कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भिटेनको बागी र्‍यापशाला

भिटेन असलमा गरिबीका गायक हुन्, दुःखका गायक हुन्, आजको युवाले बेहोरिरहेको हतासा र निराशाका गायक हुन् । भिटेनले आमाको जुनि जस्तो देखे, उनलाई लाग्यो– संसार दुःखैदुःखले भरिएको छ ।
गीत, नदी र जिन्दगीमा केही समानता भेटेका छन् भिटेनले, केवल नदीजस्तै बग्नु रैछ जीवन भन्ने दर्शनबोध छ उनलाई
दीपक सापकोटा

भलादमी जगत्का निम्ति गायक भिटेन कुनै ‘आतंक’ भन्दा कम छैनन् । किनभने, ‘सडक वाङ्मय’ अन्तर्गत पर्ने उनका गीत (र्‍याप) मा शिष्टता, शालीनता, संस्कारजस्ता भलादमी तत्त्वहरूको धज्जी उडाइएको हुन्छ । भिटेन भन्छन्, ‘सक्ने भए मलाई यो देशका जेन्टलम्यानहरूले देशै निकाला गर्थे होलान् । जेलमा त जाकी नै हाले ।’

भिटेनको बागी र्‍यापशाला

समाचारको दुनियाँमा पसिखोज्ने हो भने र्‍यापरहरू आफ्ना शब्द (लिरिक्स) का कारण बेला–बेला जेलको हावा खाइरहेका हुन्छन् । सिर्जनशील स्वतन्त्रताका लागि कहलिएको अमेरिकामै कैयौं र्‍यापरलाई तिनका ‘आपत्तिजनक’ शब्दले कारागार चलान गराएका छन् । त्यसैले भिटेन पक्राउ प्रकरणलाई त्यति धेरै चकित बनाउने घटना किन मान्नु ?

हिप–हप अर्थात् र्‍यापको जन्मदेखि नै यसले प्रहार खेपिरहेको छ । अमेरिका, न्युयोर्क सिटीको द ब्रोंक्स काउन्टी हो, यसको जन्मथलो । सन् १९७० को दशक हो, यसको जन्ममिति । अफ्रिकी–अमेरिकी र एफ्रो–क्यारिबियन आप्रवासी हुन्, यसका जन्मदाता । गरिबी, अन्याय, विभेद, राजनीति, एक्टिभिजम आदि यी र्‍यापरका विषय हुन्थे ।

चरम गरिबीग्रस्त द ब्रोंक्समा जन्मेको संगीतको ‘जान्रा’ मा चन्द्रनिगाहपुर, रौतहटमा जन्मेका र काठमाडौंको सडकमा संघर्ष गरिरहेका एक जना किशोरले एउटा इँटा थपे— ‘गरिबको छोरो म’ गीतमार्फत । ती किशोर भिटेन थिए, आजका सम्भवतः सबैभन्दा लोकप्रिय र्‍यापर ।

सन् १९८९ मा डिजे ज्याजी जेफ र द फ्रेस प्रिन्सले पहिलो हिप–हप ग्रामी अवार्ड जिते । यसरी विश्व संगीतमा र्‍यापले प्रतिष्ठा हासिल गर्‍यो । जेफ र प्रिन्सले ग्रामी हात पारेको गीतको बोल थियो, ‘प्यारेन्ट्स जस्ट डन्ट अन्डरस्ट्यान्ड ।’ अर्थात्, ‘बाउआमा कुरै बुझ्दैनन् ।’ भिटेनको जीवनमा पनि यस गीतले धेरथोर तालमेल राख्दो रहेछ । यसको चर्चा अलिक तल गरिनेछ ।

***

भिटेनको आफ्नै गायन पद्धति छ । गीतलाई ‘जीवन्त’ बनाउन र प्रत्येक शब्दलाई ‘आकार’ दिन भिटेन यसरी गाउँछन् कि गाउँदागाउँदै कुनै बेला उनको आवाज उच्च सुरमा पुग्छ त कुनै बेला त्यही आवाज ओर्लिएर मुनि आउँछ । शब्दलाई संगीतले सिँगार्दाको पहिलो सर्त नै रचनाको भावलाई आकार दिनु हो । भिटेन पनि भन्छन्, ‘रिस पोख्दा लाउड र दुःख अनि पीडा व्यक्त गर्दा मधुरो आवाज ।’

र्‍यापर भिटेन । तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

गीत, नदी र जिन्दगीमा केही समानता भेटेका छन् भिटेनले । ‘केवल नदीजस्तै बग्नु रैछ जीवन’ भन्ने दर्शन–बोध छ र्‍यापर भिटेनलाई । बालककालदेखिको आफ्नो हुर्काइ, बुझाइ र दुःखलाई नदी बग्नुसँग तुलना गर्छन् उनी । भन्छन्, ‘जसरी नदी बेला–बेला मात्तिएर, हुर्रिएर ढुंगामा ठोक्किँदै बगिरहेको हुन्छ, ल भन्नुस् त मान्छेको जिन्दगी पनि त्यसैगरी भीर–पहरामा ठोक्किँदै बगेको छैन त ?’

***

विभिन्न बाजाहरूको खाँचो पर्दैन र्‍याप बनाउन । ड्रम र बेस बिट भए र्‍यापलाई पुग्छ । परम्परागत गीतमा झैं स्थापित गणितीय लय र्‍यापमा हुँदैन । ‘स्टोरी टेलिङ पोइट्री र्‍याप हो, कुराकानीको शैली पनि र्‍याप हो,’ र्‍यापर टुपाक साकुरले भनेका छन् । ‘आर.ए.पी’– ‘रिदम एन्ड पोएट्री’, अर्थात् एक लयदार कविता ! बिट र रिदममा कविता भनिने एक सजिलो माध्यम हो– र्‍याप ।

सुन्दा सहज सुनिए पनि एउटा र्‍याप बनाउन त्यसपछाडि शब्द र शैलीको परिपक्व मेल हुनुपर्छ । श्वेतको दमनविरुद्ध अश्वेतहरूले चिसा–चिसा, अँध्यारा–अँध्यारा गल्लीहरूबाट सुरु गरे– ‘र्‍याप’ । सन् १९७० को दशकको त्यो सडक–कविता अभियानमा तिनले शोषणविरुद्ध विस्फोट बोले, आगो ओकले । रंगभेद, गल्ली–कविता र शोषणविरुद्धको स्वरबाट र्‍याप जन्मियो, जहाँ राजनीतिक–सामाजिक विंसगति, प्रेम, पीडाका कथा गाइए । यसरी विश्वभरि नै एउटा पुस्ताको अभिव्यक्तिको माध्यम बनेको छ– र्‍याप ।

नेपालमा पनि समयक्रममा र्‍याप भित्रियो । नेपाली र्‍यापको गोरेटो गिरीश खतिवडा, सुदिन पोखरेल, यमबुद्ध, आशिष रानामगर (लाहुरे), लिटिल बुद्ध, बालेन, सुभान गुरुङ, निर्णय श्रेष्ठ, एम सी फ्लो, सुरेन्द्र भण्डारी (जी बब), राजेन्द्र भट्ट (आर जे), प्रवेश रायमाझी, भियोमा, लिटिल गर्लहरूले फराकिलो बनाएका छन् । यही मार्गका एक उल्लेखनीय बटुवा हुन्– समीर घिसिङ अर्थात् भिटेन ।

***

समीर घिसिङलाई भिटेन बनाइदिएका थिए, उनका सहचालक मित्र सुजन तामाङले । बाबुआमा नभएका, दुःखी साथीसँग खुब नजिक थिए, समीर । उनी समीरलाई बोलाउँथे– ‘ओ भिटेन सुन् !’ ती प्रियजन अचानक जीवनबाट हराए । कहिल्यै भेटिएनन् । स्टेजमा भिटेन ती साथीको सम्झनामा गाइरहेकै छन्– ‘खलासी...’ । गीत भन्छ– ‘मलाई भन्छ सबैले खाते/मलाई भन्छ सबैले हरामी/कतिले चाहिँ भन्छ खलासी !’

भिटेनको हातमा, घाँटीमा, शरीरका अन्य स्थानमा खोपिएका छन् अनेक चित्र, अनेक अक्षर । ती ट्याटुमार्फत उनी मनका पीडा र भावना मान्छेहरूलाई पढाउन चाहन्छन् । एड्रे, इमिनेम, गिरीश खतिवडालाई सुनेपछि भिटेन र्‍याप–संसारमा प्रवेश गरे । इमिनेमको समर्पण–समर्थनमा उनले हातमा गाढा ट्याटु खोपाएका रहेछन्– ‘मिट्स इभिल’ अर्थात् इमिनेमको ब्यान्ड र ‘डी–१२’ अर्थात् इमिनेम–क्रिउ ।

भिटेनका गीत युट्युब प्लाटफर्ममा करोडौं युवाले हेर्छन्, गुनगुनाउँछन् । उनका गीत सुन्नै हुन्न भन्ने पनि छन् । यो सत्य हो । तर, तिनै गीतलाई जीवन–गीत मान्ने पनि छन् । यो पनि सत्य हो । जसरी जुन शैलीमा होस्, उनले गाउने गीतका शब्दमाथि अनेक बहस चलिरहेकै छन् । तर, एउटा ठूलो पंक्ति उनलाई प्रेम गर्छन्, उनको समर्थन गर्छन् । र, जो भिटेनका लागि जे गर्न पनि तम्सिन्छन् । करौडौं फ्यान मात्रै होइन, भिटेनलाई ‘हेट’ गर्नेहरूको संख्या पनि सानो छैन । जस्तो, एउटा पुरानो घटना यस्तो छ– पोखराको एक कन्सर्टमा भिटेनलाई ढुंगा हानियो । त्यति मात्र होइन, भिटेनको विपक्षमा गीत नै पनि गाएका छन्– डिजे सेभेन र स्याडी पोपटले ।

एउटा गीत रिलिज भएपछिको कथाले अझै उनलाई झस्काइरहन्छ । उनले जीवनमा सायदै सोचेका थिए– गीत गाएरै पनि पक्राउ परिन्छ !

आफ्नो पुस्ताको भाव–अभाव गीतमा गाउने भिटेनले पक्राउ परेपछि कारागारको चिसो भुइँमा सोचिबसे, ‘मेरै र मजस्तै केटाकेटीको सपना, तनाव र रोमाञ्च गाउँदा पनि जेल परिँदोरैछ नि त ! यो देश मजस्ता युवाहरूको थलो होइन रैछ कि के हो हँ ?’ ‘हामी यस्तै त हो नि ब्रो’ गीत गाउँदा उनले जेल–यात्रा गरेका थिए, जीवनमै पहिलो पटक । गीतको शब्द छ–

‘हामी यस्तै त हो नि ब्रो

जहिले यस्तै त हो नि हो

ठीकठाक आफ्नो ठाउँमा बस्छु

राम्रो गाउन सक्छु

खासमा यस्तै त हो नि हो

हामीलाई के सोचेको होला ?

अघि बढिसक्यो हेर भोटेको छोरा

हाँस्छु हसाउँछु म,

नाच्छु नचाउँछु

चिल्याक्स पारामा मासु चपाउँछु

झाडु लगाउँछु म, डाडु ठटाउँछु

पार्टी हान्न आइज बरु, दारु मगाउँछु ।’

यो गीत गाएपछि युवाका ढुकढुकी उनी सरकारको आँखामा ‘अपराधी’ थिए । सरकारको बुझाइमा यी युवाले गीत गाएरै ‘अपराध’ गरेका थिए । ‘त्यसबेला खुब सोचेको थिएँ– यो मेरो देश मैले बुझेजस्तो, सोचेजस्तो होइन रैछ’, भिटेन भन्छन् । उसबेला बहस–विमर्श चलेको थियो– के गीत गाउनु, कला सिर्जना गर्नु पनि अपराध हुन्छ, असहनशील राज्यका नजरमा ? यो घटनाले पनि भिटेनलाई लाग्यो, नदीको पानी ढुंगामा ठोक्किएजस्तै बगिरहेको जीवन पनि पहरामा ठोक्किँदो रैछ ।

जंगलटोल (रौतहट, चन्द्रनिगाहपुर) को एउटा छाप्रोमा जन्डिसग्रस्त बालक जन्मेका थिए– भिटेन । टोल–गाउँका मान्छे, आफन्तहरू ती गुथुमुने बालकलाई हेर्न आउँथे– मुख हेर्दै फर्किन्थे । फर्किनेको लर्कोले एउटै वाक्य दोहोर्‍याउँथ्यो, ‘ह्या यो बाँच्दैन, उँभो लाग्दै लाग्दैन ।’ मध्य असारको एक मध्याह्न आफ्नो कथा खोतल्दै छन् भिटेन, ‘म त लास्ट स्टेज टाइपको क्या ! शरीर पहेंलो आँपजस्तै फतक्कै पाकेको । त्यस्तो थिएछु, जन्मिँदा । साह्रै दुब्लो–पातलो–लुरे । यस्तो बेला आमाको मनमा कति चोट पुग्यो होला ! र पनि आमाले मलाई बचाउन कुनै कसर छोड्नु भएन ।’

औषधि–जडिबुटीले बिस्तारै ठीक भएछ जन्डिस । उनी जन्मे–हुर्केको त्यो सुन्दर जंगलटोल धेरै फेरियो । मान्छेहरू लाखापाखा लागे, जसरी भिटेन पनि चराजस्तै उडे गाउँबाट काठमान्डु सहरमा । उनी अहिले गीति उडानमा छन् ।

सहर अनगिन्ती डिप्रेसनहरूको कोलाज हो । युवाहरू डिप्रेसनग्रस्त छन् । राजनीति, करिअर, प्रेम, पैसा... तिनलाई डिप्रेसन दिने चिजको कुनै कमी छैन । ती ‘डिप्रेस्ड’ युवाका अनेक इच्छा छन् । कष्टकर जीवन, यौवनको उन्माद, मादकता, प्रेम, दुःख, गरिबी सबै बाटो हिँडेर तिनीहरू जीवनको उज्यालोमा प्रवेश गर्न चाहन्छन् । तिनैका दर्शन, मनोविज्ञान र जीवन–कविता हुन्– भिटेनका गीत । भिटेनको मेनुमा ‘हामी यस्तै त हो नि ब्रो’, ‘बैनी...’, ‘लफंगा...’, ‘कथा...’, ‘मान्छे खत्तम...’, ‘डन्ट जज मी’, ‘यात्रा’, ‘रेडी म’, ‘हालखबर’, ‘गल्ली सडक’, ‘चुरोट’ जस्ता थुप्रै गीत छन्, जसले युवाका तनाव, हतासा, दुःख, पीडा, सकस, सपना, अभाव, भावका कथा वाचन गर्छन् ।

गीत गाउनु, कला सिर्जना गर्नुलाई केहीले ‘मान्छेको कुण्ठाको विसर्जन’ मानेका छन् वा कोही भन्छन्– त्यो हो ‘आफू’ खोजको बाटो । भिटेनका गीतलाई मान्छेहरूले कुण्ठै–कुण्ठाको पहाड पनि भने । ‘मेरो मस्तिष्कमा वेदका ऋचाहरू छन्’ सोच्ने मान्यजनले भनेझैं यदि भिटेनका गीत कुण्ठै हुन् भने पनि वा ती सिर्जना अस्थिरताको परिणाम हो भने पनि त्यो अस्थिरता र कुण्ठामार्फत युवाका सपना र तिनका मनो–संसार व्यक्त भइरहेको मान्नुपर्छ ।

***

भिटेनको स्वप्न–विचरणमा गाउँ बसिरहेकी आमा आउँछिन्– उनी जंगलतिर बरालिइरहेका हुन्छन् वा आमा काम गर्ने इँटाभट्टाको चिम्नीबाट निस्किरहेको बाक्लो धूवाँ हेर्दै उभिइरहेका हुन्छन् वा त्यो धूवाँको गन्ध सुँघिरहेका हुन्छन् । भिटेन सोचिबस्छन्– सपनाको इतिहास र धरातल हुन्छ, आफ्नै मस्तिष्कको इतिहास नै सपना हो । एकैछिन उनको सपनामा दोहोरिइरहने, तर बालापनको इतिहासतिर विचरण गरौं ।

उनकी आमा हेमकुमारी थापामगरको बिहे १६–१७ वर्षको उमेरमा भयो । भिटेन सानै छँदा साउदी गएका बुबा कपिल तामाङ ३/४ वर्षमा एक पटक गाउँ आइपुग्थे । घर फिर्दा भिटेनका आँखाले बुबालाई ‘अजनबी’ देख्थे– यो बुबा भन्ने को मान्छे रैछ ? असलमा उनले बाल्यकालमा नजिकबाट बुबालाई अनुभव गर्नै पाएनन् । कमाएको पैसा डुबाएर सदाका लागि गाउँ फिरे बुबा । र, घरको अति दयनीय आर्थिक अवस्थामा कदापि सुधार आएन ।

उनकी आमा २४ सै घण्टा चिन्तामा हुन्थिन्– ज्यालादारी कामको चिन्ता, साना छोराछोरीको चिन्ता, हातमुख जोड्ने चिन्ता । चिन्तैचिन्ताको भारी बोकी उमेरको उकालो हिँडिरहेकी आमाको जीवन सम्झेर दिक्क मान्छन् भिटेन । भन्छन्, ‘कहिले पो सुख पाइन् र मेरी आमाले ?’ मामाघरनजिकै भिटेन र उनकी आमा भाडाको घरमा बस्थे, जहाँ थिए, हिमालझैं ठडिएका अभाव, दुःख र बेचैनी । त्यतिले नपुगेर, मानौं, दुःखको बोनस दिन कोठामा मुसाको बथान दौडिन्थ्यो राति । र, एउटी अभावग्रस्त आमाले जोगाएर राखेका थोरै अन्न र गेडागुडीमा मुसाहरू धावा बोलिदिन्थे । त्यसपछि ...?

त्यसपछि, आमा खुब रुन्थिन् ।

आमा रोएका बिहान र साँझहरू भिटेन खुब याद गर्छन् । आँसुसँगै ढिँडो र गुन्द्रुक मुछेर भिटेनलाई बोर्डिङ स्कुल पढाइन् हेमकुमारीले । उनी पाँच कक्षासम्म बोर्डिङ पढे । दुःखले घेरिएकी आमाले मासिक फि तिर्न सकिनन् र सरकारी स्कुल भर्ना भए । त्यसपछि भिटेनको पढाइले खासै गति लिन सकेन । क्लास बंक गर्न च्याम्पियन भए । ‘सानोमा आमाले रहरैरहरमा हाल्दिनुभयो होला बोर्डिङमा । त्यसपछि सक्नु भएन । मैले पनि राम्ररी पढ्न सकिनँ । बोर्डिङ स्कुल पढ्ने लेबल नै होइन नि ब्रो हाम्रो,’ भिटेन भन्छन् ।

कहिलेकाहीं हेमकुमारी बिरामी हुँदा अवस्था जटिल बन्थ्यो । घरमा न अन्नको गेडो हुन्थ्यो, न सिटामोल किन्ने पैसा । रातभरि हनहनी ज्वरोमा बर्बराउँथिन् उनी । सरसापटमै चलिरहेको थियो, घरको गाडी र जिन्दगीको पाङ्ग्रा । भिटेनका खासै साथी थिएनन् । उनी एक्लै–एक्लै गाडीका पुराना पाङ्ग्रा गुडाइरहन्थे, घर वरिपरि । एक्लो बसिरहने त्यो बानीले उनलाई ‘चुपचाप’ स्वभावको बनायो । भिटेनकी दुई बहिनी छन् । घरमा बुबाको अनुहारै नदेखी हुर्केका उनलाई, बहिनीहरूलाई बुबाको अभाव खट्किन्थ्यो । ‘अरूका बुबा देख्थें, मेरो देख्दिनथें, बोर लाग्थ्यो नि ब्रो !,’ भिटेन भन्छन् ।

गाउँमा केटाकेटी भिडियो गेम खेल्थे, फुटबल खेल्थे । भिटेन न गेम खेल्थे न फुटबल । घरमा टीभी थिएन, टीभी हेर्न अरूको घरमा जानुपर्थ्यो । ‘टीभी हेर्न आयो’ भनेर गाउँलेहरू उनलाई तिघ्रामा, ढाडमा, आँखामा सिन्काले घोचिदिन्थे । ‘भित्ताको प्वालबाट चियाएर पनि टीभी हेर्‍यो’ भनेर त्यो प्वाल नै थुन्दिन्थे ।

भिटेन सानो छँदा घर उनकी आमाले चलाइन्, ज्यालादारी काममा जान्थिन्– घर निर्माणको काममा पुग्थिन् । दैनिक सय रुपैयाँ ज्यालाले उनी महिनाभरिको घर चलाउँथिन् । जे भेट्यो त्यही काम गर्थिन् । घरी एकाबिहानै जंगल गएर दाउरा खोज्थिन् या रूख काट्थिन् र बेच्थिन् । घर बनाउने ज्यालादारी काममा खटिएकी आमाका लागि खाना पुर्‍याउन जान्थे भिटेन । ‘आमा थाकेर या पसिनाले लखतरान परेको देख्थें म,’ भिटेन भन्छन् ।

भिटेन पनि आमाको पछिपछि दाउरा काट्न जंगल गए निकै पटक । ‘अब छोरो ठूलो भयो’ सोचेर उनलाई बन्चरो दिएर आमाले दाउरा काट्न पठाउने गरेको याद छ । सँगै जंगल गएका साथीहरू साइकलमा दाउरा ओसार्थे । तर, उनको त साइकल थिएन । टाउकोमै वा भारी बोकेर दाउरा घर ल्याउँथे उनी । त्यो दाउरा नजिकका होटलहरूमा बेचिन्थ्यो, दैनिक । यसरी १० देखि २० रुपैयाँसम्म पाइन्थ्यो र घर चल्थ्यो– बेलुका कमाए बेलुकालाई पुग्थ्यो, बिहान कमाए बिहानलाई ।

‘मेरो जीवनै त्यसरी चल्यो यार,’ भिटेन भन्छन्, ‘जीवन भन्नु नै यही साँघुरो घेरा रैछ भन्ने लाग्थ्यो ।’

दिउँसै अँध्यारा ती जंगलका भित्री कथा अर्कै हुन्थे । जंगलमा जंगली जनावरबाट त सुरक्षा हुँदैनथ्यो नै, मान्छेहरूबाट पनि डराउनुपर्थ्यो । बरोबर मान्छेको लास भेटिन्थ्यो भित्री जंगलमा । जंगल पुगेकी आमा घर आउलिन्/नआउलिन्को त्रासमा रहन्थे भिटेन जहिल्यै ।

आमा पर्खेर बहिनीहरूका लागि खाना पनि पकाइरहेका भिटेनका आँखा दैलोतिरै अड्किएका हुन्थे– आमा आइन् कि भनेर झस्किरहन्थे । बिहानै निस्किएर काममा हिँडेकी आमा रात गाढा भएपछि मात्रै घर फिर्थिन् । बिरामी पर्दा पनि, शरीर गल्दा पनि उनकी आमाले चैनको सास फेर्न पाइनन् ।

सायद काम, काम र केवल कामले हो, भिटेनको शब्दमा उनकी आमा ‘डेन्जर रिसाउँथिन्’ र रिसाएपछि उनलाई ‘डेन्जर कुट्थिन्’ । उसबेलै भिटेनले दुनियाँदारी देखे । एक्लै घर धानिरहेकी महिलालाई यो बदनियतवाला समाजले कुन नजरले हेर्दोरहेछ भन्ने पनि अनुभव गरे ।

एउटा घटनाले असाध्यै पोल्छ भिटेनलाई आजका मितिसम्म । उनकी एक बहिनी सानोमै दुर्घटनामा परेकी थिइन्– उनको दुवै हात आगोले जलेको थियो । उनका हातमा औंलाहरू छैनन् । भन्छन्, ‘त्यो घटनापछि थप दुःख पायो मेरो परिवारले । र, आमामा थप पीडा थपियो ।’

बाल्यकालको सम्झना–आँखीझ्यालबाट चियाउँदा त्यहाँ सुखको कुनै पनि चिह्न भेट्दैनन् भिटेन । ‘कुनै आवश्यकता पूरा नभएको बाल्यकाल कसरी खुसी र सुखी ?,’ भिटेन भन्छन्, ‘अहिले पनि मैले नै कडा संघर्ष गर्नुपरेको छ । त्यो संघर्ष परिवारका लागि गर्नुपरेको छ ।’

गरिब भएर जिउनु सकस रैछ— भिटेनको भोगाइ निष्कर्ष हो यो ।

साउदीबाट फिरेका उनका बुबाले फर्निचर खोलेका थिए । उनले पनि त्यहाँ काम गर्नुपर्‍यो । स्कुल छुट्यो, दिनैभर फर्निचरमा भुल्दा । ‘स्कुल जा पनि भनेनन् बाउले’ भन्ने चित्तदुखाइ अझै छ उनीसँग । काम गरे खुसी हुन्थे रे बुबा । अब भिटेनकी आमा पनि रोगी भइन् । भिटेनको मस्तिष्क–कोषमा आमाका ती दिन यस्तो छ– ‘टाउको दुख्यो’ भन्दै टाउको समाएर जुनैबेला ओछ्यानमा सुतिरहेकी आमा । ‘अहिले पनि बेडको बेड नै हुनुहुन्छ । महिनामा दुई पटक काठमाडौं उपचारका लागि आइरहनुहुन्छ आमा । मैले देख्ने–बुझ्ने भएदेखि नै आमालाई सन्चो छैन । टाउकोमा समस्या छ,’ भिटेन भन्छन् ।

भिटेन यसरी उनकै शब्दमा किशोरावस्थामै ‘खत्तम भएर हिँडेका थिए’–  बाटातिर प्लास्टिक टिप्दै, मान्छेहरूसँग पैसा माग्दै, फलाम टिप्दै । ‘तर, स्ट्रगल गरेर पनि कहीँ पुग्दोरहेनछ मान्छे,’ उनको दिक्दारी बोल्छ ।

***

र्‍याप–गीत र संगीत उनले संगतबाटै हासिल गरे– साथीहरूबाट, यताउताबाट । घरमा उनले सुनेको तामाङ सेलो र हिन्दी गीत मात्रै हो । घरमा टीभी भएका साथीहरूले सीडीमा फिल्म देखाउँथे । टिभीमा हेरेर बी बोइङ गर्दागर्दै उनको मनमै बस्यो र्‍याप । सुरुदेखि नै हिप—हप, र्‍याप आफ्नोजस्तो लाग्यो भिटेनलाई । ‘भन्छन् नि इजी क्या,’ भिटेन भन्छन्, ‘रियल लाइफ के रैछ त ? यो संसारमा दुःख मात्रै हो त ? यस्तो सोचाइले आफैं गीत लेख्न थालें ।’

ऊबेलै फलाम टिप्दा डायरीका पानाहरूमा कोरिएका कविताका कच्चा पदार्थ नै अहिले उनका चर्चित र्‍याप गीत भएर बजेका छन् । पहिला उनले आफ्नै साथी–सर्कलसँग टिम मिलाएर गीत गाए । उनको टिमलाई उनी ब्यान्ड होइन, ‘ग्रुप’ भन्न रुचाउँछन् । ‘ड्रिमर्स अबेक’ त्यो ग्रुप हो, जोसँग उनी सहकार्य गर्छन् । ग्रुपमा सबैजना र्‍यापर छन् ।

बहिनीको हात जल्नु, आमा बिरामी भइरहनु, घरमा आर्थिक तनाव हुनुले भिटेनलाई फराकिलो सपना देख्न दिएन । बहिनीको हात जलेको र बुबा खाडी भासिनुपरेको कथा गाएका छन् उनले अटोबायोग्राफिकल गीत ‘कथा’ मा । गीतमा उनी भन्छन्–

‘बाटो खोज्दा बाटो पाइनँ

फल्ने फुल्ने माटो पाइनँ

सायद भूल गरें,

भगवान् गुहार्दै मन्दिर धाइनँ ।’

यसरी र्‍यापमा उनी आत्मालाप गर्छन् । ‘ठूलो सपना देख्न पनि त औकात चाहिन्छ नि, ब्रो !’ जिन्दगीले उनलाई सिकाएको पाठ हो यो । बुबाले साउदीबाट कमाएर ल्याएको थोरै पैसा पनि सकियो । एकदिन भिटेनलाई उनका बुबाले भने, ‘लौ केटा अब तँ कमाउन जा । जे गर्, तर कमाएर ल्या ।’

र, यसरी १४ वर्षको उमेरमा घरबाट निस्किए भिटेन । नाइट बसबाट स्वप्ननगरी काठमाडौं पसेका उनले यो सहरमा ७ वर्ष थाङ्का आर्ट गरे । त्यो यस्तो समय थियो, जतिबेला उनी ‘अन्डरग्राउन्ड र्‍याप’ मा पनि मग्न रहन थाले । र्‍यापको मोहले थाङ्का बिग्रियो ।

काकाहरूले चलाएको त्यो थाङ्का उद्यममा काम गर्न गाउँ–गाउँबाट नानीहरू सहर आउँथे, जसरी उनी पनि आइपुगे । भिटेन थाङ्का आर्टमा सफल भएनन् । ‘मैले प्रयास गरेको थिएँ, तर राम्रो हुन सकेन । अनि राम्रो नभएपछि हेप्ने टाइपको हुँदोरैछ नि ! हेप्ने भएपछि आफूलाई मन पर्दैन त, फेरि झगडा पनि परिरहन्थ्यो । र, अन्तिममा मलाई अंकलले निकालिदिनुभयो कामबाट । म निस्किनुपर्‍यो, निस्किएँ,’ उनी भन्छन् । भाडाको कोठामा जान सकेनन्, घरबेटीले भाडा मागेर हैरान पार्थे । ‘प्रिय दोस्त’ हरूको कोठा अब उनको स्थायी शरण हुन थाल्यो । र, यसरी ‘पेट नभरिए नभरियोस्, मन भरिए पनि हुन्छ’ सोचेर सम्पूर्ण रूपमा र्‍यापमा डुबे उनी ।

जब उनी सडकमा आए, त्यही बेला हो उनले पहिलो गीत लेखेको/गाएको– ‘गरिबको छोरो म..।’

आफ्नो परिवारको गरिबीको यादमा र विपन्नताको आगोमा रापिएर उनले त्यो गीत लेखे, गाए । त्यो गीतपछि उनले आफ्नो र्‍याप–करिअर सुरु गरे । त्यसपछि ठूलो युवा–किशोर पंक्तिले त्यो गीत गुनगुनायो ।

त्यसपछि उनले अर्को गीत लेखे– ‘चुरोट’ । हालसम्म उनले ७० भन्दा बढी गीत लेखेका/गाएका छन् । त्यसैबेला गिरीश खतिवडा, जो आइपुगे भिटेनको जीवनमा ‘मेन्टर’ भएर । भिटेनको गीत सुनेर गिरीशले ऊबेलै भनेका रहेछन्– ‘अब भिटेन हुन् है, नेपाली र्‍यापको तारा ।’ तर, भिटेन सोचिबस्छन्– के म गिरीशले भनेझैं तारा हुन सकुँला ?

भिटेनले कहिल्यै म्युजिक सिकेनन् । उनको शब्दमा ‘म्युजिक प्यासन मात्रै हो’ । ‘मैले स्टुडियोमा अरूले गाएको हेरेर सिकें,’ भन्छन्, ‘प्रायः म अमेरिकी र्‍यापरहरूलाई सुन्छु । तिनले गाएको हेरेरै गाउन मनलाग्यो, म्युजिक इन्जिनियर दाइहरूबाट पनि सिकें केही ।’

***

भिटेन ‘हामी यस्तै त हो नि ब्रो’ गाएर गिरफ्तार परेपछि उनको पक्षमा र अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार सरकारको विपक्षमा ठूलो जनलहर उभिएको थियो । गीतमा अश्लील शब्द प्रयोग भएको र उनले प्रहरी वर्दीमा गाँजा मोलिरहेको तस्बिर राखेको आरोपमा प्रहरीले २०७६ कार्तिकमा उनलाई पक्राउ गरेको थियो !

भिटेनका फ्यानहरूको तर्क थियो– र्‍यापको मर्म र विशेषता नबुझी पक्राउ गर्न पाइँदैन । तर, सरकारको तर्क यस्तो थियो– ‘गीतका शब्द र फेसबुकमा राखिएको तस्बिरका कारण भिटेनलाई पक्राउ गरियो ।’ त्यसबेला भिटेनकी आमा असाध्यै चिन्तित भएकी थिइन्, छोरो भेट्न कारागार पुगेकी थिइन् ।

ठूलो फ्यान सर्कलले भिटेनका गीत–चर्चा गरिरहँदा उनका आमा–बा चाहिँ कहिल्यै उनको गीतबारे कुराकानी गर्दैनन् । उनलाई लाग्छ, गीतकै कारण उनी आमा–बासँग ‘क्लोज’ हुन सकेनन् । ‘मलाई कहिलेकाहीं क्या नमज्जा लाग्छ, चित्त दुख्छ । मलाई आमाले फोन गर्नुहुन्न, म पनि गर्दिनँ,’ भिटेन भन्छन्, ‘कहिलेकाहीं काठमान्डु आउनुहुन्छ, तर आराम–कुशलबाहेक न म केही बोल्छु, न आमा बोल्नुहुन्छ । कस्तो नमज्जा लाग्छ । मैले समय दिन सकिन भन्ने पीडाबोध हुन्छ ।’ कहिलेकाहीं उनलाई ‘आमासँग बोल्दा अरू केटाहरूसँगझैं ठाडो बोलें कि’ भन्ने पनि लाग्छ ।

भिटेन सोच्छन्– आमाले मेरा गीत नसुने हुन्थ्यो । उनलाई आमासँग नजिक पर्न अप्ठोरो लाग्ने एउटा कारण आफ्ना गीतका शब्दहरू हुन् । ‘मेरा गीतका शब्द युवाहरूका लागि हो, आमाहरूका लागि होइन । त्यसैले अलिकति लाज लाग्छ, असजिलो लाग्छ आमासँग,’ उनी भन्छन् । आफ्नो जीवनशैलीबाट आमा खुसी छैनन् भन्ने बोध छ उनलाई– मबाट आमा खुसी हुनुहुन्छ जस्तो लाग्दैन, पहिल्यैदेखि म टाढिएँ ।

भिटेन बेला–बेला सोच्छन्– आमाको जिन्दगी ‘बच्चा हुर्काउने ध्यानमा मात्रै गयो’ । भन्छन्, ‘आम नेपाली आमाको दुःख यस्तै नै हो नि ब्रो !’ उनले काठमान्डु बसेर प्रिय दुई बहिनीलाई हुर्काइरहेका छन् । ‘बाउको काम गरेको छु’ भन्ने अनुभूतिले उनी गौरव गर्छन् ।

***

र्‍यापर यमबुद्धको महाप्रस्थानपछि उनका ‘डाइहार्ट’ फ्यानहरूले भिटेनलाई सम्बोधन गर्न थाले– ‘नयाँ यमबुद्ध’ । ‘तर, म त मै हुँ, आफ्नै पहिचान हुनुपर्छ गायकको’, भिटेन भन्छन् ।

उनी र्‍याप गायनबाट खुसी नै छन्, तर ‘कहिलेकाहीं साह्रै फ्रस्ट्रेसन हुन्छ’ भन्छन् उनी । ‘हिँडेको हिँड्यै गर्दा दिक्क लाग्छ । खानपानमा कन्ट्रोल छैन । बेला–बेला रिलेसनसिप बिग्रिन्छन् । लास्टै गाह्रो छ जिन्दगी ब्यालेन्स गर्न,’ उनी भन्छन् ।

र्‍यापमा आउन चाहने नयाँ भाइबहिनीलाई उनको सुझाव छ– हेरेर सिक्नु, गल्ती नगर्नु, पोजिटिभ काम गर्नु, ‘गुड कुराहरू’ लाई मात्रै एक्सेप्ट गर्नु ।

उनको बुझाइमा ‘र्‍याप गीतले समाज र यहाँको समस्याबारे बोल्छन्, जिन्दगीबारे बोल्छन् ।’ भन्छन्, ‘मैले गाउने र्‍यापमा समाजकै कुरा गरेको हुन्छु, युवापुस्तालाई सम्झेर । म रमाइलो पनि गाउँछु, गम्भीर पनि । र्‍यापले व्यवस्थाको विसंगति र विकृतिविरुद्ध पनि बोल्नुपर्छ ।’

‘सडक–गल्ली’ गीत छ उनको, जहाँ भिटेन अतीतका गल्लीतिर बरालिएका छन् । र्‍याप गाउनुको जस गल्लीलाई दिन्छन्– ‘जब हान्न थाल्छु र्‍याप, एक्कासि रगत तात्छ किनकि मेरो कहानीको सुरुवात भो गल्ली र सडकबाट ।’ र्‍याप गीतमा शिष्टता, शालीनता खोज्ने भलादमीहरूसँग यी बागी ‘सडक–गायक’ को प्रश्न छ, ‘के फाइदा मलाई बिग्रिसकेको समाज बिगारेर ?’

प्रकाशित : असार १५, २०८१ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×