कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

किन दुखिरहन्छ मन ?

मन खुसी राख्न आफैंलाई माया गरौं, मनका वह अरूलाई सुनाऔं
अमृता अनमोल

पुसको एक बिहान हुस्सुले ढपक्कै ढाकिएको थियो बुटवल । म हतारमा थिएँ, कपिलवस्तु गइरहेको थिएँ । फटाफट गोडा चाल्दै बस स्टप पुग्नै लाग्दा छिमेकी दिदी गंगा बाटोमा भेटिइन् । उनी विछिप्त थिइन् । एकोहोरो गाडी गुडेको हेरिरहेकी थिइन् ।

किन दुखिरहन्छ मन ?

‘कसैलाई कुर्नुभा’छ दिदी ?’ अचम्म मान्दै सोधें । उनले ‘होइन’ को मुन्टो हल्लाइन् । ‘किन उभिनु भएको त ?’ मेरो प्रतिप्रश्नमा भनिन्, ‘आज खुब मन दुखेको छ । दुखेको मन सञ्चो बनाउन हिँडेको ।’

दम्पतीबीचको मनमुटाव रहेछ । हतारहतारमै मन दह्रो बनाउन र दुखेको मन निको बनाउन जानेको उपाय बताए । फेरि भेटेर मन खोलेर कुरा गर्ने र नभए उपचारका लागि लैजाने योजना बनाएर म छुट्टिएँ । योजना पूरा भएन । ३ दिनपछि थाहा पाएँ, उनी परधाम भइछन् आत्महत्या गरेर । म झसंग भएँ ।

मनबारे गीत–कविता निकै लेखिएका छन् । मनबारे कतै प्रवचन चलेका छन् कतै योग अभ्यास । मन किन दुखिरहेको छ ? मन अभौतिक र अदृश्य छ, तर कहाँ छ ? कसैलाई थाहा छैन । तर, मुटुभित्र मन छ भन्ने व्याख्या गरिरहेका छौं । मनको अनुभूति गरिरहेका छौं । कहिले मन ढुंगो जस्तै गह्रौं बन्छ, कहिले कपासझैं हल्का । जहाँ भए पनि मन सबैको साथी हो । हामी कहिले मनसित कुरा गर्छौं । त्यही मनसित कहिले प्रश्न सोध्छौं र उत्तर दिन्छौं । कहिले मन दुखाउँछौं, कहिले दुखेको मन बुझाउँछौं । मन खुसी हुँदा खुसी हुन्छौं मन दुखे बेचैन । हुन पनि, मन दुखाइको पीडा शरीर दुखाइभन्दा कैयौं बढी हुन्छ । शरीर दुख्दा सबैले देख्छन्, तर मन दुखेको कसैले देख्दैन । देखाइको दुखाइभन्दा लुकाइको दुखाइ कयौं गुण धेरै हुन्छ । त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ ।

नेपाली शब्दकोशअनुसार, मन भनेको प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, संकल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति हो । मनलाई चित्त, ह्रदय र दिल पनि भनिन्छ । पूर्वीय दर्शनमा जाग्रत, स्वप्न र सुषुप्त गरी मनका तीन अवस्थाबारे व्याख्या छ । प्रसिद्ध मनोवैज्ञानिक सिगमण्ड फ्रायडले सचेतन, अचेतन र अर्धचेतन गरी तीन भागमा बाँडेका छन् ।

जीवन अनेकथरी नाटकीय धाराको पहिचान हो । अभावमा मन बढी दुख्छ । मन र सम्बन्ध दुवै पारस्परिक छन् । कहिले मन दुखेर सम्बन्ध टुट्छ । कहिले सम्बन्ध टुटेर मन दुख्छ । सम्बन्धलाई सबल बनाउन सके मन दुख्दैन । मन नै बलियो बनाउन सके सम्बन्ध टुटे पनि फरक पर्दैन ।

कहिलेकाहीं मन त्यसै दुख्छ, बोझिलो हुन्छ । खानपान, सुताइ, उठाइ र काम गराइको तालिका नमिले केही दिन वा केही छिन यस्तो हुन सक्छ । तर, मन सधैंजसो यस्तो हुनुभएन । यस्तो भएमा मान्छेलाई गलाउँछ । शारीरिक र मानसिक अवस्थालाई असन्तुलित बनाइदिन्छ । मन कुनै पनि काममा केन्द्रित हुँदैन । मन नदुख्ने मान्छे सायद कोही हुँदैन । तर, मन दुखेर उपचार गर्ने मान्छे हत्तपत्त भेटिँदैन । बरु मन दुखेको कुरा लुकाउँछन् । यसले दुखेको मनमा गहिरो चोट लाग्न सक्छ । मानसिक असन्तुलन हुँदै पागलपन देखिन सक्छ । तर, दुःख छ, सुखको बाटो पनि छ । समस्या छ, समाधानको उपाय पनि छ । समस्यासित डराएर नीरस बन्दा मन दुख्छ । जीवनमा सफलता–असफलता, सुख–दुःख, प्रेम–वियोग, माया–घृणा चलिरहने रीत हुन् । बस्, हामी अनुभूति कस्तो गर्छौं त्यसले मन दुख्छ ।

लोभ, मोह, रीस, राग र ईर्ष्या मनका दुश्मन हुन् । यी दुश्मनलाई परास्त गर्ने मात्रै मनको खुसी हुन्छ । मन देख्न, हेर्न र नाप्न सकिँदैन । तर, मनको अवस्था अनुभूति गर्न सकिन्छ । मन खुसी बनाउन मनभित्रको विकार त्याग्नुपर्छ, नकारात्मक धारणा हटाउनुपर्छ । रिस, राग, ईर्ष्या, लोभ त्याग्नुपर्छ । दुःख, पीडा, तनाव, उदासीपन मानसिक विकार हुन् । यिनै विकारले मन दुखाउँछ । नियमित योग, व्यायाम, प्राणायमबाट पनि मानसिक विकार हट्छ, चञ्चल मन शान्त बन्छ ।

बुद्धले भनेका छन्, ‘अप्प दीपो भव ’ अर्थात् आफैं दीप बनेर बल । मान्छेको प्रमुख काम आफूले आफैंलाई चिन्नु रहेछ । आफूलाई चिनियो भने मन खुसी हुन्छ । आफूले आफैंलाई माया गरे, आफैंमा रूपान्तरण खोजे मन नदुख्ला ।

विज्ञहरूका अनुसार, दुखेको मन समयमै उपचार गरे मनमा गहिरो चोट लाग्दैन । मनमा गहिरो चोट नलागी मानसिक रोगी हुँदैन । मानसिक रोगी नहुनेले हत्तपत्त आत्महत्या गर्दैन । यसैले आत्महत्याको दर घटाउन मन खुसी राखौं । खुसी मान्छे बन्न मनमा बोझ बोकेर नबाचौं ।

प्रकाशित : जेष्ठ १९, २०८१ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×