कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

प्रधानमन्त्री दाहालको सचिवालय भन्छ :  देउवा-ओलीबीचको 'चिया-भेट'ले भयंकर चर्चा पायो

सत्ता समीकरणमा उथलपुथल आउन लागेको विषय गलत भएको दाबी
गंगा बीसी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब तीन घण्टा लामो एक्लाएक्लै छलफल सकिएको छ । एमाले र कांग्रेस मिलेर गठबन्धनको चर्चा चलिरहेका बेला भएको दुई नेताबीच यसमै केन्द्रित रहेर छलफल भएको हो ।

प्रधानमन्त्री दाहालको सचिवालय भन्छ :  देउवा-ओलीबीचको 'चिया-भेट'ले भयंकर चर्चा पायो

भेटवार्तापछि प्रधानमन्त्री दाहालको सचिवालयले सत्ता समीकरणमा उथलपुथल आउन लागेको विषय गलत भएको दाबी गरेको छ । दुई नेताबीचको छलफल समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार सिंहदबारमा संक्षिप्त कुराकानी गरेका ओली र दाहालबीच सोमबार लामो छलफल गर्ने तय भएअनुसार ओली बिहान साढे नौबजे बालुवाटार गएका थिए ।

देउवा र ओलीबीच बालकोटमा भएको कुराकानीले नेपाली राजनीतिमा तरङ्ग ल्याए पनि त्यसको असर समीकरणमा नदिएको प्रधानमन्त्री दाहालको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले बताइन् । ‘दुई शीर्ष नेताबीच सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा लामो कुराकानी भएको हो,’ उनले भनिन्, ‘छलफल एकदम राम्रो भयो ।’ उनले दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको उल्लेख गर्दै दुई नेता दुवै सदनबाट बजेट पारित हुनेबित्तिकै सरकारको कामलाई तिब्रता दिने टुंगोमा पुगेको बताइन् ।‘बालकोटमा भएको (देउवा र ओली) भेटघाट सामान्य चिया खान भएको रहेछ,’ उनले भनिन्, ‘त्यसको भयंकर चर्चा भइदियो ।’

प्रधानमन्त्रीका अर्का स्वकीय सचिव रमेश मल्लले चर्चा भएजस्तो समीकरणमा दरार नआएको दाबी गर्दै दुई शीर्ष नेताबीच सकरात्मक सन्देश दिनेगरी छलफल भएको बताए । ‘बाहिर चर्चा आएजस्तो समीकरणमा समस्या आएको होइन,’ उनको दाबी छ, ‘दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा राम्रो कुराकानी भयो ।’ उनले दुवै सदनबाट बजेट पारित भएपछि सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न दुई नेताबीच गम्भीर कुराकानी भएको बताए । पछिल्ला भेटवार्ताबारे ओलीको भनाइ भने सार्वजनिक भएका छैनन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी), नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ओली र दाहालबीच विवाद छ । संसद्‍बाट छिटो पारित गर्ने पक्षमा रहेका दाहाल ओलीले साथ नदिँदा असन्तुष्ट छन् भने बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै ओली आक्रोशित भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीचको असार १५ को संवादपछि झस्किएका दाहालले सोमबार ओलीसँग गम्भीर संवाद गरेका हुन् । स्रोतका अनुसार दाहालले सरकारका कामकारबाहीमा समस्या भए सच्याएर जान सकिने भन्दै धितोपत्र बोर्डलगायत अन्य नियुक्ति समझदारकिा आधारमा अघि बढ्ने प्रतिबद्धता गरेका छन् । ‘कांग्रेससित मिलेर समीकरण बनाउन खोज्नु भएको हो भने खुलस्त कुराकानी गरौँ भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ स्रोतले भन्यो, ‘सरकारका कामकारबाहीमा असन्तुष्टि हो भने सच्याएर जान सकिन्छ । त्यो काम गर्न समस्या छैन ।’

दाहालले दुई साताअघि एमाले र माओवादीका एक-एक मन्त्री फिर्ता बोलाएर नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रस्तावलाई ओलीले अस्वीकार गरेका थिए । त्यसबेला ओलीले एमालेका मन्त्री भर्खर काम सुरु गरेकाले फिर्ता गर्न निमल्ने भन्दै सम्भव भए माओवादी मन्त्री हटाउन भनेका थिए । त्यसपछि मन्त्रिपरिषद् हेरफेर स्थगित भएको छ । ओलीले आइतबार एमाले कृषि विभागको कार्यक्रममा सानातिना राजनीनिक नियुक्तिमा नअल्झिन प्रधानमन्त्रीलाई भनेको बताएका थिए । उनले नीतिगत विषयमा छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : असार १७, २०८१ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×