सम्पदा संरक्षणमा नेपालदेखि कम्बोडियासम्म

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्यमा राष्ट्रिय संयोजक रहेकी एनी जोशीले कम्बोडियाको पुरातात्त्विक स्थल अंकोरवाटमा पनि काम गरिरहेकी छन् 

फाल्गुन १७, २०८०

मनोज पौडेल

From Nepal to Cambodia in heritage conservation

कपिलवस्तु — पाटन दरबार स्क्वायरको आसपासमा बाल्यकाल बिताएकाले एनी जोशीलाई कला, सम्पदा र परम्पराबारे गहिरो चासो थियो । सन् २००९ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक सकेपछि बिस्तारै उनको ध्यान ‘हेरिटेज आर्किटेक्ट’ तर्फ मोडियो । 

हेरिटेज आर्किटेक्टबारे थप जान्ने, बुझ्ने र अध्ययन गर्ने हुटहुटीले उनी युरोप पुगिन् । सम्पदा केन्द्रित संरक्षण र न्यु हेरिटेज पढाउने स्कुल इन्सा पेरिस वेवविलमा भर्ना भइन् एनी । फ्रेन्च भाषामै दुईवर्षे पोस्ट मास्टर्स डिग्री सकेपछि उनी नेपाल फर्किन् । हिजोआज एनीको अधिकांश समय बुद्धकालीन सम्पदा संरक्षणमा बितिरहेको छ । तीन वर्षयता उनले शाक्य गणराज्य तथा राजकुमार सिद्धार्थको युवा अवस्था बितेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काममा राष्ट्रिय संयोजकका रूपमा काम गरिरहेकी छन् । 

३८ वर्षे एनीको बुझाइमा संरचनालाई सम्पदामैत्री बनाउनु गाह्रो काम हो । अझ त्योभन्दा धेरै गाह्रो काम हो, पुराना संरचनामा सम्पदाको जीवन्तता कायम राख्नु । यही चुनौतीले भरिएको काममा प्रतिबद्ध भएर लगनसाथ काम गर्दागर्दै एनीको परिचय हेरिटेज आर्किटेक्टका रूपमा भएको छ । एनीसँग इतिहास खोतल्ने, त्यसको संरक्षण गर्ने र जीवन्तता प्रदान गर्ने कार्यमा विशेष दक्षता छ । स्मारकहरू र ऐतिहासिक महत्त्व बोकेका सहर र सम्पदाको संरक्षण गर्ने विषयमा एनीले हासिल गरेको दक्षता साँच्चिकै लोभलाग्दो छ । उनको यही विशिष्टीकृत लगावकै कारण उनले एक वर्षसम्म युनेस्कोमा परामर्शदाताका रूपमा काम गर्ने अवसर पनि पाइन् । 

एनीका अनुसार सहरभित्र हुने अनेकन संरचनालाई सम्पदाका दृष्टिले कसरी हेर्ने र संरक्षणका लागि के–के काम गर्ने भन्ने निकै महत्त्वपूर्ण विषय हो । ‘देखिने भौतिक संरचनालाई सम्पदाका दृष्टिले संरक्षणका काम गर्न थोरै सजिलो भए पनि नदेखिने भौतिक संरचनालाई संरक्षणका गर्न गाह्रो हुन्छ,’ उनले भनिन् । तिलौराकोटका अलावा एनी अहिले कम्बोडियाको पुरातात्त्विक स्थल अंकोरवाटमा पनि काम गरिरहेकी छन् । अंकोरवाटको पुरातात्त्विक महत्त्वका सामग्रीहरूको डकुमेन्टेसनमा उनी युनेस्कोमार्फत खटिएकी हुन् । ‘डकुमेन्टेसनका अलावा उक्त ऐतिहासिक स्थानमा पर्यटकीय आकर्षणका लागि के गर्न सकिन्छ भन्ने सुझाउने काम पनि मेरो हो,’ उनले भनिन्, ‘त्यसका लागि पछिल्लो समय म कम्बोडिया आउजाउ गरिरहेकी हुन्छु ।’

From Nepal to Cambodia in heritage conservation०७२ को भूकम्पपछि फ्रान्सबाट अध्ययन सकेर नेपाल फर्किंदा एनीको ध्यान भूकम्पमा परेर ढलेका यहाँका पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका संरचनामा परेको थियो । आफ्नो विषयविज्ञताकै कारणले पनि उनी ०७४ देखि ०७९ सम्म विशेषज्ञ हेरिटेज आर्किटेक्टका रूपमा काष्ठमण्डप पुनर्निर्माणमा सक्रिय रहिन् । एनीले काठमाडौंका सम्पदा संरचनाको जगको विस्तृत नक्सा उतार्ने काम नभएको बताउँछिन् । ‘तर भूकम्पपछि काष्ठमण्डप मरुसत्तलबाट भने यो कामको सुरुआत भएको छ,’ उनले भनिन् ।

भूकम्पपछि बेलायतबाट वरिष्ठ पुरातत्त्वविद् रवीन कनिङ्घमसहित केही पुरातत्त्वविद् नेपाल आएका र त्यही बेला रेस्क्यु आर्कियोलोजीको अभ्यास पनि गरिएको एनीले बताइन् । पुरातत्त्व विभाग र दुर्हाम विश्वविद्यालयले गरेको अध्ययन, अनुसन्धान र उत्खननमा सहभागी भएर उनले पुरातात्त्विक संरचनाहरूको संरक्षणबारे थप ज्ञान हासिल गर्ने मौका पनि पाइन् । ‘पहिले हामीसँग काष्ठमण्डपको एघारौं, बाह्रौं शताब्दीसम्मको इतिहासमात्र थियो,’ उनले भनिन्, ‘पुनर्निर्माणका क्रममा भएको अध्ययनले फाउन्डेसनमात्र सातौं शताब्दीसम्म पुरानो भएको वैज्ञानिक प्रमाण भेट्यौं ।’ एनीले यस्ता तथ्यहरूले अध्ययन र अनुसन्धान कति जरुरी हुन्छ भन्ने बुझाउने बताइन् । 

काष्ठमण्डप पुनर्निर्माणको कामअघि त्यसको पुरानो संरचनाको विस्तृत अध्ययन गरिएकाले त्यसलाई पुरानै स्वरूपमा उभ्याउन सकिएको उनले बताइन् । उनले काष्ठमण्डपको अध्ययनका बेला भुइँ तलामा रहेका सय वटा थामको पनि अध्ययन गरेको बताइन् । उनले यो अध्ययनबाट एउटा थाम त पाँचौं शताब्दीको रहेको र मुख्य चार थाममध्ये एउटा भने पाँचौं शताब्दीको रहेको पुष्टि भएको बताइन् । ‘बेलायतको स्टर्लिङ विश्वविद्यालयका प्रोफेसर इयान सिमसनले काठको वैज्ञानिक डेटिङ गरेका थिए । जसबाट ती काठ पाँचौंदेखि १० औं शताब्दीसम्मका भएको पत्ता लाग्यो,’ एनी भन्छिन्, ‘यो तथ्यले काष्ठमण्डपमा फरकफरक समयका काठ प्रयोग गरिएको पुष्टि भयो ।’ त्यसको अर्थ यो बारम्बार मर्मतसम्भार भएको देखिन्छ । 

एनीका अनुसार काष्ठमण्डप पुनर्निर्माणसँगै यो सम्पदाबारे विस्तृत तथ्य तथ्यांकसहितको डकुमेन्टेसन भएको छ । जसलाई एनीकै संयोजनमा नेपाली, अंग्रेजी र नेपाल भाषामा छापिने अन्तिम तयारी भइसकेको छ । ‘अहिलेसम्म काष्ठमण्डपको संरचनाको लिखित दस्ताबेज नै थिएन । अब प्रामाणिक दस्ताबेजका रूपमा यो प्रकाशन हुँदैन,’ एनीले भनिन् । 

वसन्तपुरमै रहेको गद्दी बैठक संरक्षणमा पनि एनीले काम गरेकी छन् । भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकको सबलीकरणमा भने उनी काष्ठमण्डपको पुनर्निर्माणभन्दा अघि खटिएकी थिइन् । नभत्काईकन गद्दी बैठकको सबलीकरण गर्न जापान र इटालीका सम्पदाविद्समेत नेपाल आएका थिए । यसमा उनी सम्पदा इन्जिनियरका रूपमा परामर्शदाता थिइन् । एनीका अनुसार गद्दी बैठकमा पुरानो संरचना नबिग्रने गरी आधुनिक प्रविधिले मर्मतसम्भार गरिएको छ । हनुमानढोका दरबारभित्रका संरचनाको डुकमेन्टेसनमा पनि एनीले सम्पदाविज्ञका रूपमा काम गरिसकेकी छिन् । 

From Nepal to Cambodia in heritage conservationहिजोआज भने एनीको अधिकांश समय बुद्धकालीन सम्पदाहरूको संरक्षणमा बित्छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काममा राष्ट्रिय संयोजकका रूपमा काम गरिरहेकी एनी यसको उत्खननबाट प्राप्त सामग्रीलाई दस्ताबेजीकरण गर्ने र विभिन्न विज्ञहरूसँग अन्तरक्रिया गरेर राय सुझाव लिने काममा लागिपरेकी छन् ।

सन् २०१३ देखि तिलौराकोटमा विभिन्न चरणमा अन्तर्राष्ट्रिय पुरातत्त्वविद्हरूको सहयोगमा उत्खनन जारी छ । यो ठाउँको ऐतिहासिकता पुष्टि गर्दै यसलाई विश्व सम्पदा सूचीमा दर्ज गर्न युनेस्को नोमिनेसन डोसियर (प्रस्तावित मनोनयन दस्ताबेज) पेस गर्नुपर्छ । नोमिनेसन डोसियर तयार पार्ने काम विश्वविख्यात अस्ट्रेलियन सम्पदाविज्ञ डंकन मार्सलले गरिरहेका छन् । एनीको जिम्मेवारी डंकन मार्सलको कामलाई निष्कर्षमा पुर्‍याउन डोसियरका लागि चाहिने सबै प्रकारका तथ्य, अनुसन्धान विवरण, कागज पत्र लगायतका प्रमाण संकलन गरि आधिकारिता प्रदान गर्नु हो । एनीका अनुसार मार्सल नोमिनेसन डोसियर लेख्न मात्र होइन, त्यसलाई रणनीतिक रूपमा प्रस्तुत गर्न पनि पोख्त छन् । 

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न नोमिनेसन डोसियर फेब्रुअरी पहिलो साता युनेस्को मुख्यालय फ्रान्समा पेस गरिसकिएको छ । एनीको सक्रियता यतिमै मात्र सीमित भने छैन । उनी माथिल्लो डोल्पालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने विषयको छलफलमा पनि संग्लन छन् । यस्तो छलफलमा २०१८ देखि उनी चार पटक सहभागी भइसकेकी छन् । एनीले माथिल्लो डोल्पा संस्कृति र परम्पराका दृष्टिले मौलिक ठाउँ रहेको बताउँदै विश्व सम्पदा सूचीको मिश्रित (संस्कृति र प्रकृति) साईटमा राख्न सकिने बताईन् । माथिल्लो डोल्पालाई यो सूचीमा राख्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अग्रसरता लिएर सन् १९९० तिर युनेस्कोमा नोमिनेसन डोसियर पठाइएको थियो । 

डोसियार पठाएपछि यसबारे थप अध्ययन गर्न युनेस्कोको मिसन नेपाल पनि आएको थियो । तर त्यही बेला तत्कालीन माओवादीले सदरमुकाम दुनैमा आक्रमण गरेपछि माथिल्लो डोल्पा पुग्न हिँडेको युनेस्को टोली हेलिकोप्टरबाट फर्कियो । उनले भनिन्, ‘अहिले समुदाय आफैं सक्रिय भई पुनः प्रक्रिया सुरु गर्न चासो देखाएपछि म उत्साहित भएर सहभागी भइरहेको छु ।’

मनोज

Link copied successfully