कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
लोक सेवा

दालका थरीथरी जात विकास गर्दै वैज्ञानिक दराई

२७ वर्षे जागिरको अवधिमा राजेन्द्रले कोसेबालीका १५ जात विकास गरेका छन्, उनले मुसुरोमा ५ जात, मुङमा ३, भटमास र मासमा २/२ तथा रहर, राजमा र बोडीमा १/१ जात विकास गरेका हुन्

चितवन — मानव अंगका लागि पहरेदार मानिने तत्त्व ‘प्रोटिन’ पाइने खाद्यबाली दालखेती गर्नु माटोका लागि अत्यावश्यक हो । दालबालीको अनुसन्धानमा संलग्न राजेन्द्र दराई दालखेती माटोका लागि ‘मिनी नाइट्रोजन फ्याक्ट्री’ बनाए जस्तै भएको बताउँछन् । यसको जराले माटोको पोषक तत्त्व निर्माण गर्छ ।

दालका थरीथरी जात विकास गर्दै वैज्ञानिक दराई

राम्रोसँग दालबाली लगाउने हो भने आयात गरेर खेतमा छर्नुपर्ने युरिया मल ३५ प्रतिशतसम्म कटौती गर्न सकिने उनले सुनाए । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) का मुख्य वैज्ञानिक हुन् दराई । सीमान्तकृत वर्गमा पर्ने आदिवासी दराई समुदायको २०७८ को जनगणनाअनुसार देशभर जनसंख्या १८ हजार ६ सय ९५ छ । यद्यपि यो समुदायका अगुवाहरू भने जनसंख्या केही बढी भएको बताउने गर्छन् । दराई चितवनको मैदानी क्षेत्रका आदिवासी हुन् । चितवनमा दराईको जनसंख्या ८ हजार ८ सय ५० छ ।

राजेन्द्र दराईको घर भरतपुर महानगरपालिका–१५ मंगलपुरमा छ । महानगरभित्र दराईको जनसंख्या ३ हजार ४ सय १३ छ । जनसंख्याको हिसाबले अल्पसंख्यक मानिने दराई समुदायका राजेन्द्रको नार्कका मुख्य वैज्ञानिक बन्ने यात्राको सुरुवात २०५३ कात्तिक १५ मा सुरु भएको हो । उनले लोक सेवा परीक्षा उत्तीर्ण गरेर नार्कको प्राविधिक अधिकृतका रूपमा जागिरे जीवन सुरु गरेका हुन् । त्यसअघि उनी गैरसरकारी संस्थामा जागिरे थिए । कृषि विषय अध्ययन गरेकालाई स्वदेश वा विदेशभित्र पनि विभिन्न ‘प्रोजेक्ट’मा जागिर खान सजिलो छ । तर उनले सरकारी सेवामा जाने मन बनाए । ‘सरकारी सेवा व्यक्तिगत रूपमा फाइदाजनक होला/नहोला तर नार्क जस्तो ठाउँमा गएर कृषिमा योगदान दिन सकिन्छ भन्ने मलाई लाग्यो र यता आएँ,’ राजेन्द्रले भने ।

दराईले कृषि विकास बैंक र कृषि सेवा विभागमा जाने मन पनि नबनाएका हैनन् । कृषि विकास बैंकमा एक पटक र कृषि सेवा विभागअन्तर्गत जागिर खान दुई पटक प्रयास गरे पनि सफल हुन सकेनन् । त्यसपछि भने उनी अलि गम्भीर भएर लोक सेवाको तयारीमा लागे । सोचविचार गरेर अनुसन्धान क्षेत्रमै जाने मन बनाए । नार्कका लागि पहिलो पटक दिएको परीक्षामा नै सफल भएपछि उत्साहित भएर जागिरे जीवनमा होमिए । ‘अन्तर्वार्तामा सफल हुनेमा मेरो दोस्रो नम्बरमा नाम आएको थियो,’ उनले सुनाए । त्यो बेला खुला प्रतिस्पर्धाबाट आएका हुन् उनी ।

मंगलपुरमा दराईहरूको एउटा झुरुप्प बस्ती छ । तनहुँ दमौली आडको सेवर गाउँका धर्मसिंह राजेन्द्रका हजुरबुबाका पिता हुन् । धर्मसिंह तनहुँबाट नवलपरासी गैंडाकोट बसाइँ सरे । त्यसपछि चितवन छिरेर नारायणगढ नजिकको लंकुमा बसे । लंकुबाट भरतपुरको गौरीगन्ज पुगे । गौरीगन्जबाट उत्तर पश्चिमको त्यो बेलाको गाउँ कचपचे आए । हाल यज्ञपुरी नामले परिचित कचपचेमा पनि राजेन्द्रका पुर्खा लामो समय बसेनन् । त्यसपछि मंगलपुर आएका उनीहरू त्यहीं अडिए ।

दराई समुदायको परम्परागत पेसा कृषि नै थियो । कृषि र पशुका लागि योग्य क्षेत्र रोज्दै राजेन्द्रको पुर्खा तनहुँदेखि डुल्दै मंगलपुरसम्म आयो । संयोग नै मानौं राजेन्द्रले पनि आफ्नो उच्च शिक्षाको विषय कृषि बनाए र जागिरको क्षेत्र पनि कृषि नै रोजे । वि.सं. २०२८ साउन १५ मा मंगलपुरमा जन्मेका राजेन्द्रले २०४४ सालमा एसएलसी उत्तीर्ण गरे । घरनजिकै रामपुरमा कृषि शिक्षाका लागि प्रख्यात रामपुर क्याम्पस थियो । एसएलसीपछि कृषि विषय लिएर आईएससीमा भर्ना भए । त्यसपछि स्नातक (बीएससी एजी) पनि कृषिमै गरे । त्यो बेला स्नातक तहका लागि तीन वर्ष पढे पुग्थ्यो । रामपुरमा स्नातक पढेपछि स्नातकोत्तर (एमएससी एजी) पढ्न भारत गए ।

भारत कानपुरको चन्द्रशेखर आजाद कृषि विश्वविद्यालयबाट उनले कृषिमा एमएससी पूरा गरेका हुन् । त्यसपछि चार वर्षअघि उनले विद्यावारिधि (पीएचडी) पनि गरे । रामपुरकै कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट पीएचडी गरेका हुन् उनले । पुख्यौली परम्परागत पेसा कृषि भए पनि राजेन्द्रको परिवारमा शैक्षिक वातावरण थियो । राजेन्द्रका बुबा बुद्धिराम दराई मावि तहका शिक्षकबाट अवकाशप्राप्त हुन् । ‘बुबा नै शिक्षक भएपछि घरमा पढाइका लागि राम्रो वातावरण बन्यो,’ राजेन्द्रले भने । त्यसपछि सामाजिक क्षेत्रमा क्रियाशील आमा विमला दराईको प्रेरणाले आफूलाई अगाडि बढ्न अभिप्रेरित गर्‍यो भन्छन् राजेन्द्र ।

‘बुबाका कारण पढ्न हौसला मिल्यो । हामी आज जहाँ छौं, यसमा आमाको पनि ठूलो हात छ,’ राजेन्द्रले भने । आमा विमलाले छोराछोरीलाई आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने उत्प्रेरणा दिएको राजेन्द्रले बताए । ‘तिमीहरू आफ्नै मिहिनेतले आफ्नो परिचय बनाउनुपर्छ । तिमीहरूका लागि अरू कसैले केही गर्ने हैन । त्यसैले मिहिनेत गर, अनुशासित बन, पढाइमा ध्यान देऊ भन्ने कुरा आमाले सानैदेखि जोड दिनुभयो,’ राजेन्द्रले सुनाए । बाबाआमाको यही मार्गनिर्देशनले आफू यहाँसम्म आएको भन्छन् राजेन्द्र ।

जागिरे जीवनको सुरुवातमा राजेन्द्र इटहरी पुगेका थिए । २१ महिनापछि रामपुरमा रहेको नार्कअन्तर्गतको कोसेबाली अनुसन्धानको प्राविधिक भएर आए । यहाँ आएर नै उनले दाल र कोसेबालीको महत्त्व र आवश्यकता बुझेका हुन् ।

नेपालमा दालका लागि उपयोग हुने विभिन्न जातका २० प्रकारका कोसेबालीको खेती हुने गरेको उनले बताए । त्यसमध्ये ११ वटा बाली नेपालमा बढी खेती हुन्छ । सबैभन्दा धेरै मसुरो बाली हुँदोरहेछ । ‘दालबालीमा नेपालमा हुने खेतीको ६० प्रतिशत हिस्सा मसुरो बालीले ओगट्दो रहेछ,’ राजेन्द्रले भने । राजेन्द्रले यही मसुरोबारे पीएचडी गरेका हुन् । खजुरा मसुरो–४ र श्रद्धा कालो मसुरो गरेर उनको अध्ययनले दुई जात विकास गर्‍यो । ‘खान स्वादिलो, हावापानी अनुकूलको, रोगकिरा सहने र पोषण पनि भएको मसुरोका जातहरू हुन् यी,’ राजेन्द्रले भने । स्थानीय जातबाट छनोट गरेर यी नयाँ जात विकास गरेको उनले बताए ।

जागिरे जीवन सुरु गरेको २१ वर्षपछि उनी रामपुरबाट स्थानान्तरण गरेर बाँके खजुरा पुगेको राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यालयको प्रमुख भए । जागिरे जीवनको लामो समय कोसेबाली अनुसन्धान र जात विकासमा बिताएका कारण दालखेतीबारे धेरै काम गर्न पाएको उनले बताए । २७ वर्षको जागिरे जीवनमा उनले कोसेबालीका १५ वटा जात विकास गरेका छन् । ‘सबैभन्दा बढी मसुरोमा पाँच जात, भटमासमा दुई, मुङमा तीन, मासमा दुई वटा, रहर, राजमा र बोडीमा एक/एक वटा जात विकास गरेको छु,’ राजेन्द्रले भने । नेपालको मसुरो दक्षिण एसियामै राम्रो छ । प्रोटिन, आइरन र जिंक जस्ता पोषक तत्त्वको मात्रा बढी छ । खान मिठो, साना दाना फतक्क पाक्छ । र, किसानले विषादी नछर्ने बाली पनि मसुरो नै हो । यसको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग छ,’ राजेन्द्रले भने ।

पहिला राम्रो निर्यात भए पनि अहिले यो रोकिएको हुँदा सरकारले किसानलाई खेतीमा प्रेरित गर्न र निर्यातको वातावरण बनाउन उनले अपिल गरे । आदिवासी सुमदाय अझ जो संख्यामा कम छन्, उनीहरू शिक्षादेखि सरकारी जागिर र अन्य सार्वजनिक पहिचानका पदमा निकै कम पुगेका छन् । तर राजेन्द्र दराई योभन्दा अलग रहे । राजेन्द्रको परिवारमा अरू भाइ र बहिनीहरू पनि शिक्षाको क्षेत्रमा अगाडि नै छन् । पारिवारिक वातावरणले नै आफूलाई अगाडि बढ्न सहयोग गरेको उनले बताए । ‘तर सबैको हकमा यस्तो हुँदैन ।

आदिवासी अल्पसंख्यक समुदायका धेरैलाई अगाडि बढ्न कठिन छ । सरकारले उनीहरूका लागि सहयोग गर्नुपर्छ । यसका लागि शिक्षामा ध्यान दिनुपर्छ । एउटा राम्रो शैक्षिक कोष नै बनाए राम्रो हुन्छ भन्ने मेरो सुझाव छ,’ राजेन्द्रले सुनाए । आदिवासीको सन्तान भनेपछि अझै पनि विश्वास नगर्ने परिपाटी छ भन्छन् उनी । ‘दराईले के गर्न सक्ला र भनेर हाम्रो समुदायलाई हेरेर मूल्यांकन गर्ने चलन छ । तर मेरो काम र मेरो तर्क सुनेपछि हेर्‍याहेर्‍यै पनि हुन्छन्,’ राजेन्द्रले भने ।

उनी विदेशमा पनि पुगेर आफ्नो ज्ञान र अनुभव बाँड्दै आएका छन् । भर्खर बेल्जियम गएर १९ देशका सहभागीमाझ आफ्ना अनुभव राखे । ‘विदेशमा क्षमता र कामको गुणस्तरका आधारमा मूल्यांकन हुने गरे पनि नेपाली समाजमा अझै यस्तो परिपाटी नबढेको पो हो कि झैं लाग्छ,’ राजेन्द्रले भने । २०७४ सालदेखि कोसेबालीको प्रमुख भएका राजेन्द्र अहिले चितवन रामपुरमै रहेको नार्कको राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रममा प्रमुख भएका छन् । गत वर्षको मंसिर १ गतेदेखि उनी यो कार्यालयमा आएका हुन् ।

मुख्य वैज्ञानिक दराईको ध्यान अब मकै बालीमा छ । मूल्यका हिसाबले राम्रो मानिने मकै बेबी कर्न, स्विट कर्न र पप कर्नका जात विकासमा आफू लागेको उनले बताए । ‘देशमा कृषि अनुसन्धानका लागि न्यून बजेट छ । तर पनि हामी अनुसन्धानमा जुटेका छौं । सानैमा पढ्ने प्रेरणा पाइयो । ठूलो भएपछि केही फरक योगदान गर्ने मन बनाइयो र त्यो जिम्मेवारीमा बढ्दा चुनौती त आए तर अगाडि बढ्दै छु,’ राजेन्द्रले भने ।

प्रकाशित : श्रावण ७, २०८१ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×