कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

‘मुलुकलाई अगाडि लैजान सहकार्य गर्ने निष्कर्षमा पुगेका छौं’

मुलुकमा संकटका बेला एमाले र कांग्रेस मिल्ने गरेको इतिहास छ । अहिले यस्तो संकटका बेलामा मिल्ने भन्ने कुरा भएको हो ।

काठमाडौँ — सत्तारुढ गठबन्धनबीच कार्यशैलीको विषयमा मतभेद चुलिएको आशंका बढीरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बढेको संवादले नयाँ राजनीतिक तरंग आएको छ । गठबन्धन नै फेरबदल हुनेसम्मको तयारी भइरहेको कुरा आइरहेका छन् ।

‘मुलुकलाई अगाडि लैजान सहकार्य गर्ने निष्कर्षमा पुगेका छौं’

यसै सन्दर्भमा कांग्रेस नेता मीन विश्वकर्मासँग गरिएको संक्षिप्त कुराकानी :

पछिल्लो समय कांग्रेस सभापति देउवा र सत्तारुढ घटकको प्रमुख एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भइरहेका छन्, के विषयमा भेट भएका हुन् ?

प्रमुख प्रतिपक्षी दलका नेता र दोस्रो दलका नेताबीच लामो समयसम्म भेटघाट भइरहेको थिएन । भेट नहुनुको कारण एकआपसमा अविश्वास थियो । लामो समयपछि हिजो भेट भयो र लामो भेट भयो । यो भेटले दुई नेताबीच विश्वास बढाएको छ । यो भेटले विश्वाससँगै राष्ट्रिय राजनीतिमा देखिएका समस्या समाधानका लागि पहल गर्ने सहमति पनि भएको छ ।

त्यो भनेको सरकार गठनसम्म हो ?

सरकारका कामप्रति जनता सन्तुष्ट नभएको अवस्था छ । बजेटलगायतका विषयमा सत्तारुढ दलबीच एकमत छैन, प्रधानमन्त्रीको जबर्जस्तीबारेमा सत्ता समीकरणमा रहेका एमाले र रास्वपा नै बोलेका छन् । विपक्षी हामीले त सरकारका कामकारबाही ठिक छैनन् भन्ने नै भयौं । हिजोको (शनिबार) भेटले सरकार ठिक छैन भन्ने निष्कर्ष निकालेको हो, जनआकांक्षा पूरा गरेन भन्ने कुरा पनि भए ।

मुलुकमा संकटका बेला एमाले र कांग्रेस मिल्ने गरेको इतिहास छ । अहिले यस्तो संकटका बेलामा मिल्ने भन्ने कुरा भएको हो तर सरकार बनाउने र ढाल्ने नै निर्णयसम्म गइसकेको होइन ।

यसैबीच कांग्रेस सभापतिले पदाधिकारी र पूर्वपदाधिकारीको बिस्तारित बैठक नै बोलाउनुभएको छ, किन ?

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा भातृ संगठनबारे छलफल हुन्छ । भातृ संगठनले असार १५ सम्म अधिवेशन गरिसक्ने भनिएको थियो त्यसमा के गर्ने भन्ने विषय छन् । भातृ संगठनमा देखिएका विवाद समाधानबारे पनि छलफल हुन्छ । समसायमिक राजनीतिबारे पनि नेताहरूले कुरा उठाउादा छलफल हुन्छ ।

सत्ता र प्रतिपक्षमा रहेका दुई प्रमुख नेता भेट्नु, यसैबीच सभापतिले पदाधिकारी बैठक बोलाउनुलाई सरकारबारे केही होइन भन्न मिल्छ ?

फरक दलका नेता एक ठाउँमा बस्दा सरकार गठनका बारेमा हो कि भन्ने आँकलन हुनु स्वाभाविक हो । सरकार गठनका बारेमा कुरा भएन, होइन भन्न पटक्कै सकिँदैन । ती बसाइ सरकार बदल्नैका लागि होइन भन्न सकिँदैन । अहिले संसद्मा संक्रमणकालीन विधेयक विचाराधीन छ, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा उतारचढाव आएको छ, सरकारको कार्यसम्पादन र प्रस्तुति क्षमता शून्य छ । यस्तो बेलामा मुख्य दल बाहिर बस्ने कि हस्तक्षेप गर्ने भनेर जनताले भनिरहेका छन् । तर बैठक सरकार बदल्नका लागि मात्रै भने होइन ।

यी बैठकका परिणाम कहिले निस्किन्छन् ?

राजनीति भविष्यवाणी गर्ने विषय होइन । मुलुकलाई कसरी अगाडि लैजाने भन्ने विषयका विविध उपायबारे छलफल भई सहकार्य गर्ने निष्कर्षमा पुगियो । सहकार्य गर्ने कुरा भएको छ ।

प्रकाशित : असार १७, २०८१ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×