कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

धागोबाट चुँडिनुअघिको चंगालाई

भावना शर्मा

जाऊ त्यो इन्द्रेणीसम्म
बादलको गुफाभित्र पस
घामका रेशाहरु पहिल्याउँदै–पहिल्याउँदै
मन र शरीर भेदेर निराकारसम्म पुगेर आऊ

धागोबाट चुँडिनुअघिको चंगालाई

नबिर्सनु फर्कने बाटो

धागोले सुस्तरी–सुस्तरी तान्दा

तिमी उसकै चाल समातेर ओर्लिनुपर्छ

सुन !

चंगाले चंगा भइरहन धागोसँगै बाँधिइरहनुपर्छ


छुस्स छोइदिँदा च्यातिने नरम झिल्लीजस्तै

त्यो कागजको पातलो पाना

स्यााठ र सिरेटो झेल्दै

विराट आकाशमा नाचिरहन्छु भन्छ

छेडेर अझै माऽऽऽथि तारासम्म पुग्छु भन्छ

तर, धागोबिना चंगाको तृष्णा के अर्थ !


बादलको झोक्काले काँप्ने

पानीका बुँदहरुले गलाइदिने चंगा

निस्फिक्री नाच्न र बेपर्वाह उड्न

मसिनो त्यही रेशा चाहिन्छ

आखिर मनजस्तो न हो चंगा पनि !

रुख अड्याउन जराजस्तै

ढुंगा पगाल्न पानीजस्तै

मलाई तिम्रा पखेटाजस्तै

चंगालाई पनि त धागो नै चाहिन्छ ।

प्रकाशित : माघ २७, २०८० ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×