कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कोही किन आन्दोलन गरोस् ? 

संसारमा अन्याय छ, प्रतिरोध छ र छन्– संघर्ष गरिरहेका मान्छे । ‘नर्मदा बचाऊ आन्दोलन’ की अविश्रान्त अगुवा मेधा पाटकरको निरन्तर संघर्षले भन्छ– आखिर संघर्ष गर्नेहरू छन् र त धर्तीमा सत्य र न्याय जीवित छ । 
संघर्षको अर्थ के हो ? एकबारको जुनीमा किन हर्दम हुटहुटीमा हुन्छिन् उनी ? त्यो के चिज हो, जसले उनलाई कहिल्यै शान्त बस्न दिँदैन ? 
केशव दाहाल

सन् २००४ को जनवरीमा म मुम्बईमा थिएँ । पहिलो पटक मेधा पाटकरलाई देखेको त्यसैबेला हो । उनी एउटा भीडमा बोल्दै थिइन् । अर्थात्, त्यो दिन उनी काँचको संसारमा झिलिमिली देखिने मुम्बईका अँध्यारा गल्लीका कथा सुनाउँदै थिइन् ।

कोही किन आन्दोलन गरोस् ? 

म दर्शकदीर्घामा ताली बजाउँदै थिए । उनी भारतको लोकतन्त्रले नदेखेका सीमान्त मान्छेका खटपटी सुनाउँदै थिइन् । म मान्छेका खटपटी सुनेर स्वयं खटपटाउँदै थिए । त्यो दिन मेधाको प्रभावशाली भाषण र न्यायप्रतिको निष्ठा देखेर म रोमाञ्चित भएँ । त्यसैदिन म उनलाई भेट्न चाहन्थे । तर, समय मिलेन, चाहना अधुरै रह्यो ।

मुम्बईमा मेधालाई सुनेको, २० वर्षपछि (२०२४, फरवरी) उनी काठमाडौं आउँदै थिइन् । प्रसंग थियो, विश्व सामाजिक मञ्च । उनी काठमाडौं आउने खबर सुन्नासाथ, मैले आयोजकलाई अनुरोध गरें– कृपया मलाई भेट गराऊ । भेटघाटको चाँजोपाजो मिल्दैथियो, अकस्मात् म इटहरी जानुपर्ने भयो । किनभने ‘नागरिक पहिलो’ अभियानले इटहरीमा कार्यक्रम गर्दैथियो । अब के गर्ने ? मेधालाई आफ्नो परिचयसहित समयको अप्ठ्यारो लेखेर म्यासेज गरें, ‘म तपाईंसँग कुरा गर्न चाहन्छु । कसो गरौं ?’ उनले स्वाभाविक प्रश्न सोधिन्, ‘तिमी मसँग के कुरा गर्न चाहन्छौं ?’ भनें, ‘तपाईं संघर्षको जुन यात्रामा हुनुहुन्छ, म त्यो यात्राबारे सुन्न चाहन्छु’ । सल्लाह भयो ‘ह्वास्ट्एप’ प्रयोग गर्ने । त्यसपछि म काठमाडौंबाट इटहरी जाँदै र उनी पटनाबाट काठमाडौं आउँदै गर्दा हाम्रो कुराकानी भयो । म ह्वास्ट्एपमा प्रश्न पठाउँथे, उनी जवाफ दिन्थिन् । त्यसै मेसोमा उनले आफ्नो अनुभव र आन्दोलनका गाथाहरू सुनाइन्, ज्ञान र अनुभवका कुरा गरिन् । सुनाइन्– भुइँमा भइरहेका लडाइँका अनेकौं कथा । जवाफ सुनिबस्दा लाग्यो, म नर्मदा बचाऊ आन्दोलनकी एक अगुवासँग होइन, स्वयं नर्मदा नदीसँग संवाद गरिरहेको छु, जो हर्दम संघर्षको यात्रामा छिन् र निरन्तर बगिरहनु उनको धर्म हो ।

कुराकानीपछि जब मैले दोहोर्‍याएर उनका जवाफ सुनें, लाग्यो, मैले उनलाई सोध्नुपर्ने केही प्रश्न त अझै बाँकी रहेछन् । अर्थात्, मैले उनलाई सोध्नुपर्ने थियो, उनका लागि संघर्षको अर्थ के हो ? सोध्नुपर्ने थियो, एकबारको जुनीमा किन हर्दम हुटहुटीमा हुन्छिन् उनी ? त्यो के चिज हो, जसले उनलाई कहिल्यै शान्त बस्न दिँदैन ? अथवा, जीवनभर आन्दोलन गरिरहन एउटा मान्छेलाई केले प्रेरित गर्छ ? आज म मेधा पाटकरलाई मैले सोधेका–नसोधेका तिनै प्रश्नवरिपरि बसेर केही लेख्छु, जसको केन्द्रमा हुनेछन् मेधा पाटकरले लडेका संघर्षका कथा ।

मेधा पाटकर १९५४ मा जन्मिइन् । यी सत्तरी वर्ष उनको जीवनका यस्ता वर्ष थिए, जसमा कहिल्यै विश्राम लिइनन् । जब चेतनाको ढोका खुल्यो, आन्दोलनमा लागिन् । उनलाई नर्मदा नदीले संघर्षका लागि यसरी प्रेरित गर्‍यो, त्यसपछि उनको जीवन त्यसैको लहरमा बग्दै गयो । अर्थात्, बन्यो नर्मदा बचाऊ आन्दोलन । तर, उनलाई त्यतिले पुगेन । त्यसैले कहिले उनी ‘घर बचाऊ, घर बनाऊ’ भन्दै जुलुसमा अगाडि हिँडिन्, कहिले ‘जीवन बचाऊ’ भन्दै न्यायका नारा लगाइन् । कहिले नन्दीग्रामका किसानलाई संगठित गर्न लागिन्, कहिले हिरानन्दिनीको जमिनका लागि लडिन् । कहिले ‘लोकसभासे उची ग्राम सभा’ भन्दै भुइँको सार्वभौमिकता उठाउने प्रयत्न गरिन्, कहिले नदीलाई आमा भन्दै पर्यावरण र जीवनको साइनो सुनाउँदै हिँडिन् । उनी अनेक आन्दोलनमा जोडिइन् । तर, त्योभन्दा धेरै स्वयं एक पूरा आन्दोलन भइन् । यसरी उनी आफू हुनुको अर्थ निर्माण गर्दै गइन् र बनिन्– मेधा पाटकर ।

टाटा इन्स्टिच्युट अझ सोसल साइन्सकी मेधावी विद्यार्थी थिइन् उनी । पीएचडी गर्न चाहन्थिन् । त्यो यस्तो समय थियो, जतिबेला भारत सरकार विकासका ठूलाठूला सपनाहरू बनाउँदै थियो– औद्योगीकरणको सपना, सडक–रेलको विस्तार, बाँध ! सरकारले सन् १९७९ मा नर्मदा नदी र यसका सहायक नदीमा दर्जनौं बाँध निर्माण गर्ने विशाल परियोजना तयार गर्‍यो । भनिन्छ, त्यो जवाहरलाल नेहरूकै सपना थियो । दिल्लीका शासक ‘विग ड्याम’ को रोमाञ्चकताले प्रफुल्ल थिए । ठूलो पूर्वाधार, ठूलो लगानी र ठूलो प्रभावका रोमाञ्चक किस्साले बजार गर्माएको समय थियो त्यो ।

नर्मदा बाँध परियोजनाबारे सुनेकी मेधाले सन् १९८५ मा नर्मदा उपत्यका भ्रमण गरिन् । उनी बाँधको रोमाञ्चकताभन्दा धेरै स्थानीयको कुरा सुन्न चाहन्थिन् । जब उनी ‘सरदार सरोवर’ निर्माण क्षेत्रमा पुगिन्, अवस्था नितान्त फरक थियो । त्यो परियोजना मात्रै विशाल थिएन, त्यसले सिर्जना गर्ने संकट पनि विशाल थिए, जसले बिघौंबिघा खेत, बारी, जंगल सखाप बनाउँथ्यो । परियोजना यस्तो थियो, जसभित्र साधारण मान्छेका लागि अनेकौं फन्दा थिए र उम्कने कुनै उपाय थिएन । शासकहरू नर्मदाबाट पानी र बिजुली निकालेर गुजरात, मध्यप्रदेश, महाराष्ट्र र राजस्थानमा विकासको आपूर्ति गर्न चाहन्थे । तर, त्यही किनारमा बस्ने मान्छेप्रति उनीहरूको कुनै चासो थिएन । न विस्थापनको कसैले चर्चा गर्थ्यो, न पुनर्वासको । सरकारी मान्छे बाँधको लागतबारे चर्चा गर्थे, तर मानवीय र प्राकृतिक संकटबारे बेखबर थिए । हजारौं परिवारका सपना बाँधभित्र डुब्दै थिए, तर शासक सरोवरमा तैरिने पानीका लहर कल्पिएर मन–मख्ख थिए । मेधाले थाहा पाइन्, यो परियोजनामा विश्व बैंक संलग्न छ र ऊ भारत सरकारलाई अनेकौं दबाब दिएर योजना सम्पन्न गर्न चाहन्छ । त्यो भ्रमणबाट मेधाले राज्यसत्ताको नागरिकप्रति बेपर्वाह उदासी थाहा पाइन् । त्यहाँ निर्धा मान्छेको जीवन र जीविकाबारे कहालिलाग्दो मौनता थियो । मेधालाई मान्छेको त्यही मौनताले चर्को बोल्न प्रेरित गर्‍यो । उनलाई लाग्यो– संघर्ष अनिवार्य छ ।

सन् १९८९ बाट उनले नर्मदा उपत्यकाका मान्छेहरू संगठित गर्न थालिन् । र, बन्यो नर्मदा बचाऊ आन्दोलन । सरदार सरोवर (गुजरात) आन्दोलनको केन्द्र बन्यो, जसमा जोडिन आइपुगे मध्यप्रदेश, गुजरात र महाराष्ट्रका हजारौं नागरिक । आन्दोलनले मुख्यतः वातावरणीय, सामाजिक, आर्थिक र मानवीय मुद्दा उजागर गर्‍यो । क्षतिपूर्ति र पुनर्वासको मुद्दा उठाइयो । आन्दोलनले कानुनी लडाइँ पनि सुरु गर्‍यो र प्रतिरोध पनि बढ्दै गयो । त्यसैबीच सन् १९९० मा नर्मदा बचाऊ आन्दोलनले हजारौंको र्‍याली आयोजना गर्‍यो । र्‍याली उत्तरी मध्यप्रदेशबाट ‘सरदार सरोवर’ निर्माण स्थलतर्फ अगाडि बढ्यो । प्रहरी दमन भयो । तर, प्रदर्शनकारीले सशक्त प्रतिकार गरे । समयक्रममा अगुवाहरू भोक हडतालमा जुटे, प्रतिरोध भए । परिणाम, सन् १९९३ मा विश्व बैंक परियोजनाबाट बाहिरियो । प्रतिरोध सँगसँगै कानुनी लडाइँ पनि अगाडि बढ्दै गयो । अर्थात्, सरकार परियोजना क्षेत्रका मान्छेबारे सोच्न बाध्य भयो ।

उनले भनिन्, ‘यो थियो नर्मदा बचाऊ आन्दोलनको भावभूमि’ । आन्दोलनको वर्णन सुनिरहँदा मेरो मनमा केही प्रश्न आए, आखिर विकासको विकल्प के ? के सधैं विरोध मात्रै गरेर हुन्छ ? उनले भनिन्, ‘अवश्य नै विकास चाहिन्छ । तर, यहाँ केही कुरा छन् । पहिलो, विकासको कुरा गर्दा, कस्तो विकास र कसका लागि विकास भन्ने प्रश्न आउँछ । दोस्रो, नदी आफैंमा जीवन्त सम्पदा हो । यो मृत चिज होइन । त्यसैले यसलाई ‘मदर रिभर’ भनिन्छ । तर, आज नदी या त प्रदूषणले मर्दै छन् या त ठूला परियोजना र बाँधले । यसरी नै नदीलाई मार्दै जाने हो भने एक दिन पृथ्वीसमेत मर्छ । तेस्रो, विकासको अर्को पनि सिद्धान्त हुनुपर्छ, त्यो के भने यसले प्रभावित क्षेत्रका मान्छेप्रति पूरापूर न्याय गर्नुपर्छ । निर्धा मान्छे, आदिवासी, गरिब र दलितप्रति उदासीन भएर विकास हुँदैन । चौथो कुरा, विकासका नाममा ऋण र अनुदान भन्दै विश्वका ठूल्ठूला संस्था आउँछन् र हाम्रो जस्तो राज्यलाई अनावश्यक दबाब दिन्छन् । यसरी न देश सार्वभौम हुन्छ, न नागरिक । पाँचौं, यसरी नै काम गर्ने हो भने, विकासमा नाममा पर्यावरण, जीवन, देश, स्वाभिमान सबैमाथि खेलवाड हुन्छ । यस्तो विकासको के काम ? अमेरिकाले अहिलेसम्म सानाठूला १९५१ ड्याम भत्कायो । युरोपियन देशहरूमा ४ हजारभन्दा धेरै ड्याम भत्काइए । उता ठूला बाँधको विकल्प खोजिँदै छ, यता हामी बनाउँदै छौं । यो उल्टो बाटो हो । सुल्टो बाटो चैं के भने, हाम्रा नदीहरू अविरल र निर्मल हुनुपर्छ । नदी र मान्छेको सम्बन्धलाई जीवन्त र प्रेममय बनाउनुपर्छ । अन्यथा, उल्टो हिँडेर अगाडि बढिन्छ कसरी ?’

एक दिन सहर विकास र विस्तार गर्ने परियोजनाअन्तर्गत महाराष्ट्र सरकारले मुम्बईमा ७५ हजारभन्दा धेरै गरिबका घर भत्काउने निर्णय गर्‍यो । यो सन् २००३ तिरको कुरा हो । नभन्दै सन् २००३ र ००४ भित्र मुम्बईमा हजारौं घर घुलोपिठो पारियो । लाखौं मान्छेको ओत खोसियो । सुत्केरीहरू सडकमा आए । बालबच्चा बेघरबार भए । आफ्नै चुनावी वाचालाई सरकारले बिर्सियो र नागरिकका सपनामाथि डोजर चलायो । यो अन्यायको प्रतिरोधमा मेधाले सुरु गरिन् ‘घर बचाओ, घर बनाओ’ आन्दोलन । त्यो यस्तो आन्दोलन थियो कि आजाद मैदान मुम्बईमा हजारौं मान्छेले आवासको माग गर्दै प्रदर्शन गरे । र, उनीहरूले आफ्नो साविककै स्थानमा घर बनाए । यसरी मान्छेले अन्यायविरुद्ध लड्न सिके र संघर्षको महत्त्व बुझे ।

कुरा सिधा छ, कोकाकोला कम्पनीलाई पानी फालाफाल हुन्छ, तर नागरिक तिर्खाले मर्छन् । यो कस्तो अन्याय हो ? विकासका नाममा सरकार गरिबका घर भत्काउँछ– न सल्लाह हुन्छ, न विकल्प दिन्छ । योभन्दा ठूलो अन्याय के हुन्छ ? बाँध बनाउने नाममा नदीमाथि दोहन गरिन्छ र किनारका मान्छेप्रति कसैको संवेदना देखिँदैन । के यस्तो पनि हुन्छ ? सन् २०१९ को कुरा हो । एक दिन नर्मदा उपत्यकामा घरघोर वर्ष भयो । सरदर सरोवरमा १३८.९ मिटरसम्म पानी भरियो । बाढीले यत्रतत्र डुबान र कटान गर्‍यो । उता नागरिक डुब्दै थिए, यता सरोवरका कर्मचारीहरू प्रधानमन्त्रीको जन्मदिन मनाउँदै थिए । जब सबै सत्यनाश भयो, चौबीस घण्टापछि मात्र गेट खुल्यो । योभन्दा ठूलो लापरबाही के हुन्छ ? आम मान्छेप्रतिको यस्तो अपहेलना र दुःखलाई जस्ताको तस्तै राखेर, संसार सुन्दर बन्छ कसरी ? लाखौं मान्छेहरूलाई भोकै राखेर, आफू आनन्दमा रमाउनुको अर्थ के ?

यो सबै अन्याय आँखै अगाडि देखेकी मेधालाई लाग्यो, आम मान्छेको शक्ति निर्माण गर्नु आवश्यक छ । त्यसपछि बन्यो– ‘नेसनल एलाएन्स फर पिपुल मुभमेन्ट’ । मुभमेन्टले भारतमा झाँगिँदै गएको उदारवाद, जातिवाद, धर्मान्दता, चरम भ्रष्टाचार र अन्यायविरुद्ध खबरदारी सुरु गर्‍यो । आन्द्रप्रदेश, असम, बिहार, छत्तिसगड, दिल्ली, गुजरात, हरियाना, झारखण्ड, कर्नाटक, केरला, मध्यप्रदेश, महाराष्ट्र, उडिसा, पन्जाव, राजस्थान, तमिलनाडु, उत्तराखण्ड, उत्तरप्रदेश र पश्चिम बंगालसम्मका नागरिक संगठन र मान्छे यसमा जोडिए । उनको विचारमा यो महात्मा गान्धी, भीमराव अम्वेडकर, राम मनोरह लोहिया, ज्योतिराव फुलेदेखि कार्ल मार्क्ससम्मलाई सम्मान गर्ने एक अविश्रान्त आन्दोलन हो, जसको उद्देश्य छ– न्याय र समानता ।

प्रधानमन्त्री मोदीले मेधा पाटकर र एलाइन्स फर पिपुल मुभमेन्टबारे टिप्पणी गर्दै भने कि ‘यी सबै सहरिया नक्सलहरू हुन्’ । सायद न्यायका आन्दोलनलाई उग्रवादी कम्युनिस्ट भएको आरोप लगाई मोदी उनीहरूप्रति आमघृणा जागृत गर्न चाहन्थे । उनले भनिन्, ‘जब आन्दोलनप्रति नागरिकको अपार विश्वास बढ्छ, त्यस्ता घृणाहरू फगत घृणामा सीमित रहन्छन् ।’

मैले सोधें– के तपाईं समाजवादी हो ? उनले भनिन्, ‘अवश्य म लोकतान्त्रिक समाजवादी हुँ । आजको विकल्प नै त्यही हो । अबको संसार मान्छेको श्रमलाई सम्मान गर्ने नयाँ ढाँचामा जानुपर्छ । ठूला उद्योगले जसरी साना क्षमतालाई बर्बाद गर्दै छन्, त्यसलाई रोक्नुपर्छ । मुख्यतः वातावरणको दोहन कसरी रोक्ने, यसको विकल्प आवश्यक छ । हाम्रो नारा छ– लोकसभासे उची ग्राम सभा । यसको अर्थ भुइँ बलियो बनाउनुपर्छ । हाम्रा विकास प्राथमिकता परिवर्तन गरौं । पैसा कमाउनेभन्दा सबैलाई न्याय दिने विकास खोजौं । आज जुन ‘भल्गर इन्इक्युटी छ, त्यसले हामीलाई कतै पुर्‍याउँदैन । अतः आजको विकल्प हो, समानता र न्याय । योबिना पृथ्वी किमार्थ, बस्नयोग्य हुँदैन ।’

उनी विश्व सामाजिक मञ्च, काठमाडौंको मुख्य वक्ता थिइन् । अतः मेरो प्रश्न स्वाभाविक थियो, के हो विश्व सामाजिक मञ्च ? के विश्व राजनीतिमा यसको कुनै अर्थ छ ? उनले भनिन्– ‘सामाजिक मञ्चले संघर्ष गर्नेलाई आफ्नो कुरा भन्ने ‘स्पेस’ दिन्छ । यसले हामी एक्लै छैनौं र न्यायको आन्दोलन संसारभरि छ भन्नेबोध गराउँछ । आज, ‘ग्योबल क्यापिटल’ किसान, मजदुर, गरिब विरोधी कानुनहरू बनाउन, जसरी ‘इम्पोज’ गरिरहेको छ, त्यसलाई अन्त्य गर्ने विश्व आन्दोलन अवश्यक छ । मञ्च त्यसको जीवन्त प्रयत्न हो । आज जसरी संसारभरिका पुँजीवादी शासकहरू एकठाउँ छन्, त्यसलाई चुनौती दिन हामी समाजवादी नागरिक पनि त संगठित हुनुपर्छ । यो अर्थमा मञ्चले हामीलाई एकठाउँमा ल्याएको छ । यो हाम्रो साझा सपना देख्ने थलो हो । किनभने, हामीलाई थाहा छ, सपना देखेपछि मात्रै यात्रा सुरु हुन्छ । अतः हामीले सपना देखेका छौं र यात्रा सुरु गरेका छौं । त्यही यात्राको एक कडी हो– विश्व सामाजिक मञ्च । यो एउटा विकल्पको मञ्च हो, बहसको मञ्च हो र संघर्षको मञ्च हो । त्यसैले विश्व सामाजिक मञ्चको नारा छ, ‘अर्को विश्व सम्भव छ ।’

मैले सोधें– के अर्को विश्व सम्भव छ ? उनले भनिन्, ‘अवश्य, अन्यथा यो संसार तिनका लागि पराई हुनेछ, जो पसिना त बनाउँछन् तर न्याय पाउँदैनन् । सबैका लागि न्याय, स्वाभिमान र समृद्धि सुनिश्चित भएपछि अर्को विश्व बन्छ । त्यही नै हामीले खोजेको सुन्दर संसार हो ।’

अन्त्यमा मेरा मनमा प्रश्न आयो, के सधैँ संघर्ष गर्ने ? यो चैँ मैले उनलाई नसोधेको प्रश्न हो । के आन्दोलन गरेर मान्छे थाक्दैन ? यो पनि मैले उनलाई सोध्न बिर्सिएको प्रश्न हो । यी प्रश्नको उनी के जवाफ दिन्थिन्, थाहा छैन । सायद उनको उत्तर हुन्थ्यो, ‘न्यायको लडाइँमा थकान भन्ने कुनै कुरा हुँदैन ।’ वा भन्थिन् होला, ‘मैले हजार जीवन जन्म लिए पनि संघर्ष गरिरहनेछु । किनभने जब आँखैअगाडि सत्ताका उन्मत्त घोडाले नागरिकको जीवन बर्बाद गर्छ, तब संघर्ष अनिवार्य बन्छ । संकट देख्दादेख्दै, संघर्ष रोक्नु र सबै ठीक छ भनेर मुस्कुराउनु जति घृणित काम के हुन्छ !’

मलाई लाग्यो, संसारमा अन्याय छ, प्रतिरोध छ र छन् संघर्ष गर्दै गरेका बहादुर मान्छेहरू । तिनैमध्येकी एक बहादुर र अविश्रान्त अगुवा हुन्– मेधा पाटकर । उनीबाट हाम्रो पुस्ताका अगुवाले सिक्नुपर्ने धेरै विषय छन् । तीमध्ये एउटा छ– निरन्तर संघर्ष । आखिर संघर्ष गर्नेहरू छन्, त्यसैले धर्तीमा सत्य र न्याय जीवित छ ।

प्रकाशित : फाल्गुन १२, २०८० ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×