कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बग्नु एक नियति

कहिल्यै सोचिएन
एकदिन आफ्नै रगत निचोरेर 
भर्नुपर्नेछ– राहदानीमा अक्षरहरू
र, आँसुले भरिएका घडाहरुले अचाउनु पर्नेछ शिर

बग्नु एक नियति

कहिल्यै सोचिएन

पुर्खाको विरासतलाई थन्क्याएर एक कुनामा

लाग्नुपर्नेछ विमानस्थलमा पङ्क्ति

हल्लाउनु पर्नेछ देशको झन्डाझैं फरफर, बिदाइको हात

र, बग्नुपर्नेछ सबथोक छोडेर देशकै सिमाना

कसलाई थाहा छ ?

विमानस्थलको ढोकाकै फोहोरामा बग्ने त्यो पानी हो कि भञ्ज्याङको आँसु ?

त्यतै–कतैबाट आएको सुसेली, खुसी हो कि सल्लाघारीको विरह ?

किन ओइलाएका छन्, त्यहीं छेउका गाउँजस्ता फूलहरू

धावनमार्गमै किन छोपिएको छ कङ्क्रिटले, टीकाजस्तो सुकोमल माटो ?

जाने प्रत्येक अनुहारमा टाासिएको छ–खडेरी

पुर्‍याउने एक एक मुहारमा बसेको छ–उदासी


सुन्दा,

एउटा देशद्रोही कुरुप आवाज सुनिन सक्ला

तर, कसले भन्न सक्छ?

बुद्धको पवित्र मन्त्र जप्नेले मनैबाट जपेको छ

सगरमाथाको सङ्लो उचाइ देखाउनेले

हृदयबाटै महसुस गरेको छ


६ महिनाको फूलजस्तो सन्तान छोडेर

त्यही सन्तानको भविष्य किन्न

स्तन दुखाउँदै हिँडेकी आमाको मनमा

फूल उम्रिन्छ कि काँडा ?

महाशय, रोप्नेहरूले बाटोमा फूल रोपे या काँडा ?

जवाफमा

तिनै आमाको रगताम्य पाइतालाहरु छन्

र छन्, पाइतालाबाटै बगेको रगतका नदीहरू


नदीमा नदी मात्रै बग्दैन

बग्न सक्छ– हिमालको कञ्चन आटो

बग्न सक्छ– पहाडको नागबेली बाटो

बग्न सक्छ– तराईको मलिलो माटो


के देश भन्नु

यही आटो, बाटो र माटो होइन र ?


पहाडको शिरमा बसेकाहरूले

रोक, यो बग्ने पहिरो शृङ्खला

जसरी मुटु निचोरेर विमानस्थलमा उभिएको छु म

कुनैदिन बग्ने यो पङ्क्तिमा देश नभेटियोस् ।

प्रकाशित : असार १५, २०८१ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×