कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सम्पदा संरक्षणमा नेपालदेखि कम्बोडियासम्म

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्यमा राष्ट्रिय संयोजक रहेकी एनी जोशीले कम्बोडियाको पुरातात्त्विक स्थल अंकोरवाटमा पनि काम गरिरहेकी छन् 
मनोज पौडेल

कपिलवस्तु — पाटन दरबार स्क्वायरको आसपासमा बाल्यकाल बिताएकाले एनी जोशीलाई कला, सम्पदा र परम्पराबारे गहिरो चासो थियो । सन् २००९ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक सकेपछि बिस्तारै उनको ध्यान ‘हेरिटेज आर्किटेक्ट’ तर्फ मोडियो । 

सम्पदा संरक्षणमा नेपालदेखि कम्बोडियासम्म

हेरिटेज आर्किटेक्टबारे थप जान्ने, बुझ्ने र अध्ययन गर्ने हुटहुटीले उनी युरोप पुगिन् । सम्पदा केन्द्रित संरक्षण र न्यु हेरिटेज पढाउने स्कुल इन्सा पेरिस वेवविलमा भर्ना भइन् एनी । फ्रेन्च भाषामै दुईवर्षे पोस्ट मास्टर्स डिग्री सकेपछि उनी नेपाल फर्किन् । हिजोआज एनीको अधिकांश समय बुद्धकालीन सम्पदा संरक्षणमा बितिरहेको छ । तीन वर्षयता उनले शाक्य गणराज्य तथा राजकुमार सिद्धार्थको युवा अवस्था बितेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काममा राष्ट्रिय संयोजकका रूपमा काम गरिरहेकी छन् ।

३८ वर्षे एनीको बुझाइमा संरचनालाई सम्पदामैत्री बनाउनु गाह्रो काम हो । अझ त्योभन्दा धेरै गाह्रो काम हो, पुराना संरचनामा सम्पदाको जीवन्तता कायम राख्नु । यही चुनौतीले भरिएको काममा प्रतिबद्ध भएर लगनसाथ काम गर्दागर्दै एनीको परिचय हेरिटेज आर्किटेक्टका रूपमा भएको छ । एनीसँग इतिहास खोतल्ने, त्यसको संरक्षण गर्ने र जीवन्तता प्रदान गर्ने कार्यमा विशेष दक्षता छ । स्मारकहरू र ऐतिहासिक महत्त्व बोकेका सहर र सम्पदाको संरक्षण गर्ने विषयमा एनीले हासिल गरेको दक्षता साँच्चिकै लोभलाग्दो छ । उनको यही विशिष्टीकृत लगावकै कारण उनले एक वर्षसम्म युनेस्कोमा परामर्शदाताका रूपमा काम गर्ने अवसर पनि पाइन् ।

एनीका अनुसार सहरभित्र हुने अनेकन संरचनालाई सम्पदाका दृष्टिले कसरी हेर्ने र संरक्षणका लागि के–के काम गर्ने भन्ने निकै महत्त्वपूर्ण विषय हो । ‘देखिने भौतिक संरचनालाई सम्पदाका दृष्टिले संरक्षणका काम गर्न थोरै सजिलो भए पनि नदेखिने भौतिक संरचनालाई संरक्षणका गर्न गाह्रो हुन्छ,’ उनले भनिन् । तिलौराकोटका अलावा एनी अहिले कम्बोडियाको पुरातात्त्विक स्थल अंकोरवाटमा पनि काम गरिरहेकी छन् । अंकोरवाटको पुरातात्त्विक महत्त्वका सामग्रीहरूको डकुमेन्टेसनमा उनी युनेस्कोमार्फत खटिएकी हुन् । ‘डकुमेन्टेसनका अलावा उक्त ऐतिहासिक स्थानमा पर्यटकीय आकर्षणका लागि के गर्न सकिन्छ भन्ने सुझाउने काम पनि मेरो हो,’ उनले भनिन्, ‘त्यसका लागि पछिल्लो समय म कम्बोडिया आउजाउ गरिरहेकी हुन्छु ।’

०७२ को भूकम्पपछि फ्रान्सबाट अध्ययन सकेर नेपाल फर्किंदा एनीको ध्यान भूकम्पमा परेर ढलेका यहाँका पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका संरचनामा परेको थियो । आफ्नो विषयविज्ञताकै कारणले पनि उनी ०७४ देखि ०७९ सम्म विशेषज्ञ हेरिटेज आर्किटेक्टका रूपमा काष्ठमण्डप पुनर्निर्माणमा सक्रिय रहिन् । एनीले काठमाडौंका सम्पदा संरचनाको जगको विस्तृत नक्सा उतार्ने काम नभएको बताउँछिन् । ‘तर भूकम्पपछि काष्ठमण्डप मरुसत्तलबाट भने यो कामको सुरुआत भएको छ,’ उनले भनिन् ।

भूकम्पपछि बेलायतबाट वरिष्ठ पुरातत्त्वविद् रवीन कनिङ्घमसहित केही पुरातत्त्वविद् नेपाल आएका र त्यही बेला रेस्क्यु आर्कियोलोजीको अभ्यास पनि गरिएको एनीले बताइन् । पुरातत्त्व विभाग र दुर्हाम विश्वविद्यालयले गरेको अध्ययन, अनुसन्धान र उत्खननमा सहभागी भएर उनले पुरातात्त्विक संरचनाहरूको संरक्षणबारे थप ज्ञान हासिल गर्ने मौका पनि पाइन् । ‘पहिले हामीसँग काष्ठमण्डपको एघारौं, बाह्रौं शताब्दीसम्मको इतिहासमात्र थियो,’ उनले भनिन्, ‘पुनर्निर्माणका क्रममा भएको अध्ययनले फाउन्डेसनमात्र सातौं शताब्दीसम्म पुरानो भएको वैज्ञानिक प्रमाण भेट्यौं ।’ एनीले यस्ता तथ्यहरूले अध्ययन र अनुसन्धान कति जरुरी हुन्छ भन्ने बुझाउने बताइन् ।

काष्ठमण्डप पुनर्निर्माणको कामअघि त्यसको पुरानो संरचनाको विस्तृत अध्ययन गरिएकाले त्यसलाई पुरानै स्वरूपमा उभ्याउन सकिएको उनले बताइन् । उनले काष्ठमण्डपको अध्ययनका बेला भुइँ तलामा रहेका सय वटा थामको पनि अध्ययन गरेको बताइन् । उनले यो अध्ययनबाट एउटा थाम त पाँचौं शताब्दीको रहेको र मुख्य चार थाममध्ये एउटा भने पाँचौं शताब्दीको रहेको पुष्टि भएको बताइन् । ‘बेलायतको स्टर्लिङ विश्वविद्यालयका प्रोफेसर इयान सिमसनले काठको वैज्ञानिक डेटिङ गरेका थिए । जसबाट ती काठ पाँचौंदेखि १० औं शताब्दीसम्मका भएको पत्ता लाग्यो,’ एनी भन्छिन्, ‘यो तथ्यले काष्ठमण्डपमा फरकफरक समयका काठ प्रयोग गरिएको पुष्टि भयो ।’ त्यसको अर्थ यो बारम्बार मर्मतसम्भार भएको देखिन्छ ।

एनीका अनुसार काष्ठमण्डप पुनर्निर्माणसँगै यो सम्पदाबारे विस्तृत तथ्य तथ्यांकसहितको डकुमेन्टेसन भएको छ । जसलाई एनीकै संयोजनमा नेपाली, अंग्रेजी र नेपाल भाषामा छापिने अन्तिम तयारी भइसकेको छ । ‘अहिलेसम्म काष्ठमण्डपको संरचनाको लिखित दस्ताबेज नै थिएन । अब प्रामाणिक दस्ताबेजका रूपमा यो प्रकाशन हुँदैन,’ एनीले भनिन् ।

वसन्तपुरमै रहेको गद्दी बैठक संरक्षणमा पनि एनीले काम गरेकी छन् । भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकको सबलीकरणमा भने उनी काष्ठमण्डपको पुनर्निर्माणभन्दा अघि खटिएकी थिइन् । नभत्काईकन गद्दी बैठकको सबलीकरण गर्न जापान र इटालीका सम्पदाविद्समेत नेपाल आएका थिए । यसमा उनी सम्पदा इन्जिनियरका रूपमा परामर्शदाता थिइन् । एनीका अनुसार गद्दी बैठकमा पुरानो संरचना नबिग्रने गरी आधुनिक प्रविधिले मर्मतसम्भार गरिएको छ । हनुमानढोका दरबारभित्रका संरचनाको डुकमेन्टेसनमा पनि एनीले सम्पदाविज्ञका रूपमा काम गरिसकेकी छिन् ।

हिजोआज भने एनीको अधिकांश समय बुद्धकालीन सम्पदाहरूको संरक्षणमा बित्छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काममा राष्ट्रिय संयोजकका रूपमा काम गरिरहेकी एनी यसको उत्खननबाट प्राप्त सामग्रीलाई दस्ताबेजीकरण गर्ने र विभिन्न विज्ञहरूसँग अन्तरक्रिया गरेर राय सुझाव लिने काममा लागिपरेकी छन् ।

सन् २०१३ देखि तिलौराकोटमा विभिन्न चरणमा अन्तर्राष्ट्रिय पुरातत्त्वविद्हरूको सहयोगमा उत्खनन जारी छ । यो ठाउँको ऐतिहासिकता पुष्टि गर्दै यसलाई विश्व सम्पदा सूचीमा दर्ज गर्न युनेस्को नोमिनेसन डोसियर (प्रस्तावित मनोनयन दस्ताबेज) पेस गर्नुपर्छ । नोमिनेसन डोसियर तयार पार्ने काम विश्वविख्यात अस्ट्रेलियन सम्पदाविज्ञ डंकन मार्सलले गरिरहेका छन् । एनीको जिम्मेवारी डंकन मार्सलको कामलाई निष्कर्षमा पुर्‍याउन डोसियरका लागि चाहिने सबै प्रकारका तथ्य, अनुसन्धान विवरण, कागज पत्र लगायतका प्रमाण संकलन गरि आधिकारिता प्रदान गर्नु हो । एनीका अनुसार मार्सल नोमिनेसन डोसियर लेख्न मात्र होइन, त्यसलाई रणनीतिक रूपमा प्रस्तुत गर्न पनि पोख्त छन् ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न नोमिनेसन डोसियर फेब्रुअरी पहिलो साता युनेस्को मुख्यालय फ्रान्समा पेस गरिसकिएको छ । एनीको सक्रियता यतिमै मात्र सीमित भने छैन । उनी माथिल्लो डोल्पालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने विषयको छलफलमा पनि संग्लन छन् । यस्तो छलफलमा २०१८ देखि उनी चार पटक सहभागी भइसकेकी छन् । एनीले माथिल्लो डोल्पा संस्कृति र परम्पराका दृष्टिले मौलिक ठाउँ रहेको बताउँदै विश्व सम्पदा सूचीको मिश्रित (संस्कृति र प्रकृति) साईटमा राख्न सकिने बताईन् । माथिल्लो डोल्पालाई यो सूचीमा राख्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अग्रसरता लिएर सन् १९९० तिर युनेस्कोमा नोमिनेसन डोसियर पठाइएको थियो ।

डोसियार पठाएपछि यसबारे थप अध्ययन गर्न युनेस्कोको मिसन नेपाल पनि आएको थियो । तर त्यही बेला तत्कालीन माओवादीले सदरमुकाम दुनैमा आक्रमण गरेपछि माथिल्लो डोल्पा पुग्न हिँडेको युनेस्को टोली हेलिकोप्टरबाट फर्कियो । उनले भनिन्, ‘अहिले समुदाय आफैं सक्रिय भई पुनः प्रक्रिया सुरु गर्न चासो देखाएपछि म उत्साहित भएर सहभागी भइरहेको छु ।’

प्रकाशित : फाल्गुन १७, २०८० ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×