याच वा स्पट फिक्सिङले सम्पूर्ण खेल क्षेत्रलाई नै झट्का दिने गरेको छ ।

सन् १९१९ मा ब्ल्याकबक्स स्क्यान्डलका रूपमा चर्चित बेसबलसँग सम्बन्धित फिक्सिङको घटनामा सिकागो ह्वाइट सक्सका ८ जना खेलाडीहरूले एक बेटिङ सिन्डिकेटसँग पैसाको लोभमा जानाजान वर्ल्ड च्याम्पियनसिप खेल हारेको सार्वजनिक भएको थियो । सन् १९५१ मा बास्केटबाल खेलसँग सम्बन्धित यस्तै फिक्सिङ कान्डमा न्युयोर्कको सिटी कलेजलगायत अन्य टिमका दर्जनौं खेलाडी जानाजान खेलको परिणाम तलमाथि गरेको आरोपमा पक्राउ परेका थिए ।

पछिल्ला दिनमा बेटिङको जालो सबैभन्दा बढी फुटबल र क्रिकेटमा फैलिएको र विभिन्न खेलाडीहरूमाथि फिक्सिङमा सहभागी भएको आरोप लाग्ने गरेको छ । फुटबल इतिहासकै गैरकानुनी बेटिङमा आधारित घटनाको रूपमा लिइने सन् २००६ को काल्सियोपोली फिक्सिङ घटनाले इटलीको फुटबललाई नै हल्लाइदिएको थियो । चर्चित इटालियन क्लबहरू जुभेन्ट्स, एसीमिलान, फियोरेन्टिनो, लाजियो लगायत क्लबका पदाधिकारी र खेलाडी संलग्न उक्त घटनाले इटालीको सबैभन्दा प्रख्यात क्लबमध्ये एक जुभेन्टसलाई डिभिजन दुईमा झारिदिएको थियो । अन्य क्लबहरूलाई पनि जरिवाना गरिएको थियो ।

बेटिङ कम्पनी र नेटवर्कहरूलाई फाइदा पुर्‍याउन म्याच वा स्पट फिक्सिङ क्रिकेटमा पनि बढ्दै गएको छ । यसको चर्चित उदाहरणका रूपमा दक्षिण अफ्रिकाका तत्कालीन कप्तान हेन्सी क्रोन्ये र भारतका चर्चित खेलाडी मोहम्मद अजहरुद्दिनले स्वीकार गरेको फिक्सिङ अभियोगलाई लिन सकिन्छ । भारतकै चर्चित आईपीएलमा बेटिङ कम्पनीहरूलाई आर्थिक प्रलोभनमा परेर सघाएको घटनाले भारतीय चर्चित क्रिकेटर एस. श्रीसंथको खेल जीवन नै समाप्त गरिदिएको थियो । महेन्द्र सिंह धोनीको क्लब चेन्नई लगायत क्लबहरू दुई वर्ष प्रतिबन्धमा परेका थिए । अंग्र्रेजी प्रिमियर लिगमा ब्रेन्टफोर्डका चर्चित खेलाडी आइभान टोनी गैरकानुनी बेटिङमा संलग्न भएकोमा प्रतिबन्धित भएको घटना खेलमा आधारित बेटिङले निम्त्याउने गैरकानुनी कार्यको पछिल्लो उदाहरण हो ।

नेपाली खेलकुदमा सबैभन्दा चर्चित बेटिङसम्बन्धी उदाहरणका रूपमा २०७२ साल असोजमा राष्ट्रिय फुटबल टिमका चार खेलाडीसँगै ६ जना पक्राउ परेको घटनालाई लिइन्छ । खेलकुद क्षेत्रमै तहल्का मच्चिएको उक्त घटनामा तत्कालीन कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्रीसँगै प्रशिक्षक अञ्जन केसी र फिजियो डेविज थापाले बेटिङ सञ्चालन गर्नेहरूलाई सघाउन १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिखेल ५ हजार डलर लिएर मिलेमतो गरेको आरोप लागेको थियो ।

त्यस्तै, गत वर्ष आयोजित नेपाल प्रिमियर लिग नामक क्रिकेट प्रतियोगितामा पनि बेटिङ सञ्चालकहरूले विभिन्न टिमका खेलाडीहरूलाई मिलेमतोका लागि प्रस्ताव गरेको भन्ने सार्वजनिक अभिव्यक्ति राष्ट्रिय खेलाडीहरूले नै दिएपछि दुईजना पक्राउसमेत परेका थिए । पक्राउ पर्नेमा महबुब आलम र मोहम्मद आदिल आलम थिए । खेलकुदमा आधारित बाजीले निम्त्याउने समस्या फिक्सिङ मात्रै नभएर अवैध कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी समस्या पनि हो । पछिल्ला दिनमा विशेषगरी लुकेर खेलाइने बाजीले अवैध कारोबार र रकम ओसारपसारलाई प्रोत्साहन गर्ने गरेको छ । बेटिङको लतले सर्वसाधारण विभिन्न स्क्याम र धोखाधडीको सिकार पनि बन्ने गरेका छन् । कानुनी होस् वा अवैध, दिनानुदिन थपिने नयाँ तथा आकर्षक प्लाटफर्महरूले थप्ने नियमनको समस्या एकातिर छ भने अर्कोतिर बेटिङको लतले विशेषतः युवा वर्गमा पर्न सक्ने लत पनि चिन्ताको विषय बन्दै गएको छ ।

नेपालले क्रिकेट विश्वकपजस्ता ठूला प्रतियोगिताहरूमा सहभागिता बढाउँदै लगेको र इन्टरनेटसँगै स्याटेलाइट टीभीका कारण राष्ट्रियअन्तर्राष्ट्रिय खेलकुदका दर्शक बढेको अवस्थामा समयमै नियमन, कानुनी स्पष्टता र सचेतनाको पहल गरिनुपर्छ । इन्टरनेटमा निःशुल्क वा आकर्षक अफरसहित देखिने यस्ता कतिपय प्लाटफर्महरूलाई सरकारले नै सक्रियतापूर्वक नियन्त्रणको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : असार १५, २०८१ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×