कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आप्रवासीका नवोदित कथाकार

नेपाल र अमेरिकाको जीवनशैली बरोबर चित्रण गरेका रञ्जनका पात्रहरूको एउटै समानता हो– ती जम्मै नेपाली हुन् । 

एउटा लेखकले आफ्ना पात्रहरूलाई दिनुपरे के उपहार देला ? उत्तर दिनुअघि रञ्जन अडिगा केहीबेर घोत्लिए । अनि भने, ‘म ती खुसीहरू दिन्छु, जो आफैंले पाइरहेको हुन्न ।’ भर्खरै ‘पेन्गुइन र्‍यान्डमहाउस’ बाट निक्लेको छ उनको कथा संग्रह– लिच एन्ड अदर स्टोरिज ।

आप्रवासीका नवोदित कथाकार

र, त्यसबारे खोजखबर गर्न उनी अमेरिकाको प्राध्यापकीय जागिरबाट विश्राम लिएर जन्मथलो नेपाल आइपुगेका छन् । काठमाडौंमा यतिखेर उनले गरिरहेको भेटघाट र अन्तर्क्रियाहरूबाट रञ्जनलाई केही नयाँ तथ्यको बोध भइरहेको छ । बाहिर चिनिनु एउटा कुरा, एउटा लेखकका लागि सबभन्दा ठूलो खुसी देशमै चिनिनु हुँदोरहेछ वा सबभन्दा ठूलो बेखुसी पनि देशमै नचिनिनु हुँदोरहेछ भन्ने उनको अनुभवले भन्छ ।

एउटा लामो प्रयत्नपछि अन्तर्राष्ट्रिय बजारमा पुस्तक पुग्ने गरी पेन्गुइनले छापेपछि पाएको खुसी लिएर उनी नेपाल फिरेलगत्तै काठमाडौंका पुस्तक पसलहरूमा सुटुक्क छिरे । पसलको अग्रभागमा आफ्ना पुस्तकहरू राखिएको देख्दा उनमा एक लेखकले पाउनुपर्ने सन्तुष्टिको तत्काल आविर्भाव पनि भयो । सन्तुष्ट भावदशामा मानिस सायद विनोदप्रिय हुन पुग्छन् । पाटनढोकाको पुस्तक पसल पुग्दा रञ्जनलाई पनि भएको त्यही थियो सायद, आफ्नै पुस्तक देखाएर उनले त्यसबारे पसलेसँग केही रमाइला गफ गर्ने विचार गरे ।

‘यो कसको किताब हो हँ ?’ उनले पसलेलाई सोध्न पुगे । पसलेले के भन्दा रहेछन् आफ्नाबारे भन्ने जान्ने उत्कण्ठाले प्रेरित थियो यो बुझ पचाइएर सोधिएको प्रश्न । ‘यो एक भारतीय लेखकको हो,’ पसलेले चाखलाग्दो गरी पुस्तक उठायो र भन्यो, ‘पढ्नु होला, मज्जाको कथा यसमा छन् ।’

त्यो पसलमा मात्रै उनको पुस्तकको लेखक भारतीय भनेर चिनाइएको होइन, अरू धेरै पसलमा पनि भनिएको यही थियो । रञ्जनलाई पसलेको उत्तरले केही खल्लो बनाए पनि अचम्मित भने पारेन । ‘मलाई थाहा छ, मेरो देशमा मलाई चिन्नेहरू छैनन्,’ भन्छन्, ‘र, यसमा म गुनासो पनि गर्दिनँ ।’

लेखक रञ्जन अडिगा । तस्बिर : अंगद ढकाल/कान्तिपुर

पशुपतिको मूलभट्ट भई दक्षिण भारतबाट नेपाल आएका उनका हजुरबाले यतै घरजम गरे । पूरै तीन करोड जनसंख्यामा आफ्नो परिवारजनको मात्रै थर अडिगा हुँदा लामो समयदेखि अमेरिकामै बस्ने उनलाई यहाँ भारतीय ठानिएको यो पहिलो घटना थिएन । र, सायद अन्तिम पनि हुनेछैन दुर्भाग्यवश । ‘यहाँ मात्रै होइन, अमेरिकामा पनि मेरो हालत यही हो,’ रञ्जन भन्छन्, ‘त्यहाँ मलाई एसियाली भन्छन्, भारतमा जाँदा नेपाली भन्छन् र नेपालमा जाँदा चाहिँ भारतीय, म त सधैंको होमलेस मानिस ।’

रञ्जनलाई के लाग्छ भने, कतैको हुन नसक्नुको यही भावको बोधले उनलाई सायद लेखक बनाएको हो । त्यसैले उनका कथामा आप्रवासनमा परेका अनेकन नेपाली पात्र छन्, जो पढ्दा पाठकलाई समकालीन समाजमा सीमान्तकृतहरूको मनोदशा कस्तो छ भन्ने प्रस्ट बोध हुन्छ । जनकपुरबाट काठमाडौंमा आएर संघर्ष गरिरहेको राम होस् कि काठमाडौंबाट अमेरिका पुगी त्यहाँको हुन खोजिरहेको समीर होस्, दुवै नै मूलधारको समाजबाट बाहिर बाहिरै घुमिरहेको मनोदशामा आफूलाई पाउँछन् ।

काठमाडौंकी सम्भ्रान्त युवती जुनेलीले गुप्त रूपमा रामलाई गरेको प्रेमले एक तिक्ततापूर्ण नियति झेल्न पुग्छ र उनीहरू दुई अलग्गिने अवस्थामा पुगेपछि अब के होला भन्ने प्रश्न पाठकको मनमा उब्जेका बेला कथा सकिन्छ । अमेरिकामा धनाढ्यहरूको वर्गमा उक्लिएका ‘शर्माजी’ हरूको अघिल्तिर डीभी परेर अमेरिका पुगेपछि त्यहाँको जीवनमा फिट हुन चाहिने खर्चपानी मुस्किलले जुटाउन संघर्ष गरिरहेको समीरलाई भनेजस्तो पैसा कमाउन नसकेको पीर एकातिर छ भने पत्नी पूजाले बिहेअघि नै कौमार्य तोडेको रहस्य उद्घाटन हुँदा आइलागेको दुःख अर्कातिर । काठमाडौंमा समीरको जीवन रामको जीवनअघिल्तिर भव्य हुँदो हो । तर, डेनभरमा उसको नियति रामको भन्दा गतिलो छैन ।

काठमाडौंको सभ्रान्त वर्गले पेरिफेरिबाट आएको संघर्षशील रामलाई ‘लिच’ अर्थात् जुका भन्यो, मायाजालमा धनी केटीलाई फसाएर आफ्नो स्वार्थको रोटी सेक्न खोजेको परजीवी मान्यो । उता, डेनभरमा शर्माजीहरूको भव्यता देखेर लोभिएकी उसकै पत्नीले समीरलाई ‘संकीर्ण सोचाइ भएको पुरुष’ भनी । यी दुई कथाको तुलनात्मक विवेचनाले मात्रै पनि झल्को दिन्छ, कस्ता कथा लेख्न रुचाउँछन् रञ्जन ।

‘मूलधारको समाजमा गणनामा नआउनेहरूको जीवनलाई म कथामा मायाले सम्हालेर उधिन्न मन गछुर्,’ रञ्जन भन्छन्, ‘जुनसुकै देश र समाजमा जहिल्यै पनि छेउकिनारका मानिस हुन्छन्, जसलाई मूलधारकाले गन्दैन, तर तिनमा पनि मानवीय भावनाहरू अरूमा जस्तै हुन्छन् है भनेर म कथामा देखाउन खोज्छु ।’

कथामा नेपाल र अमेरिकाको जीवनशैली बरोबर रूपले चित्रण गरेका रञ्जनका सबै पात्रहरूको एउटै समानता के हो भने ती जम्मै नेपाली हुन् । जन्मेदेखि नै अंग्रेजी बोल्न उत्प्रेरित गरिएका, सेन्ट जेभियर्सको स्कुले जीवनमा अमेरिका जाने सपनाहरूलाई मलजल गर्न सिकाइएका र अन्ततः अमेरिका गएर सिर्जनात्मक लेखनमा विद्यावारिधि गरिवरी त्यहीं नै दस वर्षदेखि यही विषय पढाइरहेका रञ्जनले अमेरिकाका रैथाने गोराहरूको कथा चाहिँ किन नलेखेका होलान् ? हालैको एक साँझको गफगाफमा सोधिएको यो प्रश्न उनका लागि अपेक्षित थियो सायद ।

‘म जति नै दशक अमेरिका बसेको भए पनि र मलाई जति राम्ररी अंग्रेजी लेखपढ गर्न आए पनि मैले गोराहरूका बारेमा लेख्नु भनेको सतही साहित्य सिर्जना गर्नु हो,’ रञ्जन भन्छन्, ‘किनभने, आफूले नभोगेको जीवन र संस्कृतिको कथा लेख्नु भनेको मौलिक र आधिकारिक साहित्य लेख्नु होइन ।’

एक नेपालीका रूपमा आफू पशुपतिको मूलभट्टको नाति भएर आधुनिक शिक्षामा पहुँच राख्न सक्ने थोरै ‘प्रिभिलेज्ड’ मानिस ठान्छन् उनी । हिन्दुहरूको सबैभन्दा ठूलो तीर्थस्थलको मूल पुजारी हजुरबा हुन पाउनु, सम्भ्रान्त परिवार हुनु र पुरुष हुनु मूलधारको जीवनमा स्थापित हुन आवश्यक आधार हुन् नेपालमा । तर, उही मानिस अमेरिकामा पुग्दा पहिचानको संकटमा पर्दोरहेछ, यो अनुभव उनले गरे । र, धेरै वर्षपछि फर्केर देश आउँदा देशले नै विदेशी ठान्दोरहेछ । आफूलाई ‘अडिगा’ थरले भारतीय ठनाएको देखेपछि उनी एक पटक पुर्खाको थातथलो खोज्दै दक्षिण भारतको कर्णाटकस्थित एक गाउँमा पुगे पनि । तर, त्यहाँ न कसैले उनलाई चिने न कसैको भाषा उनले बुझ्न नै सके । यस्तो उखेल्लिएको अनुभव एक लेखकका लागि सिर्जनाको ठूलो कच्चा पदार्थ हो भन्नेमा रञ्जनको भिन्न मत छैन ।

‘हामी सबको जीवनमा केही न केही कमी हुन्छ,’ रञ्जन भन्छन्, ‘तर, लेखकका लागि त्यही कमीको बोध नै लेखकीय ऊर्जा हो ।’ काठमाडौंको डिल्लीबजारमा जन्मेहुर्केका रञ्जनलाई नेपाली भाषामा पकड नभएकामा खिन्नता छ । आफ्नो साहित्य, इतिहास, दर्शन र समाज बुझ्न आफ्नै भाषामा दक्षता हुनुपर्ने रहेछ भन्ने बोधले उनलाई घरिघरि बिथोल्छ । उनका १० कथाहरूको संग्रह ‘लिच एन्ड अदर स्टोरिज’ को एसियाली संस्करणपछि सेप्टेम्बरमा पेन्गुइन र्‍यान्डम हाउसले विश्वभरका पाठकका लागि अमेरिकाबाट पनि प्रकाशन गर्दै छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन भूमिका निर्वाह गर्ने लेखकहरू मञ्जुश्री थापा र सम्राट उपाध्यायहरूको क्बलमा भर्खरै प्रवेश गरेका रञ्जन सोमबार अमेरिकी संस्करणको प्रकाशनअघि मिलाउनुपर्ने चाँजोपाँजोका लागि फर्किंदै छन् ।

पहिलो पुस्ताको अमेरिकी आप्रवासीका रूपमा उनको आफ्नै अनुभव कथाहरूमा अनेकन पात्रहरूमार्फत उधिनिएका छन् । ‘आख्यान लेख्ने मुख्य दुई तरिका छ, एउटा पूरै कल्पनात्मक र अर्को चाहिँ पूरै वास्तविकतामा आधारित,’ उनी भन्छन्, ‘वास्तविकता र कल्पना मिसाएर लेख्ने अर्को तरिका पनि छ, म चाहिँ यही तेस्रोको प्रयोग सीमान्तकृत जीवनको वास्तविकता लेख्न प्रयोग गर्छु ।’

अन्तर्राष्ट्रिय साहित्यमा दक्षिण एसियाली आप्रवासीका अनुभव भन्नेबित्तिकै कि भारतीय कि पाकिस्तानी लेखकहरूको नाम आउने हुनाले नेपालको विस्तारित डायस्पोरा पूरै ओझेलमा थियो । यो अवस्थालाई ‘लिच एन्ड अदर स्टोरिज’ ले केही हदसम्म हटाउने जमर्को गरेको छ ।

सम्पूर्ण संग्रहमा उनका पात्रहरूले विदेशी भूमिमा नयाँ पहिचान बनाउने जटिलताहरूको सामना गर्छन् । लेख्नलाई उनले नेपाली पात्रको विस्थापनमा पर्दाको कथा लेखे पनि त्यो आप्रवासनको झमेलामा परेर घरभन्दा पर अर्को ठाउँ पुगेको विश्वका जुनसुकै मानिसको अनुभूतिसँग मेल खान्छ । किनभने, हर्ष र विस्मात् अनि सुख र दुःख जुन समाजको जुनसुकै अवस्थाको मानिसले गरे तापनि त्यसमा मनुष्यत्वको सार्वकालिक भावना जोडिएको हुन्छ । यही सोचेर हुनुपर्छ, पेन्गुइनले केही महिनाको दौरानमै एसिया र अमेरिका दुवैतिरका पाठकका लागि पुस्तक प्रकाशनको चाँजो मिलाएको छ ।

प्रकाशित : असार १५, २०८१ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×